काठमाडौँ — नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा पारित हुनु शान्ति प्रक्रियाको महत्वपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको स्थायी समिति बैठकले १८ वर्षदेखि टुंगोमा पुग्न नसकेको शान्ति प्रक्रिया सत्तापक्ष र प्रतिपक्षबीच सर्वसम्मत हुनु शान्ति प्रक्रियाको अर्को कदम भएको निष्कर्ष निकालेको हो ।
अध्यक्ष पुष्पकमल दाहालले टीआरसी विधेयकमा सर्वसम्मत हुनु महत्वपूर्ण काम भएको उल्लेख गर्दै यसलाई पूर्णरुपमा सफल बनाउनु पर्ने बताए । ‘शान्ति प्रक्रिया महत्वपूर्ण काम भएको छ । मलाई शान्ति प्रक्रिया टुंगो लगाउन ध्यान दिएन भन्ने थियो । मेरो पहिलेदेखि नै सर्वसम्मतिबाट गर्नुपर्छ भन्ने थियो,’ दाहालले भने, ‘प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएर धेरै राम्रो भएको छ ।’
माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकाली न्यायसम्बन्धी विधेयक पारित भएपछि शान्ति प्रक्रिया निष्कर्षतिर पुग्न लागेको स्थायी समितिको ठहर भएको बताए । ‘लामो समयदेखि संसद्मा रहेको टीआरसी विधेयक पारित भएपछि शान्ति प्रक्रिया निष्कर्षतर्फ पुग्न लागेको स्थायी समितिको ठहर छ,’ उनले भने ।
प्रकाशित : श्रावण ३१, २०८१ १८:५४