भारतीय विदेश सचिव उच्च राजनीतिक भेटघाटमा व्यस्त
Highlights
- प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अघिल्लो महिना मात्र विदेश सचिवको जिम्मेवारी सम्हालेका मिस्री परिचयात्मक भ्रमणका क्रममा नेपाल आएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बूढानीलकण्ठ र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग खुमलटारमा उनले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरे । भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन द्विपक्षीय सहकार्यलाई जोड दिइएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शीतल निवासमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताएका थिए । राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानव संसाधन विकास नेपालको प्राथमिकता रहेको पनि उल्लेख गरेका थिए । उनले नेपालमा जलविद्युत् विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको बताएका थिए ।
‘भेटमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने, ‘विदेश सचिव मिस्रीले नेपाल र भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ, त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पार्नुभयो ।’
प्रधानमन्त्री ओलीसँग सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ओली र विदेश सचिव मिस्रीबीचमा समान चासोका विभिन्न विषयमा छलफल भएको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीले सचिव मिस्रीमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका थिए ।
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा भएका शिष्टाचार भेटवार्तामा परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललगायत सहभागी थिए । भारतीय दूतावासका अनुसार मिस्री र प्रधानमन्त्री ओलीले भारत र नेपालको सभ्यतागत, घनिष्ठ र बहुआयामिक सम्बन्धमाथि जोड दिँदै द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई गति दिने विषयमा छलफल गरेका थिए ।
सचिव मिस्रीले बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरे । उक्त अवसरमा द्विपक्षीय हित र सहकार्यलाई जोड दिने विषयमा कुराकानी भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । त्यसपछि मिस्री पूर्वप्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार पुगेका थिए । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो रूपमा अघि बढाउने विषयमा कुराकानी भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उक्त अवसरमा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भारतसँग भएका समझदारी र सम्झौता कार्यान्वयनमा जोड दिएका थिए ।
परराष्ट्र सचिव लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार काठमाडौं ओर्लेका हुन् । मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । त्यसपछि उनी सिधै लैनचौरस्थित भारतीय दूतावास पुगे । दूतावास परिसरमै उनले बिरुवा रोपे । त्यसपछि नेपाल भाषा परिषद्को नयाँ भवन उद्घाटन गर्न पुगे ।
विदेश सचिव मिस्री र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भारतीय अनुदानमा निर्माण गरिएको काठमाडौंस्थित नेपाल भाषा परिषद्को नयाँ भवन संयुक्त रूपमा उद्घाटन गरेका थिए । विदेश सचिव मिस्रीले सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । सचिव मिस्री सोमबार बेलुकी नयाँदिल्ली फर्कने छन् ।
प्रकाशित : श्रावण २८, २०८१ ०८:०७