कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सहकारी छानबिन प्रतिवेदन समयभित्रै बुझाउँछौं : सभापति थापा

श्रावण २५, २०८१
सहकारी छानबिन प्रतिवेदन समयभित्रै बुझाउँछौं : सभापति थापा

काठमाडौँ — सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानबिनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिएका हुन् ।

उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको जानकारी दिए ।

उनले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको पनि बताए । कारागारमा करिब ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए ।

‘सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौं । तर पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेका छौं । सरकारबाट केही जानकारी आएको छैन । २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानबिनका लागि जरुरी छन्' सभापति थापाले भने,'सोधपुछको काम १ गतेसम्म सकिन्छ । प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ । सोधपुछको काम र वित्तीय विश्लेषणको कामसँगै भएको छ । सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । '

प्रकाशित : श्रावण २५, २०८१ १८:११
x
×