कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पार्टी बैठकमा पराराष्ट्रमन्त्री राणाले भनिन्- 'प्रधानमन्त्री कतिपटक हुने भनेर पार्टीले तोक्ने होइन' 

श्रावण २५, २०८१
पार्टी बैठकमा पराराष्ट्रमन्त्री राणाले भनिन्- 'प्रधानमन्त्री कतिपटक हुने भनेर पार्टीले तोक्ने होइन' 

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने कुरा एक या दुई पटक मात्र भनेर तोक्न नहुने धारणा राखेकी छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले यस्तो धारणा राखेकी हुन् ।

'प्रधानमन्त्री कतिपटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नुपर्छ भन्ने मलाई लाग्दैन, यो त अनुभव, काम तथा उसको प्रभावकारिताका आधारमा हुने हो' उनले भनिन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वारा पेस भएको प्रतिवेदन एवं जनप्रतिनिधि कार्य सम्पादन निर्देशिका– २०८१ का सन्दर्भमा आफ्ना सुझाव राख्दै उनले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसले राज्यका निकायमा ३३ प्रतिशत महिला सभागिताको नीति लिएको भएपनि प्रत्यक्ष निर्वाचनमा नै यसको सुनिश्चितताको माग गरेकी हुन् ।

'समावेशिताका विषयमा म पहिल्यैदेखि भन्ने गरेको के हो भने प्रत्यक्ष निर्वाचनमै महिलालाई ३३ र दलित समुदायका लागि १० प्रतिशत उम्मेदबारीको सुनिश्चितता हुनेगरी नीति बनाउँ' उनले भनिन् ।

उनले पार्टीका प्रत्येक प्रशिक्षण कार्यक्रममा लैङ्गिक र समावेशितासम्बन्धी छुट्टै सत्र समावेश गरी यसको पाठ्यक्रममा नै लैङ्गिक र समावेशिता विषय समेट्नुपर्ने धारणा राखिन् ।

केन्द्रीय सदस्य डा राणाले स्थानीय तहमा लैङ्गिक र सामाजिक समावेशिताको पनि सामाजिक अडिट गर्नु पर्ने, स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधिहरुले गरेका कामहरुका साथै पार्टीको केन्द्र र प्रदेश तहमा भए गरेका समग्र कामको अनुगमन तथा मुल्याङ्कन गर्न एक छुट्टै संयन्त्रको निर्माण गर्नुपर्ने धारणा पनि राखिन् ।

परराष्ट्रमन्त्री डा राणाले यसअघिको बैठकमा आफ्नो मन्त्रालय, बङ्गलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएकी थिइन् ।

प्रकाशित : श्रावण २५, २०८१ १९:१५
x
×