काठमाडौँ — माओवादी केन्द्रले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले ‘अनावश्यक’ आरोप लगाएको भन्दै बचाउ गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले घिसिङलाई अनावश्यक र अस्वभाविक आरोप लगाएको बताए ।
एक स्थायी सदस्यका अनुसार दाहालले घिसिङलाई विभिन्न बहाना बनाएर सरकारले कारबाही गर्न खोजेको बताए । ‘सरकारले पूर्वाग्रही ढंगले कुलमान घिसिङलाई कार्बाही गर्न खोजेको छ,’ उनले भने, ‘उनीमाथि लगाएका आरोप अस्वाभाविक छन् ।’
बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि घिसिङलाई अस्वाभाविक आरोप लगाएको बताए ।