काठमाडौँ — उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् । शुक्रबार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन मात्र संविधान संशोधन हुने उल्लेख गरे ।
‘यो सरकार संविधानको पालना गराउनको लागि, संविधानमा अपुरो भएका कुराहरुलाई संशोधन गर्ने । संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन । विधि, प्रक्रिया पूरा गरेर गर्ने हो,' उनले भने,'अधिकार दिनुपर्नेमा कमी, कमजोरी भइरहेको छ । समाजमा उठेका असन्तुष्टिका सवालहरुलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर अझ समाजमा राम्रो वातावरण बनाउनका लागि यो सरकारले काम अगाडि बढाउनेछ ।'
उहाँले काँग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने प्रतिबद्धता जनाए । 'हामी त जनतालाई अधिकार दिलाउनका लागि लडेको पार्टी हो । जनतालाई दिएको अधिकार फेरि फिर्ता ल्याउन कसैले सोच्छ ? ०७२ को संविधानका दिएको अधिकारहरु पनि कटौती गर्न लागेको हो कि भन्ने हल्ला, गलत व्याख्या गरिरहेको छ । गलत भाष्य विकसित गर्न दुष्प्रयास गरेको कुरालाई ध्यानमा राख्नुपर्छ' उपप्रधानमन्त्री सिंहले भने ।
प्रकाशित : श्रावण २५, २०८१ १८:१७