कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूत हाश्मीको शिष्टाचार भेट

श्रावण २४, २०८१
उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूत हाश्मीको शिष्टाचार भेट

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । 

भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।

‘दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत हामीले सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ,’ उनले भने, ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षहरूमा सधैं गतिशीलता र गुणस्तर बढाएको छ ।’

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नु पर्ने बताए । उनले भने, ‘लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सक्छन् । हामीले हाम्रा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’

उनले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना समेत गरेको बताए । उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानी पर्यटकहरूको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदाले धेरै ठूलो संख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबीच घनिष्ठ सम्बन्ध रहेको र दुई मुलुक एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सार्कमा नेपालको भूमिका सराहनीय रहेको बताए ।

प्रकाशित : श्रावण २४, २०८१ १६:३९
x
×