कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

केन्द्रको हस्तक्षेपविरुद्ध कांग्रेस प्रदेश सभापति पुनको आक्रोश

श्रावण २४, २०८१
केन्द्रको हस्तक्षेपविरुद्ध कांग्रेस प्रदेश सभापति पुनको आक्रोश

बुटवल — पार्टीलाई चलायमान गराउन तल्लो तहमा अधिकार प्रत्यायोजन नगरेको भन्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय कमिटी बैठकमै आक्रोश पोखेका छन् । पार्टी केन्द्रले तल्लो तहसम्मै निहुरिएर हस्तक्षेप गरिरहेको र त्यसले पार्टीलाई सकारात्मक परिणाम नदिएको उनको आक्रोश थियो ।

बिहीबार सानेपामा भएको केन्द्रीय समिति बैठकमा सभापति पुनले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिप्रति तीव्र आक्रोश पोखेका हुन् । उनले कांग्रेस सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भए पनि पार्टीभित्रै संघीयताको सफल र प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । तर, पार्टी नेतृत्वबाटै पार्टीको संघीय संरचनाको अभ्यासमा ध्यानै नदिएको उनको आरोप छ ।

‘पार्टी केन्द्र तल्लोतहसम्मै निहुरिएर गरिरहेको हस्तक्षेपले पार्टीलाई सकारात्मक परिणाम दिइरहेको छैन्,’ उनले बैठकमा भने, ‘यसले पार्टीमा थप क्षति हुने कुराबाट समयमै सचेत हुनु जरुरी छ । यदि सबै निर्णय केन्द्रबाट नै लाद्ने हो भन्ने तल्लो तहको औचित्य के हो ?’ उनले पार्टीको तल्लो तहलाई विधानमा निर्देशित अधिकार कार्यान्वयन गर्न सहजीकरण गरेमात्र पार्टीको तल्लो तह चलायमान, गतिशील र प्रभावकारी बन्ने र त्यसले पार्टी संगठन सशक्त हुने बताए ।

संविधानप्रदत्त अधिकार पूर्ण रुपले संघले तल्लो तहमा नदिँदासम्म स्थानीय तह र प्रदेशले काम गर्न नसक्ने उनको दाबी थियो । ‘तहगत संरचनाले पूर्णरुपमा काम गर्न नसक्दा जनतामा संघीयताप्रतिको विश्वास गुम्दै गइरहेको छ,’ उनले बैठकमा भने, ‘संघीयताप्रति जनताको सकारात्मक दृष्टिकोण निर्माण गर्न र संघीयताको औतित्यताको लागि तल्लो तहलाई अधिकार दिने र कार्यान्वयनका लागि तहगत समन्वयलाई प्रभावकारी बनाउन जरुरी छ ।’

लुम्बिनी प्रदेश सरकारमा मन्त्री पठाउने क्रममा केन्द्रले कुनै सल्लाह नगरेको र सिंगो प्रदेश समितिलाई नै बाईपास गरिएको भन्दै यसअघि नै सभापति देउवालाई पुनले ध्यानाकर्षणपत्र बुझाएका थिए । उनले बिहीबारको बैठकमा पनि त्यही कुरा दोहोर्‍याएका छन् । मन्त्री सिफारिसको निर्णय नसच्याए प्रदेश भित्रैबाट पार्टीमा विद्रोह हुने उनको चेतावनी छ । उनले शक्तिशाली गठबन्धनका नाममा पार्टी भित्रको आन्तरिक शक्ति सन्तुलनलाई कुल्चेर नहिँड्न पनि नेतृत्वलाई चेतावनी दिएका छन् । ‘कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन बनेको छ । गठबन्धनले जनतामा सकारात्मक विश्वासको सञ्चार पनि गरेको छ,’ उनले भने, ‘तर, यो गठबन्धनमार्फत जनतामा रहेको निराशा र राजनीतिक दलप्रति देखिएको वितृष्णालाई चिर्न पार्टीको आन्तरिक शक्ति सन्तुलनको पनि सहकार्य जरुरी हुन्छ ।’

पार्टी प्रदेशको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै पार्टी नेतृत्वले नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा गराएको आरोप लगाउँदै सभापति पुनले नेतृत्वको निरंकुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बनेको बताए । संघीयता एवं समावेशिताको मर्म र पार्टीको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७ (ठ) अनुसार अघि बढ्न पनि उनले आग्रह गरेका छन् । उनले कांग्रेस सबैको साझा घर भएको बताउँदै पार्टी आफूहरुको पनि भएकाले सबैको समान सहभागिता, अपनत्व र सहअस्तित्व हुनु जरुरी रहेको बताए ।

सभापति पुनका प्रमुख स्वकीयसचिव एवं कांग्रेस महासमिति सदस्य अनुपम जिसीका अनुसार सभापति पुनले पार्टीको अनुशासन उल्लंघन गर्नेहरुले पार्टी तथा सार्वजनिक लाभका पदमा मनोनीतमा प्राथमिकता पाएको, त्यसले इमान्दार कार्यकर्तालाई निरास गराएको, भ्रातृ तथा शुभेच्छुक संगठनलाई मनोमानी रुपले दुरुपयोग गरिरहेको, केन्द्रबाटै नेतृत्व तोक्ने, समयमा नियमित अधिवेशन नगराउनेलगायतका गलत प्रवृत्ति सच्याउन पनि पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०८१ २१:५०
x
×