कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

प्रधानसेनापतिको कार्यभार रथी सिग्देललाई 

श्रावण २४, २०८१
प्रधानसेनापतिको कार्यभार रथी सिग्देललाई 

काठमाडौँ — प्रधानसेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण गरेका छन् । 

सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा प्रधानसेनापति शर्माले शुक्रबारदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलिदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन् ।

नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म काम गरेका शर्मा भभौ २४ गतेबाट पदावधिको हदले अनिवार्य अवकाश प्राप्त गर्दै छन् । सेनाको प्रचलित परम्पराअनुसार उनी साउन २५ गतेबाट बिदामा बस्दै छन् ।

शर्माले सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरे । साथै, उनले रथी सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाईसमेत दिएको सेनाले जनाएको छ । कार्यक्रममा पूर्वप्रधानसेनापतिहरु, रक्षा मन्त्रालयका सचिव, रथीवृन्दलगायत उपस्थिति थियो ।

प्रकाशित : श्रावण २४, २०८१ १७:४४
x
×