काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको टिप्पणी गरेका छन् ।
उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको बताए । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए ।
अध्यक्ष दाहालले भने, 'अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।'
उनले अब यही कुरालाई लिएर पार्टीले देशभरि अभियान सञ्चालन गर्नुपर्ने र पार्टीको संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।
'मैले संसद्मा गरेको सम्बोधन एउटा सम्बोधन मात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिका लागि गरिएको अर्को अपिल पनि हो । पार्टी र नेतृत्वको मनस्थिति के हो ? अबको बाटो के हो ? कता जाने हो ? भनेर मैले स्पष्ट कुरा राखेको छु,' उनले भने, 'हामी सरकारबाट बाहिरिँदै गर्दा एउटा भाष्य बनेकै छ । यो सरकारले भ्रष्टाचारका फाइल खोल्यो, र भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरे । प्रपञ्च गरे । र उनीहरु एक भएर माओवादी नेतृत्वको सरकारलाई हटाए भन्ने सन्देश जनतामा पुगेको छ ।'
उनले फेरि पनि माओवादी आन्दोलनको पक्षमा नपत्याउने गरी जनलहर सिर्जना हुन सक्ने सम्भावना देखेको बताए । 'माओवादीमा गुटहरु छन् । फेरि पार्टी फुट्ने पो हो कि भनेर तपाईहरु सशंकित हुनुपर्दैन,' उनले भने, 'अब फुट्ने होइन, जुट्ने बेला छ । हिजो फुटेका साथीहरु पनि फेरि एकपटक पार्टीमा गोलबद्ध हुन तयार भएर आउनुभएको छ । मैले त्यसको नेतत्व गर्ने प्रयास गरिरहेको छु ।'