कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

फास्ट ट्र्याकको  धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

श्रावण २२, २०८१
फास्ट ट्र्याकको  धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

Highlights

  • मकवानपुरको धेद्रेस्थित काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि सुरुङको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् 
  • निर्माणाधीन ३ वटा सुरुङ खन्ने काम समग्रमा ८२.८९ प्रतिशत सकिएको छ, ८९ पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ, ८१ मिटरसम्म अग्ला पुल निर्माण भइरहेका छन्

धेद्रे, मकवानपुर — काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा पर्ने दुई वटा सुरुङ दुवैतर्फ छिचोलिएका छन् । मकवानपुरका लेनडाँडा र धेद्रेमा रहेका निजगढबाट काठमाडौंतर्फ आउने अनि काठमाडौंबाट निजगढतर्फ जाने दुई वटै सुरुङ छिचोलिएका हुन् । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्ड गत जेठमा छिचोलिएको थियो, यसको दूरी १.६५ किमि छ ।

धेद्रेकै काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङको भने सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो ।

प्रधानमन्त्री ओलीले सुरुङभित्र राखिएको विस्फोटक पदार्थको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् । निर्माणाधीन सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, मुख्य सचिव लीलादेवी गड्तौला, विभिन्न मन्त्रालयका सचिव, प्रधानसेनापति प्रभुराम शर्मा, चीन र कोरियाका राजदूतलगायत विभिन्न निकायका प्रतिनिधिको बाक्लो उपस्थिति थियो ।

लेनडाँडामा रहेका निजगढबाट काठमाडौंतर्फ जाने १.६१२ किमि सुरुङको ‘ब्रेक थ्रु’ गत असार २० मा भएको थियो भने काठमाडौंबाट निजगढतर्फ निस्कने १.६३३ किमि सुरुङको ‘ब्रेक थ्रु’ गत जेठ ४ मा गरिएको थियो ।

धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको ठेक्का चिनियाँ कम्पनी पोली चङ्दाले लिएको हो । दुवै सुरुङ ‘ब्रेक थ्रु’ भएपछि उक्त कम्पनीको जम्बो टोली आपसमा खुसी साट्न जम्मा भएको थियो । एकपछि अर्को सुरुङको ‘ब्रेक थ्रु’ गर्न पाउँदा खुसी लागेको कम्पनीका प्रतिनिधिले सुनाए । समूहमा काम गर्दा सुरुङको ‘ब्रेक थ्रु’ छिट्टै गरिएकामा आफूलाई असाध्यै खुसी लागेको चिनियाँ राजदूत छन सङले बताए ।

सबै सुरुङको ठेक्का सम्झौता ०७८ वैशाख ३१ मा भएको थियो । सम्झौताअनुसार लेनडाँडा सुरुङ खन्ने काम ०८१ वैशाखभित्र सक्नुपर्नेमा जेठ र असारमा ‘ब्रेक थ्रु’ भएको थियो । धेद्रे सुरुङको म्याद ०८१ जेठसम्म भए पनि खन्ने काम डेढ महिना ढिला सकिएको हो ।

महादेवटार सुरुङको म्याद ०८१ असोजमा सकिँदै छ । त्यो अवधिभित्र सुरुङ खन्ने काम सकिने नेपाली सेनाको दाबी छ । ३.३५५ किमिको यो सुरुङको ‘ब्रेक थ्रु’ पनि छिट्टै गर्ने गरी काम भइरहेको सेनाले जनाएको छ । यो सुरुङको काठमाडौंबाट निजगढतर्फ आउने खण्डमा ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर खनिसकिएको छ । निजगढबाट काठमाडौंतर्फ आउने सुरुङ पनि ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ ।

पहिलो प्याकेजमा चाइना स्टेटले पुल, सडक र महादेवटार सुरुङ निर्माण गर्न २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का लिएको हो । दोस्रो प्याकेजमा पर्ने धेद्रे र लेनडाँडासम्मको सुरुङ, पुल र सडक निर्माण गर्न पोली चङ्दाले २८ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का लिएको हो । निर्माणाधीन ३ वटा सुरुङ खन्ने काम समग्रमा ८२.८९ प्रतिशत सकिएको छ । ८९ पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ । ८१ मिटरसम्म अग्ला पुल निर्माण भइरहेका छन् ।

पुल र सुरुङ निर्माणमा प्रगति भएपछि सडक निर्माण गर्न समस्या नहुने सेनाको भनाइ छ । चार वटा पुल खोकना खण्डमा पर्ने भएकाले ठेक्का हुन सकेको छैन । अहिलेसम्म ठेक्का भएकामध्ये ५ वटा पुलको निर्माण सकिसकेको छ । अन्यत्र सेनाले कामको गति बढाए पनि खोकना खण्डमा भने केही काम हुन सकेको छैन । यसलाई ११ नम्बर प्याकेजमा राखिएको छ । ६.५ किमि खण्डबाहेक अन्यत्र सबै ठेक्का भएर काम भइरहेको सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

खोकना खण्डमा अझै समस्या रहे पनि त्यसलाई समाधान गर्ने प्रयास भइरहेको प्रधानसेनापति प्रभुराम शर्माले बताए । ‘अहिले पनि बुङ्मती–खोकना क्षेत्रको साढे ६ किलोमिटर क्षेत्रमा हाम्रो राजनीतिले बिगारेको अवस्थालाई फेरि राजनीतिले नै सपार्न अलिकति समय लागेको छ,’ उनले भने, ‘हामीले राजनीति नगरे पनि राजनीतिक कुरा चाहिँ बुझ्छौं ।’ सरकारको नाममा जग्गा खरिद गर्न नपाउँदा उक्त खण्डमा काम हुन नसकेको उनले प्रस्ट्याए । ‘फास्ट ट्र्याक बनाउन धेरै समय लाग्यो भन्ने हल्ला गरिए पनि हामीलाई काम दिएको धेरै भएको छैन,’ प्रधानसेनापति शर्माले भने, ‘तोकिएको समय ०८३ चैतभित्र यसको काम सक्छौं ।’

प्रधानसेनापति शर्माप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले खोकना क्षेत्रमा राजनीति मात्र नमिसिएको दाबी गरे । ‘किन यो व्यवधान भइरहेको छ ? पोलिटिक्सभन्दा पनि केके मिसिएको छ, तपाईंहरूले पोलिटिक्स मात्र ठान्नुभएको होला,’ उनले भने, ‘त्यहाँ अर्थतन्त्र पनि मिसिएको छ, अब सबै खालका व्यवधानहरू समाधान गर्न सरकार तयार छ, ढुक्क भएर काम गर्न आग्रह गर्छु ।’ खोकना खण्डको समस्या समाधान गरेर काम अघि बढाउने विषयमा सम्बन्धित मन्त्रीहरूको उनले ध्यानाकर्षण गराए ।

फास्ट ट्र्याकमा पछि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेर तीन वटा सुरुङ थपिएको छ । ती सुरुङको ठेक्का भएर डिजाइनका क्रममा रहेको सेनाले जनाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्ने २ हजार २ सय ५० मिटरको चन्द्राम भीर सुरुङ, ललितपुरस्थित वाग्मती गाउँपालिकामा पर्ने १ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङ ठेक्का भएर डिजाइनको चरणमा छन् । चन्द्राम भीर प्याकेज नम्बर १० र देवीचौर अनि सिसौटार सुरुङ प्याकेज नम्बर ८ ‘ख’ अन्तर्गत ठेक्का भएको सेनाको भनाइ छ । फास्ट ट्र्याकको दूरी ७०.९७७ किमि हो ।

प्रकाशित : श्रावण २२, २०८१ ०५:५३
x
×