कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नारायणगढमा अचानक आयो कि अरु बेला पनि हिँड्थ्यो बाघ ?

श्रावण २२, २०८१
नारायणगढमा अचानक आयो कि अरु बेला पनि हिँड्थ्यो बाघ ?

Highlights

  • विज्ञहरु भन्छन्, ‘नारायणी किनारमा बाघ हिँड्नु नौलो हैन’ 

चितवन — मर्निङ वाकमा निस्केका नारायणगढ बेलटाँडीका पशुपति श्रेष्ठ आइतबार बाघको आक्रमणमा परेर घाइते भए । यो खबर सुन्नेहरुले नारायणगढमा के बाघ आयो होला भन्ने ठाने । जब राति ९ बजे उद्धारकर्मीले डार्ट गरेर बाघलाई झाडीबाट निकाले, त्यसपछि बजार आडमै बाघ आएको पत्याउन परिहाल्यो ।

बजार नजिकै बाघ निस्कनु धेरैलाई नौलो लागे पनि बाघविज्ञले यसलाई अनौठो मानेनन् ।

बाघ र अन्य जंगली जनावरका विषयमा लगातार अध्ययन गरिरहेका बाबुराम लामिछाने भन्छन्, ‘नियमित नभए पनि यो रुटमा बाघ ओहाेरदोहाेर गर्छन् ।’ बिहान ५ बजेर २० मिनेट जाँदा श्रेष्ठलाई बाघले आक्रमण गरेको नदी किनार नारायणगढ बजारको लिलाचोकबाट करिब दुई सय मिटर तल छ । घटनास्थलदेखि सिधा नदीपारि गैंडाकोटको सानो मजुवावन छ ।

घटना भएको ठाउँबाट लगभग दुई किलोमिटर पूर्वमा दियालो बंगलाको जंगल क्षेत्र छ । जुन जंगल जलदेवी बरण्डाभार सामुदायिक वन क्षेत्रसँग जोडिएको छ । बरण्डाभार जंगल चुरे र महाभारत पर्वतलाई चितवन निकुञ्जसँग जोड्ने जैविक मार्ग हो । यो जंगल हुँदै निकुञ्जका जनाव ओहाेरदोहाेर गरिरहन्छन् । त्यस्तै पश्चिममा नारायणी आडकै नगर वन छ । नगर वननजिकै ज्ञानेश्वर सामुदायिक वन छ । ज्ञानेश्वरपछि थुप्रै सामुदायिक वन रहेका छन् । नारायणी नदी किनारका यी सामुदायिक वन पश्चिममा मेघौली पुगेर चितवन निकुञ्जसँग जोडिन्छन् ।

‘सन् २०१७ देखि १८ र १९ सम्म स्वचालित क्यामेरा राखेर बाघको अनुगमन भएको थियो । त्यसबेबला बरण्डाभारका क्यामेरामा परेका केही बाघ ज्ञानेश्वर ब्लकमा पनि क्यामेरामा परेका थिए । ती बाघ यही नदी किनार हुँदै हिँडे,’ लामिछानेले भने ।

बाघको शरीरका धर्सा र पाटा एकअर्कासँग मिल्दैनन् । आइतबार नियन्त्रणमा लिएको बाघ पनि यसअघि क्यामेरा ट्रयापिङमा परेको छ या छैन हेर्न सकिन्छ । यही आधारमा कहाँको बाघ यता आयो भन्ने पत्ता लगाउन सकिने लामिछानेको भनाइ छ ।

बाघ खाेज्न प्रयाेग गरिएका हात्ती ।

बाघ र अन्य जंगली जनावर एक ठाउँबाट अर्को ठाउँ ओहाेरदोहाेर गर्दा नदी किनारलाई पनि आधार लिन्छन् । ज्ञानेश्वर ब्लक र बरण्डाभार ओहाेरदोहाेर गर्न नारायणी किनार बाहेक अर्को रुट छैन । ‘अरु बेला राति मान्छे नउठ्दै जंगल नभएको नारायणगढ बजार आडको या दुई किलोमिटर नदी किनार पार गर्दथे होला,’ लामिछाने भन्छन, ‘आइतबार उज्यालो भयो, मर्निङ वाक निस्कनेको चहलपहल बढ्यो र मान्छेसँग जम्काभेट हुँदा यस्तो दुर्घटना भयो ।’ उनका अनुसार वनबाट बस्तीमा निस्केर समस्या ल्याउने बाघ पाँच प्रतिशतको हाराहारीमा छन् ।

बाघ बुढो भएर सिकार गर्न नसकेमा मानव वस्तीमा आउँछन् । दुई भाले बाघ जुध्दा पराजित भाले लखेटिएमा र मान्छेको रगतमा पल्केमा बाघ पनि वन छाडेर मानव वस्तीमा आउँछ । हुर्कंदै गरेका बच्चा भाले बाघ बथानबाट अलग हुने गर्दछ । त्यस्ता भाले पनि वन छाडेर बाहिर निस्कने जानकारहरु बताउँछन् ।

चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार आइतबार नियन्त्रणमा लिइएको बाघ ५/६ वर्षको भाले हो । बाघ शारिरिक रुपमा तन्दुरुस्त देखिन्छ । घाउचोट पनि छैन । भाले बच्चा दुईदेखि तीन वर्षको भएपछि माउ छाड्छ । चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा नेपालमा सबैभन्दा धेरै बाघ पाइन्छन् । एक वर्षअघि सार्वजनिक भएको गणनाको नतिजा अनुसार देशभर ३५५ बाघ छन्, तीमध्ये १२८ बाघ चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा पाइएका थिए ।

‘वन जंगल, निकुञ्ज र यस आसपासमा मात्रै हैन, चितवनको जुनसुकै ठाउँमा पनि चितुवा र बाघ निस्कन सक्छ,’ वन्यजन्तुविज्ञ लामिछाने भन्छन्, ‘सहर-बजारमा छौं भनेर ढुक्क हुन नसकिने आइतबारकै घटनाले देखायो ।’

आइतबार बिहान मन्छेलाई घाइते बनाएर झण्डै डेढ सय मिटर पर रहेको नरकटघारीमा लुकेको बाघ नियन्त्रणमा लिन १६ घण्टा लाग्यो । बाघ समाउन प्राविधिहरु निपुण मात्रै भएर हुँदैन, डार्ट गरेर बेहोस बनाउन बाघसम्म प्राविधिकलाई लैजाने हात्ती पनि निडर हुनुपर्दछ । बाघ नियन्त्रणमा लिन चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय श्रेष्ठ र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका पशु चिकित्सक डा.अमिर सडौला, पशु स्वास्थ्य प्राविधि किरण रिजालसहितको टोलीले मध्यान्ह १२ बजेतिरबाटै तयारी सुरु गर्‍यो ।

नियन्त्रणमा लिने बेला बाघ बिच्किएर ठाउँ छाडेर धेरै पर नजाओस् भन्नका लागि वरपर सेतो कपडाले घेर्ने काम भयो । जसलाई ‘भिट’ लगाउने भनिन्छ । भिट लगाएको लामो समयसम्म हात्ती नआउँदा डार्ट हानेर बाघ बेहोस पार्न खटेका तीर्थ लामा बाटो हेर्दै घरी यता घरी उता गर्दथे । निकुञ्जको शिशुवार पोष्टमा रहेका सिमसारकली, हिमाल गज र अमलटारी गज नाम गरेका तीनवटा हात्ती आउँदा २ बजेको थियो ।

चर्को घाममा आएका हात्ती जब नरकटघारीमा छिरे, बाघ गर्जन थाल्यो । गर्जने र झम्टने गरेपछि सिमसारकली र हिमाल गज तर्सेनन् मात्रै, बेपत्ता कुदे । यी दुई हात्तीलाई काममा फर्काउन निकै गाह्रो भएको थियो । दोस्रो प्रयासमा फेरि बाघ गर्जेपछि अमलटारी गज बाहेक अरु दुई हात्ती माहुतेले समेत नियन्त्रण गर्न नसक्ने गरेर बेपत्तासँग कुदेका थिए ।

दुई हात्ती नफर्कने गरेर भागेपछि सौराहाबाट थप दुई हात्ती रामगज र कृष्णगज आइपुग्दा झमक्क साँझ पर्‍यो । बत्ती बालेर नरकटघारीभित्र हात्ती छिर्दा बाघले पटक-पटक गर्जदै झम्ट्यो । राति ८ बजेर ५५ मिनेट जाँदा बल्ल तीर्थ लामाले बेहोस पार्न चलाएको डार्ट टार्गेटमा लाग्यो ।

सबै काम पूरा गरेर नर्कटघारीबाट बेहोस बाघ निकालेर गाडीमा राख्दा साढे नौ भएको थियो । बजारमै बाघ आए पनि नियन्त्रणमा लिन ठूलो कसरत गर्नुपरेको थियो । मान्छेको भीड र उनीहरुले गरेको हल्लाले पनि हात्ती बिच्किएको डा. विजय श्रेष्ठ बताउँछन् । मान्छेको भीड हुने ठाउँमा जंगलको बाघ आउँदा धेरै जोखिम हुने उनले जनाए ।

प्रकाशित : श्रावण २२, २०८१ १२:४४
x
×