काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमितिबाट पारित दस्तावेज र सरकार सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले साउन २३ देखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गरेको हो ।
बैठकपछि सहमहामन्त्री जीवन परियारले पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको बताए । उनका अनुसार बैठकमा महासमिति बैठकबाट पारित भएका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
उनले भने, ‘साउन २३ गतेबाट कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । सो बैठकको तयारीका लागि आज सभापतिजीसँग छलफल भयो । महासमिति बैठकमा विभिन्न दस्तावेजहरु पेस भएर छलफल भएको छ । सुझावहरु आएका छन् । ती सुझावहरु समेत समेटेर दस्तावेजहरु पारित गर्ने कुरा भएको छ । त्यस्तै, अहिले नेपाली कांग्रेस सरकारमा छ । कांग्रेस किन सरकारमा छ र कसरी काम गर्छ भन्नेबारेमा समेत छलफल गर्नुपर्ने अवस्था छ ।'
उनका अनुसार सरकार सञ्चालनका विविध विषयहरुमा केन्द्रीय समितिमा छलफल हुने बताए । सभापति देउवाले सोमबार नै पार्टीका विभागहरुमा विभागीय प्रमुखहरु समेत मनोनित गरेका छन् ।
प्रकाशित : श्रावण २१, २०८१ १७:२७