बंगलादेशमा तनावपछि नेपालको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता
Highlights
- नेपालको झापाबाट बंगलादेश राजधानी ढाका करिब ५ सय किमि टाढा पर्छ । मेची पुलबाट बंगलादेश जोड्ने फूलबारी नाका पनि करिब ३८ किमि मात्रै टाढा पर्छ । नेपालका कर्णालीबाहेक ६ वटै प्रदेशका विभिन्न जिल्ला भारतसँग जोडिएका छन् ।
काठमाडौँ /विराटनगर — गत चैत १४ मा एक जना मेची नदी तरेर नेपालतिर छिर्दै थिए । भारतीय अर्ध सैनिक बल (एसएसबी) लाई शंका लागेर सोधपुछ गर्दा ती व्यक्ति बंगलादेशी नागरिक ३४ वर्षीय आलमगिर हुसेन भएको खुल्यो । उनी स्थानीय भारतीय बंगालीको भेषमा नेपाल छिर्दै थिए ।
बंगलादेशीहरू भारतीय बंगाली बनेर अवैध रूपमा नेपाल छिर्ने गरेका घटना बेला–बेला सार्वजनिक हुँदै आएको छ । अवैध घुसपैठ गर्ने दर्जनौं बंगलादेशी अहिले पनि भारतीय जेलमा सजाय काटिरहेका छन् । छिमेकी देश बंगलादेशमा पछिल्लो महिना दिनयताको विकसित राजनीतिक परिस्थितिका कारण बंगलादेशीहरू धमाधम देश छाड्दै छन् । उनीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने प्रशस्त सम्भावना देखिएको छ । करिब पाँच महिनाअघिको माथिको घटना जस्तै गरी बंगलादेशीहरू अवैध रूपमा प्रवेश गर्न सक्ने देखिन्छ ।
बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि नेपाल सरकारले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । बंगलादेशको राजनीतिक घटनाक्रमको असर नेपालसम्मै पर्न सक्ने जोखिमलाई ध्यान दिँदै गृह मन्त्रालयले नेपालका अन्तर्राष्ट्रिय स्थल सीमा क्षेत्रबाट हुने आवागमनलाई सूक्ष्म निगरानी गर्न र अवैध घुसपैठ नियन्त्रण गर्न सुरक्षा संयन्त्रको उपस्थिति बाक्लो बनाएको हो ।
सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर सोमबार भारत पुगेकी छन् । हसिना देश छोडेर भारत पुगेसँगै बंगलादेशका सेनाध्यक्ष जनरल वकेर–उज–जमानले सोमबार नै पत्रकार सम्मेलन गरी आन्दोलनकारीलाई हिंसा त्याग्न आह्वान गर्नुका साथै छिट्टै अन्तरिम सरकार घोषणा हुने बताइसकेका छन् । यसले हसिना समर्थक र नयाँ अन्तरिम सरकार पक्षधरबीच थप हिंसा भड्किन सक्ने र यसबाट नेपालसम्मै असर पुग्ने आकलनसहित सरकारले जमिनी सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका संयन्त्रलाई उच्च सतर्कतासहित परिचालन गरेको हो ।
बंगलादेश घटनाक्रमलाई लिएर सोमबार गृहमन्त्री रमेश लेखकले आकस्मिक सुरक्षा बैठक डाकेका थिए । बैठकमा सुरक्षा अधिकारीहरूले बंगलादेश घटनाक्रमले अवैध घुसपैठ हुन सक्ने जोखिम औंल्याउँदै त्यहीअनुसार जनशक्तिलाई ‘हाई अलर्ट’मा राख्न सुझाव दिएका थिए । त्यस क्रममा गृहमन्त्री लेखकले आवश्यकताअनुसार सुरक्षा रणनीति अपनाएर जनशक्ति खटाउन निर्देशन दिएका हुन् । गृहको निर्देशनपछि सशस्त्र प्रहरी, नेपाल प्रहरीले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा नियमितबाहेक अतिरिक्त जनशक्ति परिचालन गर्न प्रदेश तहका युनिटहरूलाई परिपत्र गरिसकेका छन् ।
विगतमा म्यानमारमा सेनाले सत्ता हातमा लिएसँगै त्यहाँको रोहिंग्या समुदायका थुप्रै मानिस विस्थापित भएर गैरकानुनी रूपमा नेपाल छिरेका थिए । सयौं मानिस ‘रोहिंग्या शरणार्थी’का रूपमा अहिले पनि कपनलगायत विभिन्न स्थानमा बसोबास गर्छन् । अफगानिस्तानमा तालिवानले सत्ताकब्जा गरेसँगै त्यहाँबाट पनि अफगानी नागरिक घुसपैठ गरी नेपालसम्मै आएका थिए । रोहिंग्या र अफगानी नागरिकहरू भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल छिरेका थिए । गृह मन्त्रालयले विगतमा सीमा सुरक्षा र विदेशी नागरिकको आवागमन व्यवस्थापनमा देखिएका कमजोरीका कारण गैरकानुनी घुसपैठ भएको र बंगलादेशको पछिल्लो घटनाक्रमले पहिले जस्तै गतिविधि दोहोरिन नदिन सोहीअनुसार सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको जनाएको छ ।
सीमा सुरक्षार्थ अग्रभागमा खटिने नेपालको सुरक्षा संयन्त्र सशस्त्र प्रहरी हो । त्यस्तै सीमा पार अपराध रोकथाम तथा नियन्त्रणसहितका काममा नेपाल प्रहरी तैनाथ छ ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रसँग जोडिएका सबै बाहिनी मुख्यालयहरूलाई तेस्रो देशबाट गैरकानुनी रूपमा हुन सक्ने प्रवेशलगायत गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न र सोहीअनुसार सुरक्षा सतर्कता अपनाउन परिपत्र गरिएको जानकारी दिए । ‘कानुनसम्मत आउजाउमा कुनै रोकतोक छैन । तर, बंगलादेशको पछिल्लो विकसित घटनाक्रमसँगै अनुमतिबिना नेपाल प्रवेश गर्ने जोखिमलाई हामीले सूक्ष्म रूपमा नियालिरहेका छौं । अतिरिक्त जनशक्ति परिचालन गरिएको छ,’ डीआईजी न्यौपानेले भने । नेपालको झापाबाट बंगलादेश राजधानी ढाका करिब ५ सय किमि टाढा पर्छ । मेची पुलबाट बंगलादेश जोड्ने फूलबारी नाका पनि करिब ३८ किमि मात्रै टाढा पर्छ । नेपालका कर्णालीबाहेक ६ वटै प्रदेशका विभिन्न जिल्ला भारतसँग जोडिएका छन् ।
प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले सीमाबाट हुनै अवैध घुसपैठ र आउजाउलाई नियन्त्रण गर्न नियमित रूपमा प्रहरी संयन्त्र तैनाथ हुँदै आएको र बंगलादेशको विकसित घटनाक्रमसँगै अझ सशक्त र प्रभावकारी रूपमा खटाउन आवश्यक रहेको बताए । ‘त्यसैलाई मध्यनजर गरेर विशेष गरी सीमा क्षेत्रमा तैनाथ जनशक्तिलाई यो मामिलामा प्रभावकारी रूपमा तैनाथ हुन निर्देशन दिइसकेका छौं,’ उनले भने । नेपालले एपीएफ र भारतले नेपालतर्फ सीमा सुरक्षार्थ सशस्त्र सीमा बल (एसएसबी) लाई खटाउँदै आएको छ ।
‘बंगलादेशीको अवैध घुसपैठ रोक्न सीमामा कडा निगरानी सुरु गरेका छौं,’ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले भने, ‘झापा र इलामसहितका सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।’ खापुङका अनुसार इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुरलगायतका खुला नाकामा सुरक्षा सतर्कता बढाइएको छ । झापाको बाहुनडाँडी, नकलबन्दा, कचनकबल, गौरीगन्ज जस्ता नाकाबाट समेत बंगलादेशीको अवैध प्रवेश हुन सक्ने भन्दै त्यस्ता साना नाकामा पनि प्रहरीले निगरानी बढाएको जनाएको छ । ‘कुनै बहानामा बंगलादेशीको घुसपैठ हुन नदिन हामी सतर्क छौं,’ झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने, ‘केन्द्रबाटै नाका कडाइ गर्ने स्पष्ट निर्देशन आएको छ, हामीले त्यहीअनुरूप निगरानी चुस्त पारेका छौं ।’
उनका अनुसार सोमबार दिउँसोदेखि भारतबाट आउने सबै यात्रुलाई नाकामा परिचय पत्र हेरेर मात्रै प्रवेश गर्न दिइएको छ । ‘बिना कागजातकालाई प्रवेश रोकेका छौं,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीसँग पनि सहकार्य गरिरहेका छौं ।’ भारतको पश्चिम बंगाल र विहारसँग सीमा जोडिएका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ बास्तोलाले जनाए ।
भारतीय सुरक्षा स्रोतका अनुसार पश्चिम बंगालको दक्षिण दिनाजपुरस्थित भारत–बंगलादेश सीमा क्षेत्र हिली र फूलबारी–बंगलाबन्धलगायतका नाकाबाट उनीहरूको अत्यधिक प्रवेश भइरहेको छ । म्यान्मारमा सैनिक ‘कु’ पछि रोहिंग्याको समूह मेची पुल र अन्य नाका हुँदै गैरकानुनी रूपमा प्रवेश गरी काठमाडौंसम्म आइपुगेका थिए । त्यस्तै, अफगानिस्तानमा तालिवानी समूहले सत्ता हातमा लिएपछि भारतको बाटो हुँदै अफगानी पनि ‘शरणार्थी’ भेषमा नेपाल छिरेका थिए ।
१२३६ नेपाली विद्यार्थी फर्किए
बंगलादेशमा जारी हिंसात्मक आन्दोलनपछि १ हजार २ सय ३६ जना नेपाली विद्यार्थी पूर्वी नाकाबाट घर फर्किएका छन् । आन्दोलनको चपेटामा परेका उनीहरू तीन सातायता घर फर्किरहेका छन् । ‘घर फिर्ने क्रम जारी छ,’ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहनलाल पनेरुले भने, ‘अहिले पनि फाट्टफुट्ट नेपाली विद्यार्थी आइरहेका छन् ।’ कतिपय विद्यार्थी अझै बंगलादेशमै रहेको फर्किएका विद्यार्थीहरूले बताएका छन् । आन्दोलन मत्थर हुने आशामा अहिले पनि उनीहरू होस्टेलमा बसिरहेका छन् । तर, आन्दोलन अझै हिंसात्मक र उग्र बन्दै गएपछि उनीहरू थप समस्यामा परेको बताइएको छ ।
नाकामै रोकिए ११ कन्टेनर
बंगलादेश निर्यातका लागि पठाउन लागिएको चोक्करका ११ वटा कन्टेनर काँकडभिट्टा नाकामा रोकिएको छ । गत असारको अन्तिमबाट ठप्प बंगलादेशको व्यापार सामान्यकृत हुँदै थियो । अचानक पुनः आन्दोलन हिंसात्मक र उग्र बनेपछि नेपाल–बंगलादेश बीचको व्यापारमा पुनः अवरोध सिर्जना भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार त्रिदेशीय नाका फूलबारी–बंगलाबन्धमा पनि केही नेपाली कन्टेनर रोकिएका छन् । त्यस्तै बंगलादेशबाट नेपाल आयात हुन लागेका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् । पारवहन कार्यालयका अनुसार चालु आव २०८१/०८२ को ११ औं दिनमा एक करोड ३५ लाख ८९ हजार पाँच सय ६३ रुपैयाँ मूल्य बराबरको नेपाली वस्तु निर्यात भएको छ । २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँको वस्तु बंगलादेशबाट आएको छ ।
प्रकाशित : श्रावण २१, २०८१ १८:००