काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएरै मुलुकको नेतृत्व गर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई सबैको आस्था र निष्ठाको केन्द्र बनाउन आफू प्रतिबद्ध भएर लागेको बताए ।
महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीहरुलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताहरुले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताए । उनले पार्टीले गर्ने निर्णयहरुलाई शुद्ध र पवित्र राख्ने भन्दै पार्टीभित्रको शुद्धीकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए ।
उनले भने, 'नेपाली कांग्रेस पार्टी अझ शुद्ध होस् । पार्टीको निर्णयहरुको पक्षमा चोक, चौतारामा मज्जाले वकालत गर्न पाइयोस् । बोल्न पाइयोस् । पार्टीले गर्ने निर्णयहरुको कारणले गर्दा तपाईहरुको कसैको शीर ननिहुरियोस् । कहाँ बसेर हामीले एउटा निर्णय गरेका हुन्छौँ त्यो निर्णय गलत भयो भने अथवा गलत व्यक्ति छानियो भनेदेखि गाउँमा बसेको एउटा कांग्रेसले अनावश्यक ढंगले त्यसको उत्तर दिँदै हिँड्नुपर्ने अवस्था आउँछ । त्यस्तो अवस्था नआओस् भन्ने तपाईहरुको चाहाना जुन छ, त्यसको निम्ति अहिले कति राम्रो भइरहेको होला, कति नभएको होला । तर प्रयत्न गर्ने कुरा छोडेको छैन । छोड्दैनौँ । यसलाई शुद्ध राख्ने, पवित्र राख्ने कुराको सन्दर्भमा यसलाई छोड्दैनौँ । पार्टी भित्रको शुद्धीकरणको विषयलाई गम्भिरतापूर्वक लिन्छौँ ।'
उनले पार्टी नेतृत्वले गल्ती कमजोरीहरु सच्याएर अघि बढ्न सक्नुपर्ने बताए । 'कांग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईहरुको चाहाना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ,' उनले भने ।
प्रकाशित : श्रावण २०, २०८१ १८:०३