कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

प्रधानमन्त्री र मन्त्रीहरुले भाषणभन्दा काममा जोड दिनुपर्छ : महामन्त्री शर्मा

श्रावण २०, २०८१
प्रधानमन्त्री र मन्त्रीहरुले भाषणभन्दा काममा जोड दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई भन्दा कामलाई जोड दिनुपर्ने सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा महामन्त्री शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए ।

सत्तारुढ कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शर्माले इतिहासमा बोली नभइ कर्म बिक्ने स्मरण गराए । कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको उनको जिकिर थियो ।

उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसद्‌मा ल्याएर पारित गर्नुपर्ने बताए ।

उनले भने, ‘तपाईंहरुको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस् । अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई भाषणभन्दा काममा जोड दिनुस् भनेर सुझाव दिन्छु । इतिहासमा बोली होइन, कर्म बिक्छ । सुशील कोइरालाले राम्रोसँग बोल्न सक्नुभएन । जिब्रोको क्यान्सरको अप्रेशनको कारण बोली राम्रो बुझिएन । तर सुशील कोइरालाको बोली राम्रो नबुझिएर के भयो ? सुशील कोइरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि ।'

महामन्त्री शर्माले भ्रष्टचारका सम्बन्धमा रहेका मुद्दाहरुमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

प्रकाशित : श्रावण २०, २०८१ १८:३६
x
×