धनगढी — सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले आइतबार दिउँसो दाबी पेस गरेका हुन् ।
आइतबार बिहान बसेको दलको बैठकले पार्टी सभापतिको निर्देशनमा शाहलाई अघि सार्ने निर्णय गरेको थियो । शाहको समर्थनमा एमालेले समर्थ गरेको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन् । आइतबार नै शाहलाई नियुक्ति दिने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।
एमाले र कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसको भागमा पारिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन् ।
प्रकाशित : श्रावण २०, २०८१ १२:५३