कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कांग्रेस-एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : प्रमुख सचेतक घिमिरे

श्रावण २०, २०८१
कांग्रेस-एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : प्रमुख सचेतक घिमिरे

काठमाडौँ —  नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्था सुधारात्मक रहेको बताएका छन् । उनले कांग्रेस र एमालेको गठबन्धनले मुलुकमा राजनीतिक स्थिरताको सन्देश दिएको भन्दै त्यसले अर्थतन्त्र सुधारमा सहयोग पुगेको बताए।

आइतबार महोत्तरीको बर्दिवासमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक घिमिरेले मुलुकलाई राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल सहभागी भइ सरकार गठन भएको बताए ।

सामान्यतया बहुदलीय पद्धतिमा संसद्को सबैभन्दा ठूलो दल र दोस्रो ठूलो दलहरु सरकारमा र प्रतिपक्षी भूमिकामा हुने अभ्यास भए पनि विशिष्ट जिम्मेवारी निर्वाहका लागि अहिलेको सरकार बनेको उनले स्पष्ट पारे । 'बहुदलीय पद्धतिमा झट्ट हेर्दा, बुझ्दा नौलो जस्तो त लाग्न सक्छ', नेता घिमिरेले भने, 'तर संसद्‌मा कुनै दलको स्पष्ट बहुमत नरहेको अहिलेको संसद्मा पटक–पटक गठबन्धन बन्ने र भत्कने क्रमले राजनीतिक स्थिरतामै प्रश्न उभिएपछि दुई मुख्य ठूला दलले संयुक्त सरकार बनाएका हुन् ।'

अहिलेको सरकारको मुख्य कुरा नै आमजनतामा राजनीतिक स्थिरताको अनुभूति दिनु रहेको उनको भनाइ छ । वर्तमान सरकार बनेपछि मुलुकमा अब राजनीतिक स्थिरता बन्छ भन्ने सन्देश प्रवाह भएपछि आर्थिक गतिविधि सुधारात्मक दिशामा अघि बढेको दाबी गरे ।

'केही दिन पहिले मौद्रिक नीति सार्वजनिक भयो, त्यसले सकारात्मक प्रभाव पारेको अर्थविद् बताउँदैछन्, पुँजीबजारमा पनि उत्साह देखिएको छ', नेता घिमिरेले भने, 'मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार बनेको हुँदा अब असफल हुने वा पछि पर्ने छुट सरकारलाई छैन ।'

उनले राजनीतिक दलहरुबीचको संवाद र सहमतिले संविधान संशोधन हुनसक्ने बताए । 'संविधान कुनै ग्रन्थ वा कथा होइन, यो त मुलुकलाई निर्देशित गरिरहने गतिशील दस्तावेज हो, त्यसैले आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ', उनले भने ।

संविधान संशोधन गणतन्त्रात्मक लोकतान्त्रिक पद्धतिलाई अझ बलियो र समय सापेक्ष बनाउन गरिने घिमिरेको भनाइ छ । 'विश्वका प्रजातान्त्रिक मुलुकहरुले सयौं पटक संविधान संशोधन गरिसकेका छन् । हामीले पनि यसअघि यसै संविधानमा दुईपटक संशोधन भइसकेको छ', उनले भने ।

प्रकाशित : श्रावण २०, २०८१ १९:०४
x
×