कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

उपसभामुखको प्रतिनिधिमण्डल’ मा अस्थायी शिक्षकदेखि जग्गा कारोबारीसम्म

उपसभामुखको प्रतिनिधिमण्डल’ मा अस्थायी शिक्षकदेखि जग्गा कारोबारीसम्म

Highlights

  • अमेरिका लैजाने भन्दै बिचौलियाद्वारा मोलतोल, भुटानी शरणार्थी प्रकरणले रोकिएको भन्दै थामथुम

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले आफूसँग अमेरिका लग्न खोजेका पाँच व्यक्ति को हुन् ? राष्ट्रसंघीय संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७ औं सत्रमा भाग लिन जाने भनिएका उनीहरूको महिला अभियानसँगको साइनो के हो ? एउटै कार्यक्रममा भाग लिन सँगै जाने भनिएका ती व्यक्तिसँग उपसभामुखसँगको सम्बन्ध कस्तो हो ? उनीहरू उपसभामुखसम्म सामाजिक सम्बन्धले पुगेका थिए कि अन्य कुनै कारणले ? 

यो प्रकरणले उठाएका यी प्रश्नहरूको जवाफ खोज्न कान्तिपुरले उनीहरूसँगै सोधखोज गरेको छ । सोधखोजको निष्कर्ष छ– उनीहरू कोही यातायात मजदुर हुन्, कोही जग्गा कारोबारी, कोही पूर्वशिक्षक हुन् त कोही पूर्वसैनिक । उनीहरू कसैको पनि महिला अधिकार अभियानसँग कुनै साइनो छैन । अझ आफू जाने भनिएको कार्यक्रमका बारेमा समेत जानकारी थिएन । उनीहरूलाई यतिमात्र भनिएको थियो, ‘भिसा लागेपछि पैसा तिर्नुपर्छ, अमेरिका जान पाइन्छ ।’ अझ, कतिपयसँग अग्रिम पैसा असुलिएको थियो ।

उपसभामुखको लेटरप्याडमै पत्र लेखेर राष्ट्रसंघीय निकायको कार्यक्रममा जाने भनिएकाहरूमध्ये उपेन्द्र गौतम झापा अर्जुनधारा–६ का बासिन्दा हुन् । पूर्वसैनिक गौतम रास्वपाका शुभेच्छुक रहेको पार्टीका जिल्ला सभापति उमेश खरेलको भनाइ छ । त्यस्तै सुनसरी धरानकी सुष्मा लामा ‘रेडियोलोजिस्ट’ हुन् भने उनीसँग अमेरिका जाने योजनामा रहेका राजेश लामा काठमाडौंका घरजग्गा कारोबारी हुन् । त्यस्तै म्याग्दीका धनप्रसाद गुरुङ अहिले पर्वतको कुस्मामा बस र माइक्रोबसको टिकट काउन्टरमा काम गर्छन् । सल्यानको कालिमाटी–२ निवासी सुजन घर्तीमगर केही वर्षअघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे, विदेश जाने भनेर डेढ वर्षदेखि दाङको तुलसीपुर झरेका छन् ।

यसरी फरक–फरक पृष्ठभूमिका व्यक्तिहरूलाई जम्मा गरेर बिचौलियासँग मोलतोल गराई राष्ट्रसंघको कार्यक्रममा लैजान भनी उपसभामुखको लेटरप्याड दुरुपयोग गरिएको प्रस्ट भएको छ । ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) डेढ वर्षअघि २०७९ फागुन २२ देखि चैत ३ सम्म राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा भएको थियो । यो कार्यक्रममा भाग लिन जाने भनेर अन्तर्वार्ताका लागि उपसभामुखको पत्रमा नाम उल्लेख भएका काठमाडौं बुढानीलकण्ठका राजेश लामाले आफू त्यो समूहको आश्वासनमा परेको पुष्टि गरे । अमेरिकी दूतावासमा अन्तर्वार्ताको मिति मिलाइदिन्छु भनेर ‘एक बहिनी’ मार्फत आफूलाई प्रस्ताव आएको उनले बताए । ‘म घरजग्गा कारोबारमा छु, एक पटक अमेरिका घुम्ने वातावरण मिल्छ कि भनेर प्रयास गरिरहेको थिएँ । एक जना बहिनीले वातावरण मिलाउने प्रस्ताव ल्याइन्, त्यसैले मैले प्रयास गरेको हुँ,’ उनले भने ।

‘ती बहिनी’ पनि अमेरिका जान लागेकाले आफूलाई पनि लैजान्छु भन्ने आश्वासन दिएको लामाको दाबी छ । ‘नाम हालिदेऊ । भिसा पाए पैसा दिन्छु भनेको थिएँ । पत्रमा मेरो नाम हालेर सिफारिस भए पनि काम भएन । पछि त्यो बहिनीले सम्पर्क गरिनन्,’ उनले सुनाए । पृष्ठभूमिमा झापाका उपेन्द्र गौतम पनि सक्रिय रहेको लामाले बताए । ‘ती बहिनीसँग उपेन्द्रलाई देखेको हुँ, दरबारमार्गमा भेटेर हात पनि मिलाएको हुँ, त्यो बीचमा कतिले खेल्यो होला । हामीलाई थाहा भएन,’ उनले भने ।

राजेश लामाले अमेरिका जान लागेकी ‘एक बहिनी’ को प्रसंग ल्याए । पत्रमा उल्लिखित पाँच जनाको समूहमा एक महिला छिन्, जसको नाम सुष्मा लामा हो । धरानकी सुष्मा अहिले बसुन्धरामा बस्ने गरेको र आफू रेडियोलोजिस्ट (एक्स–रे प्राविधिक) भएको जानकारी दिइन् । तर उनले पनि ‘एक जना’ दाइमार्फत विदेश जाने प्रयास गरेको तर सफल नभएको उनको भनाइ छ । यस विषयमा पत्रकारसँग थप बोल्न आफू बाध्य नभएको तर समय मिलेमा फोन गरेर जानकारी दिने उनले बताइन् ।

कान्तिपुरको सम्पर्कमा आएका उनका एक आफन्तले भने, ‘सुष्मासँग हाम्रो कुरा भएअनुसार महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडिको एक क्याफेमा कन्सल्टेन्सीको मान्छेसँग उनको भेट भएको हो । केही पैसा पनि लेनदेन भएको हो । भुटानी शरणार्थी काण्ड बाहिर आएपछि काम भएन भनिएको रहेछ । काम नभएपछि पैसा फिर्ता भयो । यसमा एउटा कन्सल्टेन्सी पनि छ । तर, उनीहरूको नाम खुलाउन हामी चाहन्नौं ।’

राजेश लामा र सुष्मा लामाको सन्दर्भले उनीहरू मानव तस्करी गर्ने समूहको पहुँचमा थिए भन्ने बुझिन्छ । अझ, सुष्माले भनेजस्तै ‘पैसाको कुरा मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको यसअघि सार्वजनिक भएको तथ्यबाट पनि मिल्छ । रास्वपा संगठन सचिव शंकर श्रेष्ठका अनुसार पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै सम्बन्धित व्यक्तिहरूले रास्वपाको संयन्त्रमा गुनासो गरेका थिए ।

यो विषयमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकालबीच विभिन्न चरणमा छलफल भएको थियो । ‘अमेरिका जान नपाएको र पैसा डुबेको भन्दै पार्टीमा गुनासो आएको थियो । मेरो आफन्तको पैसा हो, पैसा लिएको छ, फिर्ता गरेन, झुलायो भन्ने हिसाबले कुरा आयो । पछि कुरा मिल्यो भन्ने कुरा आयो, पैसा फिर्ता भयो होला भने हामीले चासो राखेनौं ।’ यसरी पार्टीभित्र थप छानबिन गर्ने र राज्य संयन्त्रलाई अनुसन्धानका लागि अनुरोध गर्नुको सट्टा रास्वपाले ‘लेनदेन’ मिलेपछि विषय सामान्य हो भनेर दबाएको देखिन्छ ।

पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

यस्तै, उपसभामुख रानाले म्याग्दीका धनप्रसाद गुरुङ पनि सँगै अमेरिका जाने भनेर ‘प्रतिनिधि’ को सूचीमा राखेकी थिइन् । म्याग्दी घर भएका उनले अहिले पर्वतको कुस्मामा बस र माइक्रोबसको काउन्टरतिर काम गर्दै आएको बताए । ‘विदेश जाने भनेर मैले धेरै जनालाई राहदानीको फोटोकपी दिएको थिएँ । अमेरिकाकै लागि भन्ने होइन । कता भिसा लगाउने हो, लगाइदिनु न भनेर चिने जानेकालाई दिएको हो,’ उनले भने, ‘पहिला–पहिला विदेश जाने माहोल थियो । भूत नै चढेको थियो । काठमाडौंमा एजेन्ट जति पनि फेला पर्छन् नि । कसैले कता पठाइदिने भन्ने ? कसैले कोरिया पठाइदिने भन्ने, मान्छेहरू भेटिएको थियो । धेरैलाई राहदानीको फोटोकपी दिएको थिएँ ।’

राष्ट्रसंघीय संयन्त्रको कार्यक्रममा भाग लिन अमेरिका जाने भनेर ‘प्रतिनिधि’ का रूपमा उपसभामुखबाट सिफारिस पाएकामध्ये गुरुङ मात्र एक जना यस्ता पात्र हुन्, जसले नेपालबाहिर घुमेका छन् । विमानस्थलको अध्यागमन कार्यालय स्रोतका अनुसार अरू चार जनाको राहदानीमा विदेश भ्रमणको कुनै अभिलेख छैन । गुरुङ मात्र एक पटक भारत गएको अभिलेख छ । ‘हो, ५ महिना अगाडि मुम्बई र श्रीलंकातिर घुमेर आएको हुँ,’ उनले भने । तर उनले राष्ट्रसंघको कार्यक्रम त धेरै टाढा, स्थानीय एनजीओसँग पनि कुनै सम्बन्ध नरहेको प्रस्ट पारे । ‘म कुनै पनि एनजीओमा काम गर्दिनँ । अमेरिका कसरी जाने भन्ने थाहा थिएन । भिसा लागेर आयो भने मात्रै पैसा दिन्छु भनेको हो । भिसा नलागेपछि पैसा दिने कुरा भएन,’ गुरुङले भने, ‘मौका पाए त अब पनि जान हुन्थ्यो । कुनै एजेन्टले काम गरिदिए पैसा पनि दिन्थें ।’

उता सल्यान कालिमाटी–२, बालुवास्थित लक्ष्मी माविमा अस्थायी शिक्षकका रूपमा कार्यरत सुजन घर्तीमगरले अमेरिका जान डेढ वर्षअघि जागिर छाडेका थिए । ‘उनी स्थानीय विद्यालयमा शिक्षक थिए, विदेश जाने भनेर एक/डेढ वर्षअघि स्कुल छाडेर हिँडेका हुन् । दाङको तुलसीपुरनजिक पनि घर भएकाले उतै बस्दै आएका होलान्, बाबु भने वैदेशिक रोजगारीका लागि दुबईमा छन्,’ वडाध्यक्ष इन्द्रबहादुर वलीले कान्तिपुरसँग भने ।

झापाका उपेन्द्र गौतमसँग पटक–पटक सम्पर्क भए पनि उनी विस्तारमा कुरा गर्न तयार भएनन् । उनले कान्तिपुरले सोधखोज गर्न खोजेको विषय बुझेपछि फोन काट्ने, थप बुझ्न खोजेर फोन सम्पर्कमा आउने र फेरि पछि हट्ने गरिरहे । रास्वपा झापाका सभापति उमेश खरेलले भने, ‘उनी पूर्वसैनिक हुन्, अहिले सामान्य व्यवसाय गर्छन् । रास्वपाका शुभेच्छुक हुन् । तर धेरै जानकारी मलाई पनि छैन ।’

उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप

धरानकी सुष्मा लामा र काठमाडौंका राजेश लामाले मात्र होइन, स्वयम् उपसभामुख इन्दिरा रानाले पनि उपेन्द्रलाई आफूले पनि चिनेको बताएकी छन् । ‘उसकै सिफारिसमा मैले पत्र लेखिदिएकी हुँ, अरूलाई चिनेकी छैन,’ उपसभामुखको भनाइ छ । तर पृष्ठभूमि थाहा नभएको, चिनजानसमेत थाहा नभएका व्यक्तिलाई उपसभामुखले आधिकारिक लेटरप्याडमा पत्र लेख्दै अमेरिकी दूतावासलाई सिफारिस गरेकी थिइन्, ‘उनीहरू पनि राष्ट्रसंघको कार्यक्रममा मसँगै जाने प्रतिनिधि हुन् ।’

सभामुख, उपसभामुख, सांसद र कर्मचारीको समेत भिसा प्रक्रिया संसद् सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखामार्फत परराष्ट्र मन्त्रालयले गर्छ । तर, अनधिकृत व्यक्तिहरूको भिसा प्रक्रिया अघि बढाएकाले उपसभामुख आफैंले पत्र लेखेकी थिइन् । उपसभामुखले राष्ट्रसंघीय कार्यक्रममा आफूसँगै लग्न भनेर पत्र लेखेको र त्यसका लागि पैसाको लेनदेन भएको गुनासो रास्वपामा तीन महिनाअघि नै परे पनि पार्टीले गुपचुप राखेको थियो । ‘सबका फाइल खोल्छौं, आज खोल्छौं– भोलि खोल्छौं’ भन्दै आएको रास्वपाले ‘लेनदेन’ मिलेकाले थप चासो राख्नु नपरेको निष्कर्ष निकालेको थियो । यो विषयमा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, तत्कालीन महामन्त्री मुकुल ढकाल र संगठन सचिव शंकर श्रेष्ठ जानकार थिए ।

अझ, गृहमन्त्रीको पदमा लामिछाने स्वयम् थिए । उनले अध्यागमनमा बुझ्दा कोही पनि अमेरिका गएको नदेखिएकाले यो विषय ठूलो नभएको भन्दै गुपचुप राखेका थिए । तर भुटानी शरणार्थी प्रकरणमा पनि कोही अमेरिका पुगेका छैनन्, तर मानव तस्करीको प्रयास भएकाले आरोपीहरू जेलमा छन् । तर, आफ्नै तर्कले आफैंलाई सफाइ दिएर रास्वापाका सांसदहरू मौन थिए । अहिले यो विषयमा संसद्मा पटक–पटक आवाज उठेपछि उनीहरू प्रतिरक्षामा उत्रिएका छन् ।

प्रकाशित : श्रावण १५, २०८१ ०५:२९
x
×