सर्पको टोकाइबाट ज्यान गुमाउँदै सर्वसाधारण

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा सर्पदंश विज्ञ डा.सन्जिवकुमार शर्माले गरेको एक अध्ययन अनुसार सर्पको टोकाइका कारण हरेक वर्ष करिब ३ हजार जनाको मृत्यु

श्रावण १४, २०८१

प्रशान्त माली

Common people dying from snake bites

काठमाडौँ — गत बिहिबार पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ मा सर्पको टोकाइबाट ४ वर्षीय बालक सामुल नेपालीको मृत्यु भयो । कोठाभित्र खेलिरहेको अवस्थामा सर्पले टोकेका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । २०८१ असार ३० गते पश्चिम नवलपरासीमै सर्पले डसेर रुना पालको मृत्यु भयो ।

घरमा सुतिरहेको बेला सर्पले टोकेर बेहोस् भएकी उनको पनि उपचारकोक्रममा जिल्ला अस्पतालमा ज्यान गएको थियो । दाङमा २०८१ असार १२ गते दिउँसो बारीमा घाँस काट्दै गरेकी तुलसीपुर उपमहानगरपालिकाकी पारु चौधरीको पनि सर्पले डसेर ज्यान गयो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत आर्थिक वर्षमा मात्रै सर्पको टोकाइबाट १० जनाको मृत्यु भएको थियो ।

देशभर नै गर्मी तथा बर्खायाम सुरु भएपछि सर्पदंशका कारण मृत्यु हुनेहरूको संख्या उल्लेख रहेपनि रिपोर्टिङ गर्ने प्रणाली राम्रो र भरपर्दो नहुँदा सरकारी तथ्यांक अनुसार बार्षिक सरदर १३१ जनाको मात्रै छ । यद्यपि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक समेत रहेका सर्पदंश विज्ञ डा.सन्जिवकुमार शर्माले गरेको एक अध्ययन अनुसार भने सर्पको टोकाइका कारण नेपालमा बार्षिक सरदर ३ हजार जनाको मृत्यु हुने गरेको छ ।

उनका अनुसार गाउँमा अझै विष निकाल्ने ढुंगा, जडीबुटी र कुखुराको पुच्छरले विष निकान सक्छ भन्ने भ्रम रहेको बताए । ‘सर्पको डसाइको केही घण्टा बित्दा समेत विषका लक्षण नदेखाउन सक्छ । तर, डसेको १२ घण्टा पछि विषका लक्षणहरु जस्तै स्वास–प्रश्वास प्रक्रिया रोकिने जस्ता घातक परिणाम देखिने सम्भावना रहन्छ,’ उनले भने, ‘त्यसैले अस्पतालमा सर्पले तोकेका व्यक्तिलाई २४ घण्टासम्म अवलोकनमा राख्नु पर्छ ।’

बर्खायाम सुरू भएसँगै मुलुकका तराई र मध्यपहाडी भागमा सर्पले टोकेका घटना बढ्न थालेका छ्न । मुलुकमा बैशाखदेखि असोजसम्म सर्पदंशका घटना धेरै नै हुने गर्छ । काठमाडौंस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार अहिले अस्पतालमा सर्पले डसेका बिरामी उपचार गराउन दैनिक सरदर ७ देखि ८ जना आउने गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इर्मजेन्सी इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा सर्पले तोकेका व्यक्तिहरू काठमाडौं उपत्यका र आसपासका जिल्ला काभ्रे, मकवानपुर, धार्दिङ, नुवाकोट, रसुवा, गोरखा, सोलुखुम्बुसम्मबाट उपचारका लागि आउने गरेका छ्न । ‘उपचार गराउन आउनेमध्ये ३ देखि ४ जना भर्ना गर्नुपर्ने खालका छन्,’ उनले भने, ‘सिकिस्त भएका कारण केही दिनअघि दुई जनालाई आइसीयूमा भर्ना गर्नु परेको थियो ।’

स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार बार्षिक करिब १० हजार जनालाई सर्पले टोक्ने गरेको छ । त्यसमध्ये १० प्रतिशतलाई विषालु सर्पले टोक्ने गरेको छ । इडीसीडीका जुनोटिक तथा सरुवा रोग शाखा प्रमुख डा.हेमन्त ओझाका अनुसार बिषालु सर्पको तोकाइका कारण बार्षिक सरदर एक सय ३१ जनाको मृत्यु हुने गरेको छ । जुनोटिक तथा सरुवा रोग शाखा प्रमुख डा.ओझाले भने, ‘दुर्गममा अन्धविश्वासमा परेर झारफुक वा चुसेर विष निकाल्ने जस्ता काममा समय व्यतित हुँदा अकालमा ज्यान गुमाउनेको संख्या बढी छ ।’

डा. शर्माका अनुसार सर्पले तोकेका कारण मृत्यु हुनेमा सबभन्दा बढी महिला र बालबालिका छन् । ‘सर्पले टोकेपछि बिरामीलाई तुरुन्त एन्टि भेनम उपलब्ध अस्पतालमा पुर्‍याएर उपचार गराउनुको अरु कुनै विकल्प छैन,’ उनले भने, ‘चालु आर्थिक वर्षका लागि एन्टि भेनुम खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजित छ ।’

सर्पको तोकाइका कारण विषेशगरी तराईका २६ जिल्ला प्रभावित छन् । इडीसीडीको तथ्यांक अनुसार २०७७/७८, २०७८/७९ र ७९/८० मा क्रमशः ७ हजार ९ सय २ जना, ९ हजार ३ सय ४६ जना र ९ हजार १ सय २० जनालाई सर्पले टोकेको थियो । तीमध्ये तीनै आर्थिक वर्षमा २ हजार ९ सय १६ जनालाई विषालु सर्पले टोकेको देखिन्छ ।

गत आर्थिक वर्षमा सर्पले सबभन्दा बढी कोशी प्रदेशमा २ हजार ६ सय १२, त्यसपछि लुम्बिनीमा २ हजार ५ सय १९, मधेशमा एक हजार ४ सय ६०, गण्डकीमा एक हजार एक सय ९१, बागमतीमा ९ सय ८८, कर्णालीमा २ सय ८ र सुदुरपश्चिम प्रदेशमा एक सय ४२ जनालाई तोकेको तथ्यांक छ । सर्पदंश विज्ञ प्रा.डा. शर्माको अध्ययन अनुसार सर्पदशंका अधिकांश घटनामा कृषक र विपन्न वर्ग पर्ने गरेको छ । डा.शर्माको अध्ययन अनुसार सर्पदंशका कारण ८० प्रतिशत मानिस अस्पताल पुर्‍याउनुअघि नै ज्यान गुमाउने गरेका छन् । जसले गर्दा सरकारी तथ्यांकमा सर्पदंश कारण मृत्यु हुनेको रेर्कडमा देखिदैन । ‘गर्मीका कारण जमिन तातिदा, मनसुनमा वर्षा हुँदा दूलोभित्र पानी पस्दा सर्प बाहिर निस्कने गर्छ । बर्खायाममा सर्प प्रजननका लागि बाहिर निस्कने र सावधान नपनाउँदा सर्पदंशका घटनाहरु बढ्ने गरेका छन्,’ उनले भने ।

सर्पका खतरनाक प्रजाति

नेपालमा ८९ प्रजातिका सर्प पाइन्छ । तीमध्ये गोमन, राजगोमन, करेत, रूसेल भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) लगायत टाउको अघिल्लो भागमा विष–दन्त भएका १७ प्रजातिलाई अति विषालु सर्प मानिन्छ । इडीसीडीका अनुसार नेपालमा सर्पदंशको अधिक घटना गोमन, करेत र इलापिड प्रजातिका सर्पबाट भएको देखिन्छ । यिनीहरुको डसाईले रगताम्मे घाउँ बनाएको हुदैँन । आँखाले देख्न सकिने डसाईका कुनै चिन्ह वा घाउँ पनि हुँदैन ।

सर्पदंश विज्ञ प्रा.डा. शर्माका अनुसार सर्पदंशको एन्टि भेनम नेपालमा विभिन्न प्रजातिका गोमन सर्पमध्ये एक प्रजाति, करेत सर्पका ६ प्रजातिमध्ये एक प्रजाति, भाइपर र बागे प्रजातिका सर्प गरेर चार प्रजातिका सर्पका लागि मात्र उपलब्ध छ । ‘राज गोमनलगायत अन्य प्रजातिका सर्पले तोकेमा एन्टि भेनम उपलब्ध छैन,’ उनले भने, ‘सर्पको तोकाइबाट बच्न सावधान अपनाउनु उचित विकल्प हो ।’

उनका अनुसार करेत प्रजातिको सर्प तराई र तल्लो पहाडमा पाइन्छ । यसले कृषि र घाँसे भूमि, जंगल र आवासीय क्षेत्रमा बस्न रुचाउँछ । प्रायः यो घर, दुलो, ईट्टाको थुप्रो, ढुंगामा पाइन्छ । कोरल सर्प जंगल, झाँडी र तल्लो भूमि र तल्लो हिमालका कृषि जग्गामा पाइन्छ । गोमन प्रजातिका सर्प त्।राई क्षेत्र पाईन्छ । र १६०० मीटरको उचाइमा रहेको तल्लो पहाडी इलाकामा फैलिएको रेकर्ड गरिएको छ । यो जंगल, घाँसे मैदान, कृषि जमीन र आवासिय क्षेत्रमा पाइन्छ ।

सर्पदंशबाट बच्न अपनाउनुपर्ने सावधानी

सर्पदंश विज्ञ प्रा. डा. शर्माका अनुसार घर बाहिर सुत्ने, खेतमा जाने, चर्पी जाँदा, जंगलमा जानेक्रममा वा घरभित्रै सुतिरहेको अवस्थामा सर्पदंशका घटनाहरू बढी हुने गरेको छ । यसबाट बच्न राति टर्चलाइट लिएर मात्र हिड्ने, झुल टाँगेर सुत्ने, सुत्ने बेला ओछ्यान राम्ररी हेर्ने, जुत्ता वा गम बुट लगाउनुअघि राम्ररी हेर्ने, घरवरिपरि सफा राख्ने, भुईंमा नसुत्न र राति सुत्दा झुल टाँगेर मात्र सुत्ने गर्नुपर्छ ।

त्यस्तै अग्ला घाँस भएको बाटो हिड्न, दुलोभित्र हात हाल्न होस पुर्‍याउने, सर्पले डसेको भागमा काट्ने, चुस्ने गर्नाले झन समस्या हुन सक्ने प्रा.डा.शर्माले बताए । उनले भने, ‘सर्पदंशले तोकेको अंगमा कसेर बाँध्दा त्यो अंग कुहिन पनि सक्छ । त्यसो नगरी बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनु पर्छ ।’ उनले बालबालिकामा सर्पको विष छिट्टै लाग्ने भएकाले पनि कतिपय घटनामा स्वास रोकिएर मृत्यु हुने गरेकोले विषेश सावधान अपनाउनुपर्ने बताए ।

सर्पदंशको प्राथमिक उपचार

सर्पले डसेको बेला जो मान्छे नजिकमा हुन्छ उसले वा जसलाई डसेको हो ऊ आफैँले पनि प्राथमिक उपचार गर्न सक्छ । इडिसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेका अनुसार डसेको हात वा खुट्टालाई हलचल हुन नदिनु एउटा प्रभावकारी उपाय हो । डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नु पर्छ । काम्रो लगाएर भएपनि डसेको हात खुट्टा हल्लिन दिनु हुदैँन । पीडितलाई तुरुन्त नजिकको सर्पदंश उपचार केन्द्रमा पुर्‍याउनु पर्छ । मोटरसाइकलको प्रयोग गरेमा छिटो पुग्न सकिन्छ । बिरामीलाई सान्त्वना दिनुपर्छ किनभने धेरै डर लाग्नाले पनि मृत्यु हुने गरेको उनले बताए ।

आपतकालीन अवस्थामा के गर्ने ?

इडिसीडीका निर्देशक डा.घिमिरेका अनुसार आपत्तकालिन अवस्थामा बिरामीलाई सिधा सुताउने र सर्पले टोकेको भाग नहल्लाइकन राख्नु पर्छ । सर्पले तेकेका व्यक्तिले लगाइएका लुगा तथा गरगहना कस्सिन्छ कि भनेर खुकुलो पार्नुपर्छ ।

सर्पले टोकेको दाग वरपर नचलाउने र घरेलु औषधिको प्रयोग सकेसम्म गर्नु हुदैँन । सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने जस्ता कार्य गर्न हुदैँन । उपचार गर्नु अघि सर्पले तोकेको व्यक्तिलाई केही खुवाउनु पनि हुदैँन । शान्त रहन र नआत्तिने अनुरोध गर्नुपर्ने उनले बताए ।

उनका अनुसार मरिसकेको सर्पलाई हतपत छुने र चलाउने गर्नुहुदैँन । कहिलेकाहिं मरेको ठानिएको सर्पले पनि टोक्न सक्छ । सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टरलाई देखाउन सके डाक्टरले सर्प विषालु भए/नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ । ‘सर्पले तोकेको व्यक्तिलाई छिटो भन्दा छिटो एन्टि भेनम केन्द्र पुर्‍याउनुपर्छ,’ उनले भने ।

यी ठाउँमा हुन्छ सर्पदंश उपचार

देशभर सर्पदंशका ११८ भन्दा बढी वटा उपचार केन्द्र छन् । तीमध्ये अधिकांश तराई क्षेत्रमै छन् । इडिसीडीका अनुसार पछिल्लो समय जिल्ला अस्पताल बैतडी, रुकुम पूर्व अस्पताल रुकुमकोट, रामेछापको मन्थली अस्पताल, नवलपरासीको कावासोती अस्पताल, संक्रमण तथा सरुवा रोग अस्पताल कास्की, स्वर्गद्धारी नगरपालिका प्यूठान, रोल्पाको रेउघा गाउँ, बर्दियाको बारबर्दिया नगरपालिका–६ मनिकापुरलगायत गरेर १५ वटा उपचार केन्द्र थप भएको छ ।

इडिसिडीका अनुसार यी बाहेक कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुरमा गरेर २४ वटा सर्पदंश केन्द्र छन् । मधेस प्रदेशका सप्तरी, सिराहा, बारा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, पर्सामा गरेर २७ स्थानमा छन् । वाग्मती प्रदेशको सिन्धुली, ललितपुर, काठमडौं र चितवनमा गरेर १४ स्थानमा सर्पदंशको उपचार केन्द्र छ । त्यस्तै लुम्बिनी प्रदेशको बर्दिया, बाके, दाङ देउखुरी, कपिलवस्तु, रूपन्देही, नवलपरासी, पाल्पामा गरेर २१ वटा उपचार केन्द्र छन् । सुदूरपश्चिमा कन्चनपुर, कैलाली, बजुरा, आछाम, डडेल्धुरा र डोटीमा गरेर १७ वटा उपचार केन्द्र छन् । गण्डकी प्रदेशको कास्कीमा र कर्णाली प्रदेशको सुर्खेतमा पनि सर्पदंश केन्द्र सञ्चालनमा छन् ।

प्रशान्त

Link copied successfully