कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

‘रविको राहदानी र सहकारी ठगीबारे पार्टीले छानबिन गरोस्’

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बर्खास्त गरेका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको दोहोरो राहदानी र सहकारी ठगीका विषयमा स्वतन्त्र समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।

‘रविको राहदानी र सहकारी ठगीबारे पार्टीले छानबिन गरोस्’

रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट बर्खास्त गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेको दोहोरो राहदानी प्रकरण र सहकारी ठगीका विषयमा पार्टीभित्रै पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक परेको औंल्याएका हुन् ।

रास्वपाको जीवनसँग जोडिएको विषय भएकाले लामिछानेको राहदानीका विषयमा छानबिन गर्नुपर्ने धारणा राखेका हुन् । पार्टीको साधारण सदस्यमा सीमित भएका ढकालले सहकारीका विषयमा छानबिन अघि बढाउन सर्वोच्च अदालतले समेत ठहर गरेकाले अब पार्टीभित्रै स्वतन्त्र छानबिन समिति आवश्यक परेको उल्लेख गरेका हुन् ।

‘सभापतिले सहकारीका विषयमा विगतमा कुनै जाहेरी र उजुरी परेको छैन भन्नुभएको थियो तर अब सर्वोच्चबाट समेत छानबिन हुनुपर्छ भन्ने ठहर भइसकेकाले रास्वपाले छुट्टै छानबिन समिति बनाउनुपर्छ,’ उनले भने, ‘पहिले उहाँ (लामिछाने) ले विधि प्रक्रिया नबुझ्दा दुइटा राहदानीको समस्यामा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब राहदानीका विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ ।’

पार्टीको विषयलाई लिएर समीक्षा यात्रा प्रतिवेदन सभापति लामिछानेलाई प्रस्तुत गर्नुअघिसम्म ढकाल र लामिछानेबीच घनिष्ठ सम्बन्ध थियो । उनीहरू पार्टीमा एउटै कोर समूहका थिए । बुधबार पत्रकार सम्मेलनमा ढकालले रास्वपालाई लामिछाने क्लबमा परिणत गरिएको आरोप लगाउँदै अब त्यो क्लबबाट पार्टी बनाउन आवश्यक रहेको बताए । आफूलाई राजनीतिक दल ऐनअनुसार स्पष्टीकरणको मौकासमेत नदिई महामन्त्रीबाट निष्कासन गरिएको कुरा कानुनविपरीत रहेको उनले दाबी गरे ।

उपसभापतिले पदबाट हटाउने अधिकारसमेत नरहेको उल्लेख गर्दै ढकालले वैधानिक रूपमा आफू नै पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गरे । ‘म कानुनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन । रवि लामिछाने क्लबबाट मात्र म निलम्बित र निष्कासित हो,’ ढकालले भने, ‘स्पष्टीकरणको मौका नदिईकन निलम्बनको पत्र थम्याउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन र स्वतन्त्र पार्टीको विधानअनुसार निलम्बन भएको छैन ।’

ढकालले पार्टी उपसभापति एवं श्रममन्त्री डीपी अर्यालले पार्टीलाई दिएको पैसा सिधै आफ्नो खल्तीमा राख्ने गरेको आरोप पनि लगाए । उनले रास्वपाभित्र ठूला आर्थिक अपारदर्शिता रहेको उल्लेख गरे । ‘डीपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिईकन सिधै आफ्नो खल्तीमा राख्नुभएको छ,’ ढकालले भने, ‘दुई साताअघि पनि त्यस्तो भएको छ ।’ कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधान रहेको भन्दै आफूले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणका नाममा पैसा कारोबार गर्ने गरेको ढकालले आरोप लगाए । पार्टीसँग रसिदबिना कारोबार नगर्न अनुरोध गरे । ‘आर्थिक हिसाबकिताब पारदर्शी हुनुपर्छ । को व्यक्तिले कति पैसा दियो ? सामान किनबेचबाट कति प्राप्त भयो, क्लियर हुनुपर्छ,’ उनले भने ।

ढकालले सभापति लामिछानेमाथि सत्ता लिप्सा भएको पनि बताएका छन् । पार्टीमाथि आएको संकट समाधानका लागि प्रस्ताव राख्दा लामिछाने नियोजित रूपमा आफूलाई सिध्याउन लागिपरेको उल्लेख गरे । उनले लामिछानेलाई पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवाको शैली मन परेकाले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाएको पनि पत्रकार सम्मेलनमा खुलासा गरे । लामिछाने अझै पनि संविधानको धारा ७६ (३) अनुसार देउवाको नेतृत्वमा सरकार बन्ला भनेर गृहमन्त्रीको पदमा बसिरहेको आरोप लगाए । ‘अझै पनि उहाँ ७६ (३) अनुसार देउवाको सरकार बन्ला भनेर कुरेर बस्नुभएको छ । त्यहीँ भएर सरकार छाड्नुभएको छैन,’ ढकालको भनाइ थियो ।

उनलाई अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल गरेपछि पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गरेको थियो । असार १९ मा बसेको केन्द्रीय समितिले उनलाई एक साताका लागि महामन्त्री र प्रवक्ताको पदको जिम्मेवारीबाट निलम्बन गरेको थियो । साथै, मंगलबारै ढकाललाई अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ३५ दिनको समय दिने निर्णय रास्वपाको छ ।

रास्वपाका निष्काशित महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा पार्टी र सभापति रवि लामिछानेको काम–कारबाही र गतिविधिमाथि प्रश्नै–प्रश्न उठाएका थिए । ढकालले सभापति लामिछानेको व्यवहार र पार्टी सञ्चालन विधिमाथि आफ्नो समीक्षा यात्रा प्रतिवेदनमा आलोचना गरेका हुन् । जेठ ६ देखि असार ५ सम्म ३८ जिल्लामा स्थलगत भ्रमण गर्दै २ हजार ७९ नागरिकसँग कुराकानी गरेर समीक्षा प्रतिवेदन तयार गरिएको थियो, जसलाई केही समयअघि ढकालले सभापति लामिछानेलाई बुझाएका थिए ।

प्रकाशित : असार २७, २०८१ ०६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×