कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

उकालो चढ्दै डेंगी

 हिमाली जिल्ला मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक बाँकी ७३ जिल्लामा १४८३ जना संक्रमित
 गत वर्ष ५२ हजार बढी संक्रमित भएका थिए भने २० जनाको ज्यान गएको थियो
यस वर्ष पनि डेंगी संक्रमण जेठदेखि नै क्रमशः बढ्दै गएर असोजसम्म उच्च रहने अनुमान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाएको छ
स्वरूप आचार्य

काठमाडौँ — एक दशकअघिसम्म मनसुनपछि छिटपुट मात्र देखिने डेंगी अहिले मुलुकका ७७ जिल्लामै फैलिसकेको छ । वर्षभर नै देखिन थालेको डेंगी देशको कीटजन्य रोगको पहिलो सूचीमा परिसकेको छ भने संक्रमणको वृद्धिदर पनि तीव्र छ । असार मध्यसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ जिल्लामा डेंगीका संक्रमित भेटिएका छन् ।

उकालो चढ्दै डेंगी

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसयता देशभर १ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौंमा सर्वाधिक १ सय ६५ जना, झापामा १ सय २३ र चितवनमा ८६ जनामा पाइएको छ ।

गत वर्ष ७७ जिल्लामै संक्रमित फेला परेका थिए । तथ्यांकअनुसार २०८० पुस मसान्तसम्म ५२ हजार जनाभन्दा बढी संक्रमित भएका थिए भने २० जनाको ज्यान गएको थियो । सुनसरीसहित देशका विभिन्न १० जिल्लामा प्रकोपकै रूपमा फैलिएको थियो । कुल संक्रमितको ८० प्रतिशतभन्दा बढी संक्रमित सुनसरी, तनहुँ, झापा, कास्की, काठमाडौं, मोरङ, संखुवासभा, कैलाली, भक्तपुर र धादिङमा देखिएको थियो ।

२०७९ मा ५४ हजारभन्दा बढीलाई संक्रमित बनाएको डेंगीेका कारण ८८ जनाले ज्यान गुमाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष पनि डेंगी संक्रमण जेठदेखि नै क्रमशः बढ्दै गएर असोजसम्म उच्च रहने अनुमान गर्दै डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाएको छ ।

कार्ययोजनाअनुसार डेंगी संक्रमितको समयमै पहिचान गर्न सातै प्रदेशमा इन्टोमोलोजिकल प्रयोगशाला स्थापना गरिएको छ भने करिब ८० भन्दा बढी स्वास्थ्यकर्मीलाई ‘फिल्ड इन्टोमोलोजी’ तालिम दिइएको छ ।

यसका साथै डेंगी सार्ने लामखुट्टेको लार्भालाई खोज्ने र नष्ट गर्ने अभियानका लागि सचेतना बढाउन भिडियो सामग्री नै प्रसारण गरिएको छ । ईडीसीडीका ‘इन्टोमोलोजिस्ट’ डा. गोकर्ण दाहालका अनुसार यस वर्ष हालसम्म प्रकोपकै रूपमा भने कतै देखिसकेको छैन । प्रकोपको रूप लिन नदिन लामखुट्टे नियन्त्रणका लागि सबै स्थानीय तहमा पत्राचार गरिएको छ ।

‘हामीले सबै स्थानीय तहमा डेंगी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न पत्राचार गरेका छौं,’ दाहालले भने, ‘ईडीसीडी आफैंले समुदायमा गएर सबै काम गर्ने होइन तर समुदायमा भइरहेको कामको निगरानी गरिरहेका छौं ।’ उनका अनुसार नेपालमा डेंगी संक्रमण केही जिल्लामा वर्ष बिराएर प्रकोपकै रूपमा देखिने गरे पनि वैज्ञानिक रूपमा भने त्यस्तै हुन्छ भन्ने अवस्था रहँदैन । त्यसैले अघिल्लो वर्ष संक्रमण फैलिएका जिल्ला तथा स्थानमा सजगता अपनाउनु उचित हुन्छ ।

दाहालका अनुसार ‘एडिज एजिप्टी र एडिस एल्बोविक्टस’ प्रजातिका लामखुट्टेले सफा पानी जम्ने ठाउँमा पारेको फुलबाट निस्केका लार्भा वयस्क भएपछि लामखुट्टे बन्ने र त्यसको टोकाइबाट डेंगी हुन सक्छ । डेंगी नियन्त्रणका लागि पहिलो उपाय भनेकै लामखुट्टेको विस्तारलाई रोक्नु र टोकाइबाट बच्नु नै हो । काठमाडौं महानगरले डेंगी संक्रमण फैलन नदिन लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘प्रत्येक वडाका स्वास्थ्य स्वयंसेविका परिचालन गरेर लार्भा नष्ट गर्ने अभियान थालिएको छ, स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा आवश्यक सिटामोल र जीवनजल उपलब्ध गराइएको छ ।’ महानगरका अनुसार ६४ स्वास्थ्यकर्मी र ५५८ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । यस्तै डेंगीबारे परामर्श दिन ‘हटलाइन’ टेलिफोन ११८० पनि सञ्चालनमा ल्याएको छ ।

ललितपुर र भरतपुर महागरका जनस्वास्थ्य प्रवर्द्धन शाखाले पनि यसै सातादेखि लामखुट्टेको लार्भा नष्ट अभियान थालेका छन् । अन्य जिल्लाका स्थानीय तहले पनि ईडीसीडीको सहयोगमा लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको डा. दाहालले बताए । केही वर्षयता दक्षिण–पूर्वी एसियालगायत दक्षिण अमेरिकी देशमा डेंगी संक्रमण बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक छ । २०२३ मा विश्वमा नै डेंगी संक्रमितको संख्या बढेको थियो । बंगलादेश र थाइल्यान्डमा गत वर्ष डेंगु संक्रमित संख्या ह्वात्तै बढेको थियो । दक्षिण अमेरिकाको ब्राजिल, पेरु र मेक्सिकोमा पनि संक्रमित हुनेको संख्या अत्यधिक छ । फिलिपिन्स, भियतनाम तथा खाडी मुलुक साउदी अरेबियामा पनि डेंगु संक्रमित उल्लेख्य रूपमा बढ्दै गएको छ ।

विश्वभर डेंगी संक्रमण बढ्नुमा जलवायु परिवर्तनसँगै तापक्रममा देखिएको वृद्धि र औसतभन्दा बढी पानी पर्नुलाई पनि कारण मानिएको छ । डब्लूएचओका अनुसार विश्वको आधा जनसंख्या डेंगी संक्रमणको जोखिममा छ । हरेक वर्ष करिब १० करोड जना डेंगीबाट संक्रमित हुन्छन् । ‘केही वर्षयता विश्वमा नै डेंगीको संक्रमण बढेको देखिन्छ ।

सन् २००० मा विश्वभरमा करिब ५ लाख मानिस संक्रमित भएको तथ्यांक थियो, २०२३ मा आइपुग्दा यो संख्या ६५ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ३ सय छ,’ डब्लूएचओको एक प्रतिवेदनमा उल्लेख छ, ‘विश्वका करिब १ सय देशमा डेंगु प्रकोपका रूपमा देखिन्छ ।’

प्रकाशित : असार २७, २०८१ ०५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×