कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाल–चीन सचिवस्तरीय बैठक मंगलबार

सीमा व्यवस्थापन, व्यापार, सीमापार प्रसारण लाइन, रेलमार्ग, पारवहन तथा यातायात सन्धिलगायत एजेन्डामा छलफल हुने

काठमाडौँ — नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौंमा हुने भएको छ । आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे बैठकमा छलफल हुनेछ ।

नेपाल–चीन सचिवस्तरीय बैठक मंगलबार

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले नेतृत्व गर्नेछन् । उनी सोमबार नेपाल आउँदै छन् । उपविदेशमन्त्री सुनले नेपालको तीनदिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

परराष्ट्रका एक अधिकारीका अनुसार नेपाली पक्षले बैठकका एजेन्डाहरू तयार पारिसकेको छ । चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुनेछ । व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुनेछ ।

नेपाल र चीनबीच राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह

बनाउने निर्णय भइसके पनि हालसम्म बैठक बस्न सकेको छैन । यस्तै, सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने भएको छ ।

नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार २२० केभी प्रसारण लाइन निर्माणबारे सम्झौता भइसकेको छ तर काम अघि बढ्न सकेको छैन । सन् २०२३ को अप्रिलमा बेइजिङमा बसेको बैठकमा नेपाली पक्षले चिनियाँ पक्षलाई नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्न आग्रह गरेको थियो ।

बैठकमा नेपाली पक्षले उठाउने अर्को एजेन्डा हो, नेपाल–चीन सीमापार रेलमार्ग । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा रेलमार्ग निर्माणको लागि अध्ययन गर्ने सहमति भएको थियो । चीनले प्रारम्भिक गृहकार्यका लागि बेइजिङबाट पठाएको टोलीले विस्तृत परियोजना रिपोर्टमा काम गरिरहेको छ ।

नेपालले सन् २०१६ मा भएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि जोड दिनेछ । नेपालले उक्त सन्धि र सन् २०१८ मा भएको प्रोटोकल सम्झौताअनुसार हालसम्म भियतनामबाट बेसार आयात र नेपालबाट दक्षिण कोरियामा चाउचाउ निर्यात गर्न सकेको छ । साथै, नेपाल र चीनबीच यसै साता बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावबारे पनि छलफल हुने परराष्ट्रका अधिकारीले जानकारी दिए ।

बैठकमा चीनले सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रगतिबारे चर्चा गर्ने सम्भावना छ । यस्तै, सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई चीनले उठाउने आकलन गरिएको छ । यी दुवै सम्झौता राष्ट्रपति सीको नेपाल भ्रमणका बेलामा भएको थियो । त्यसलाई यसअघिको संघीय संसद्को सचिवालयमा पेस पनि गरिएको थियो । तर सचिवालयमै थन्किएर बसेपछि चिनियाँ पक्षले चासो देखाइरहेको छ ।

बैठकमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र त्यहाँका कर्मचारीहरूलाई भने बोलाइएको छैन । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल पनि सहभागी हुनेछन् । दुई देशबीच कर्मचारीस्तरमा द्विपक्षीय विषयमा छलफल गर्ने यो माथिल्लो संयन्त्र हो । संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो ।

प्रकाशित : असार १०, २०८१ ०६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×