कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

नेकपा एस महाधिवेशन : सर्वसम्मत अध्यक्ष बन्ने कसरत गर्दै नेपाल

म अध्यक्ष हुने सर्तमा मात्र सर्वसम्मत हुन सक्छ : झलनाथ खनाल
युवालाई साथमा लिएर अध्यक्षको प्रतिस्पर्धा गर्ने तयारीमा घनश्याम भूसाल
गंगा बीसी

काठमाडौँ — नेकपा एकीकृत समाजवादी (नेकपा एस) को महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन हुने कसरतमा लागेका छन् । वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षका लागि खुला चुनौती दिने बताएपछि नेपाल पुनः अध्यक्षमा दोहोरिन गृहकार्य सुरु गरेका छन् ।

नेकपा एस महाधिवेशन : सर्वसम्मत अध्यक्ष बन्ने कसरत गर्दै नेपाल

नेकपा एसको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुँदैछ । एमालेबाट २०७८ भदौमा विभाजित भएपछि हुन लागेको महाधिवेशनमा नेपाल, खनाल र महासचिव घनश्याम भूसाल अध्यक्षमा आकांक्षी देखिएका हुन् ।

नेपालले एमालेबाट ‘विद्रोह’ गरी पार्टी बनाएकाले एक कार्यकाल आफूलाई अध्यक्षका लागि सर्वसम्मत चयन गर्न वरिष्ठ नेता खनाललाई आग्रह गरेका छन् । उनले खनाललाई सम्मानित स्थानमा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई समर्थन गर्न छलफल गरेका छन् ।

नेपाल र खनालबीच आइतबार एक्लाएक्लै संवाद भएको छ । खनालले नेपालको प्रस्ताव अस्वीकार गर्दै आफूलाई समर्थन गर्न आग्रह गरे । दुवैले अध्यक्षको अडान नछाडेपछि दुई नेताबीच सहमति हुन नसकेको खनालले जानकारी दिए ।

नेपालले एमालेबाट ‘विद्रोह’ गरी नेकपा एस पार्टी बनाउन सफल भएको, देशव्यापी संगठन बनाउन नेतृत्व गरेको र आगामी दिनमा बलियो पार्टी बनाउने प्रतिबद्धता गरेका छन् । खनालले भने नेपालको नीति दक्षिणपन्थउन्मुख भएको, नयाँ पार्टी बनाएपछि सशक्त नेतृत्व गर्न नसकेको, निर्वाचनमा अपेक्षित परिणाम ल्याउन असफल भएको भन्दै त्यसको विकल्प खोज्नु पर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

‘म अध्यक्षमा नेतृत्व चयन हुने अवस्थामा सर्वसम्मत हुन्छ । त्यही आवश्यकता छ,’ खनालले भने, ‘सर्वसम्मत नेतृत्व चयन गर्ने कि प्रतिस्पर्धा गर्ने माधवजीको हातमा निर्णय छ ।’ उनले दुई नेताबीच कुराकानी भए पनि निष्कर्ष नआएको बताए ।

नेपालनिकट उपाध्यक्ष वेदुराम भुसालले नेकपा एस निर्माणमा नेतृत्वदायी भूमिका खेलेको, एमालेभित्रको थिचोमिचोविरुद्ध विद्रोह गरेको, आगामी कार्यदिशा पनि उनैको भएकाले पुरानै नेतृत्व सर्वसम्मत गर्न संवाद सुरु भएको बताए । महाधिवशेनका लागि चयन भएका प्रतिनिधिले अध्यक्ष नेपाललाई सर्वसम्मत गर्ने पक्षमा भएको र विद्रोहको औचित्य सावित गरी पार्टीलाई गतिदिन पुरानै नेतृत्वमा जोड दिएको उनको भनाइ छ । ‘अत्यधिक प्रतिनिधि साथीहरूबाट पुरानै नेतृत्व कायम हुनुपर्छ भन्ने मत आएको छ’ उनले भने, ‘झलनाथजीसँग सर्वसम्मतका लागि छलफल सुरु भएको छ । माधवजीकै नेतृत्वमा सहमति हुन्छ होला ।’

चार दशकदेखि नेपाल र खनाल आलोपालो सत्ता र पार्टी शक्तिमा भएको भन्दै महासचिव घनाश्याम भूसालले नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने भन्दै अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । उनले एमाले विभाजतको औचित्य सावित गरी पार्टीलाई नयाँ गति दिन वर्तमान नेतृत्व असफल भएको, समाजवादको आधार तयार गर्न पुरानो नेतृत्वमा क्षमताको कमी भएको भन्दै अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका छन् । ‘यही अवस्था हुने हो भने एकीकृत समाजवादी गोलचक्कर फसिरहन्छ,’ भूसालनिकट एक नेताले भने, ‘त्यसकारण नेतृत्व हस्तान्तरण हुन जरुरी छ । त्यसका लागि घनश्यामजी अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ ।’ नेकपा एसका युवा नेताले कम्युनिस्ट आन्दोलन अघि बढाउन घनश्याम भूसालको भूमिका महत्त्वपूर्ण हुने भन्दै अध्यक्षमा प्रतिस्पर्धा गर्न बल दिएका छन् ।

अध्यक्ष नेपाल भने भूसाललाई महासचिवमै दोहोर्‍याएर सर्वसम्मत नेतृत्व लिने पक्षमा छन् । गत आम निर्वाचनमा रुपेन्देही-१ बाट स्वतन्त्र उम्मेदवार भएका भूसाल २०७९ चैतमा नेकपा एसको महासचिव मनोनीत भएका थिए । २०७८ मंसिरमा सौराहामा भएको एमालेको दशौं महाधिवशेनमा उनी एमालेको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । त्यसपछि भने उनले एमाले त्याग गरेका थिए ।

उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा भूसालकै कारण अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना भएको बताए । उनले कम्युनिस्ट पार्टीमा पुस्तान्तरणको विषयभन्दा विचार महत्त्वपूर्ण हुने भन्दै नेपालकै नेतृत्व उचित हुने दाबी गरे । ‘अध्यक्षका लागि चुनाव भयो भने घनश्यामजीकै कारणले हुन्छ । उहाँलाई कसैले उचालेको छ,’ उपाध्यक्ष तुलाधर भन्छन्, ‘महासचिव भइसकेपछि उहाँले पार्टीलाई गति दिन खेलेको भूमिकाको मूल्याङ्कन गरी अघि बढ्नु उचित हुन्छ ।’

उनले एमालेबाट विद्रोह गर्न आँट नगरेका कारण पछि उक्त पार्टी छोड्नु परेको र केही समयपछि नेकपा एसमा आएको बताए । खनाललाई सम्मानित स्थानमा राख्ने वैधानिक आधार खोज्न सकिने पनि तुलाधरको भनाइ छ । ‘पार्टी र क्रान्तिको योगदान गरेका सम्मानित नेता खनाललाई गरिमामय स्थानमा राख्ने वैधानिक प्रावधान गर्न सकिन्छ,’ उनले भने । खनालले महाधिवेशनबाट समाजवादको नीति पारित हुने उल्लेख गर्दै अध्यक्ष नेपालको जनताको बहुदलीय जनवादको नीति असफल हुने दाबी गरे । ‘समाजवादको नीति पारित हुने भइसकेपछि मेरो नेतृत्व स्वतः हुने नै भयो,’ उनले भने ।

अध्यक्ष नेपालनिकट नेताहरू भने खनाल अध्यक्ष भएमा पार्टीलाई एमालेमा विलय गराउन सक्ने आशंका व्यक्त गरेका छन् । ‘कार्यकारी भूमिकामा नबस्ने घोषणा गरेको झलनाथ अहिले अध्यक्ष हुन मरिहत्ते गर्नुभएको छ । उहाँ अध्यक्ष भए एमालेबाट विद्रोह गर्नु गलत थियो भन्दै विलय गराउनु हुन्छ,’ एक नेताले भने ।

महासचिवका लागि उपमहासचिवहरू तुलाधर, प्रकाश ज्वाला, जगनाथ खतिवडा, विजय पौडेलले चाहना राखेका छन् । नेकपा एसको दशौं महाधिवशेनमा एक हजार ८ सय ७८ प्रतिनिधिले नेतृत्व चयन गर्नेछन् । यही साता महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । महाधिवेशनले राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्ने छ । महाधिवशेनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहने छन् पञ्चायती र जनआन्दोलन ०४६ पछि पार्टी र सरकारका कुनै न कुनै नेतृत्व तहमा रहेका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनाल पुनः अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एक पटक पार्टी अध्यक्ष, तीन पटक पार्टी महासचिव, एक पटक वरिष्ठ नेता, एक पटक प्रधानमन्त्री भइसकेका नेपाल र एक पटक अध्यक्ष, पञ्चायतकाल २०३९ मै नेकपा मालेको महासचिव र एक पटक प्रधानमन्त्री भइसकेका खनालले फेरि अध्यक्षको मोह देखाएका हुन् । त्यसलाई महासचिव भूसालले हस्तक्षेप गर्ने तयारी गरेका छन् ।

अध्यक्ष नेपाल तीन पटक एमाले महासचिव (२०४९ मदन भण्डारीको निधनपछि, २०५४, २०५९) २०६५ मा वरिष्ठ नेता, हाल अध्यक्ष र २०६६ मा प्रधानमन्त्री भइसकेका छन् । खनाल पञ्चायतकालमा २०३९ मा नेकपा मालेको महासचिव, एक पटक अध्यक्ष (२०६५) एक पटक प्रधानमन्त्री (२०७६) पदमा पुगिसकेका छन् । दुवै नेता निरन्तर पार्टी र राज्य शक्तिमा रहँदै आएका छन् ।

प्रकाशित : असार १०, २०८१ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×