कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मेयर बालेनको आलोचना र विवादबीच काठमाडौं महानगरको बजेट पेस

मेयर शाहको पछिल्लो अभिव्यक्तिको अधिकांश नगर सभा सदस्यहरूले गरे आलोचना
पदमा बसेर जथाभावी बोल्दा राजनीतिक अराजकता निम्तिन्छ : उपमेयर डंगोल

काठमाडौँ — विवादका बीच काठमाडौं महानगरपालिकाको सोमबार बसेको १५औं नगर सभाको बैठकमा महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट उपमेयर सुनिता डंगोलले पेस गरेकी छिन् । उपमेयर डंगोलले आगामी वर्षका लागि कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।

मेयर बालेनको आलोचना र विवादबीच काठमाडौं महानगरको बजेट पेस

उमेयर ड‌ंगोलले नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेस गरेसँगै विनियोजन विधेयक २०८१ पेस गरेकी थिइन् । सोमबारको नगर सभा बैठकमा आलोचनाका केन्द्रमा रहेका मेयर शाहले महानगरपालिकाको आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यक्रम सूचीमा उल्लेख भए पनि उनले विधेयक पेस नगरी बैठकलाई असार १४ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरेका छन् ।

मेयर शाहले जेठ ३२ गतेको नगर सभा बैठकमा पेस गरेको महानगरपालिकाको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्नेमा बहुमत सदस्यले संशोधन प्रस्ताव पेस गरेका सोमबारको बैठकमा त्यो पारित हुन सकेन ।

मेयर शाहले नगर सभाका बहुमत सदस्यले पेस गरेको संशोधन प्रस्तावलाई आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम यथासम्भव समेट्ने गरी नीति तथा कार्यक्रम पारित गर्न निर्णयार्थ पेस गरेपछि बैठकमा केही समय विवाद समेत भएको थियो । वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले बहुमत सदस्यले हस्ताक्षर गरेर पेस गरेको संशोधन प्रस्तावलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताउँदै विरोध गरेका थिए ।

वडाध्यक्षले महर्जनले विरोध गरेपछि मेयर शाहले पेस गरिएका संशोधनहरू सबै अध्ययन गर्न नभ्याइएकाले संशोधनलाई यथासम्भव समेट्ने बताउँदै पास गर्ने कोसिस गरेका थिए । वडाध्यक्ष महर्जनको भनाइमा नगर सभाका अन्य सदस्यहरूले समेत समर्थन जनाएपछि मेयर शाह दबाबमा आएर नीति तथा कार्यक्रम पास नभएर बजेट पनि पेस नहुने बताएका थिए ।

तर केही समय मञ्चमा नै उपमेयर डंगोल र प्रमुख कार्यकारी प्रदीप परियारसँग छलफल गरेपछि उनले नगर सभाको आगामी बैठक नीति तथा कार्यक्रम पारित गर्ने सम्बन्धको प्रस्ताव पेस गर्ने बताउँदै बजेट पेस गर्न उपमेयर डंगोललाई आग्रह गरेका थिए । आगामी बैठकमा नीति तथा कार्यक्रम र बजेट बारे थप छलफल गर्न सकिने बताउँदै वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले उपमेयरलाई बजेट पेस गर्न दिनु उचित हुने बताएसँगै काठमाडौं महानगरपालिकाको आगामी वर्षको बजेट पेस भएको थियो ।

पदमा बसेर जथाभावी बोल्दा राजनीतिक अराजकता निम्तिन्छ : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाको १५औं नगर सभाको बैठकमा मेयर बालेन्द्र शाहका पछिल्ला अभिव्यक्तिको नगर सभाका अधिकांश सदस्यहरूले मात्र नभइ उपमेयर सुनिता डंगोलले पनि आलोचना गरेकी छिन् । उनले मेयर शाहतर्फ इंगित गर्दै सिंहदरबार जलाउँछु भन्ने जस्ता अभिव्यक्ति गलत भएको बताइन् ।

नगर सभा सदस्यहरूले नीति तथा कार्यक्रम माथिको छलफलमा आफ्नो धारणा राखेपछि अन्तिममा उपमेयर डंगोलले आफ्नो धारणा राखेकी थिइन् । उनले स्थानीय सरकारमा संघीय संसद्‍मा जस्तो पक्ष प्रतिपक्ष नहुने र सबै सरकारकै पक्ष हुने बताउँदै आफ्नो धारणा राख्न सुरु गरेकी थिइन् । उनले मेयर, उपमेयर, कार्यपालिका सदस्य तथा नगर सभा सदस्य बीच ध्रुवीकरण देखिनु उचित नभएको पनि बताइन् । 'आज केही विषयमा ध्रुवीकरण हुन खोजेको हो कि भन्ने पनि देखिएको छ । यो कदापि राम्रो संकेत होइन,' उनले भनिन्, 'संघीयता र संघीयताको मर्मलाई सबैभन्दा ठूलो आड स्थानीय सरकारले दिइरहेको छ । स्थानीय सरकारको कामले गर्दा नै संघीयताको महत्त्व झन् बढेको छ ।' जनप्रतिनिधि बीच मतभेद हुने हो भने स्थानीय सरकार घरघरको सरकार, व्यक्ति-व्यक्तिको सरकार बन्न नसक्ने उनको तर्क थियो ।

उपमेयर डंगोलले सबै जनप्रतिनिधिले एक अर्काको अस्तित्वलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने पनि बताइन् । 'आज म गर्न सक्छु, पदमा छु भनेर एकअर्कालाई नकार्दै जाने हो भने यसले द्वन्द्व बाहेक अरु कुरा निम्त्याउँदैन । त्यस कारण पनि एकअर्काको भावनालाई समेटर जाने संस्कार हामीले विकास गर्नुपर्छ,' उनले भनिन्, 'फरक मत हुन्छ । हरेक व्यक्ति फरक भएपछि मत पनि फरक हुन्छ । फरक मत राख्नु नपाउने भन्ने पनि पक्कै होइन । फरक मत राख्नेबित्तिकै विरोध गरे भनेर यो वा त्यो भनेर थुप्रै उपमा दिनु पनि आवश्यक छैन ।' वादविवादका बीच नै संवाद खोज्नुपर्ने बताउँदै उनले फरक मतको पनि सम्मान गर्ने बानीको विकास गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै देशले नै राजनीतिमा युवा आउने भनेको के हो भनेर बहस गरिरहेकाले आफूहरूको काँधमा थप जिम्मेवारी रहेको उनले बताइन् । उनले मेयर शाहलाई विशेष अनुरोध गर्दै आफूहरूले बोल्ने हरेक कुराले विश्वभरका युवाहरूलाई नै प्रभाव पारिरहेको पनि बताइन् । 'तपाईं म जस्ताले राजनीतिमा आएपछि व्यक्तिभन्दा पनि माथि उठेर सोच्न जरुरी पर्छ । त्यो गरिरहँदा हामीले संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन,' उनले भनिन्, 'पदमा बसिसकेपछि पदको मर्यादालाई राखेर अभिव्यक्ति राख्नुपर्छ । र, त्यो उदाहरण अरु कसैले होइन तपाईं हामीले नै बनाउँदै अगाडि बढ्नुपर्छ ।'

यदि एकजनाले जथाभावी बोल्यो भनेर अर्कोले पनि कपोकल्पित रुपमा जथाभावी नै बोल्ने हो भने त्यसले समाजमा अराजकता निम्याउने उपमेयर डंगोले स्पष्ट पारिन् । पदको मर्म बुझेर हामीले अभिव्यक्ति राख्नुपर्छ । सिंहदरबार जलाउनु भन्नु ठीक होइन भने काठमाडौं महानगरको दरबार जलाउनु भनेर आज बोलिनु पनि ठीक होइन,' उनले भनिन्, 'यस्ता अभिव्यक्तिहरू हामीले कदापि राख्नु हुँदैन । यस्ता जलाउने, बिगार्ने, भत्काउने, दु:ख दिने, झगडा गर्ने, द्वन्द्व गर्ने जस्तो बाटोमा हामी नलागौं ।' काठमाडौं महानगरपालिका देशभरकै लागि उदाहरण बन्नुपर्ने उनको धारणा थियो ।

उनले काठमाडौं महानगरपालिकाका सबै सदस्यहरूले सहकार्य, समन्वय र सहअस्तित्वलाई मानेर अगाडि बढ्नुपर्ने पनि बताइन् । 'प्रमुखले उपप्रमुखको, उपप्रमुखले वडाध्यक्षहरूको र वडाध्यक्षहरूले सदस्यहरूको अस्तित्व नस्वीकार्ने हो भने । वडाध्यक्षहरूले प्रमुख उपप्रमुखको अस्तित्व नस्वीकार्ने हो भने यसले विकास होइन विनाशतर्फ धकेल्छ ।'

मेयर बालेनको आलोचना
असार २ गतेको नगर सभा बैठकमा नीति तथा कार्यक्रम बिना छलफल पेस गर्न खोजेका कारण विरोध भएपछि बैठक स्थगित गरेर ब्राजिल उडेका मेयर बालेनको सोमबारको बैठकमा भने अधिकांश नगर सभा सदस्यहरूले विरोध गरेका छन् । मेयर शाहले असार २ गते नीति तथा कार्यक्रम बिनाछलफल पास नभएको झोंकमा सामाजिक सञ्जालमा पोखेका थिए ।

'३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भयो । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौं,' उनले लेखेका थिए, 'नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।'

मेयर शाहको उक्त अभिव्यक्तिबारे कांग्रेसबाट निर्वाचित १७ नम्बर वडाका अध्यक्ष नवीन मानन्धर, एमालेबाट निर्वाचित ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली, एकीकृत समाजवादीबाट निर्वाचित १५ नम्बर वडाका अध्यक्ष ईश्वरमान डंगोलले सुरुमा बोल्दै त्यसको विरोध गरेका थिए । मेयरको पछिल्लो अभिव्यक्तिबारे अगुवा वडाध्यक्षहरूले विरोध गरेसँगै त्यसपछि बोलेका अधिकांश वडाध्यक्ष र सदस्यहरूले पनि मेयर बालेनको विरोध गरेका थिए ।

नगर सभामा पेस भएको नीति तथा कार्यक्रममा केही समायोजन गर्नका लागि समय माग गर्दा मेयर शाहले आफूखुसी असार २ गतेको बैठक तय गरेको बताउँदै वडाध्यक्ष पराजुलीले उनको कार्यशैलीप्रति प्रश्न उठाएका थिए । उनले सबै नगरसभा सदस्यहरूले कुनै न कुनै पार्टीको चुनाव चिह्न र घोषणापत्र लिएर चुनाव लडेकाले त्यहाँ उल्लेखित विषय वस्तुलाई पनि नीति तथा कार्यक्रममा समावेश गराइनुपर्छ भन्ने माग कुनै हालतमा नाजायज हुन नसक्ने टिप्पणी गर्दै मेयर शाहको अभिव्यक्ति सबै जनप्रतिनिधिलाई चित्त नबुझेको बताउँदै बैठकमा उपस्थितहरूले ताली बजाएका थिए ।

'राम्रा कामहरूमा हामी सबै तापईंलाई साथ दिन्छौं । नराम्रो काम गर्न थाल्नुभयो भने मेयरसाब यसमा कमजोरी भयो यसलाई करेक्सन गरौं भन्छौं । भन्दा पनि मान्नुभएन भने राम राम भन्छौं काँध थाप्दैनौं,' उनले भने, 'अझै तीन वर्ष हाम्रो यात्रा छ । हाम्रो चित्त नबुझेका कुराहरू विभिन्न तहमा छलफल गरेर अगाडि जाउँ ।' उनले आफैसँगै कांग्रेसबाट नवीन मानन्धर, एकीकृत समाजवादीबाट ईश्वरमान डंगोल, मेयर शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना बसेर बैठकमा जे निर्णय हुन्छ त्यही अन्य बैठकमा निर्णय हुने र त्यसबारे कसैले अनार्गल प्रचार नगर्ने गरेको पनि मेयर शाहलाई स्मर्ण गराएका थिए ।

सञ्चारकर्मीहरूले सामाजिक सञ्जालमा विभिन्न विषयमा एकपक्षीय रूपमा समाचारहरू लेखेर कसैलाई उक्साउने, कसैलाई थच्याउने गरेको र त्यसले गर्दा दुई पक्ष बीच मतभेद सिर्जना भएको पनि वडाध्यक्ष पराजुलीले आरोप लगाए । उनले सञ्चारकर्मीहरूलाई वस्तुनिष्ठ भएर समाचारहरू सम्प्रेषण गरिदिन पनि आग्रह गरे ।

एकीकृत समाजवादीबाट निर्वाचित १५ नम्बर वडाका अध्यक्ष ईश्वरमान डंगोलले ३२ का अध्यक्ष पराजुलीले राखेको कुरामा आफ्नो समर्थन रहेको बताएका थिए । मेयर बालेनको स्ट्याटसतर्फ इंगित गर्दै सो अभिव्यक्ति पछि आफू घरमा सुत्न नसकेको बताए । उनले मेयरको नेतृत्वलाई, महानगरलाई सफल बनाउनका निम्ती आफूहरू पनि अहोरात्र लागेको उनले स्मरण गर्न आग्रह गरेका थिए । उनले कहिल्यै पनि महानगरका बारेमा छलफल हुँदा बन्द कोठामा नभएको र केही व्यक्ति बसेर गरेको छलफल पनि खुला नै भएको बताए । उनले मेयर शाहलाई आफ्नो मत राख्दा कसरी लेनदेन हुन्छ भन्ने पनि प्रश्न गरेका थिए ।

त्यसपछि आफ्नो पालोमा बोलेका सबै नगर सभा सदस्यहरूले नीति तथा कार्यक्रममा आफ्नो धारणा र सुझाव राख्दै मेयर शाहको पछिल्लो कार्यशैली र अभिव्यक्तिको भने खुलेरै आलोचना गरेका थिए ।

प्रकाशित : असार १०, २०८१ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×