कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

दुःख दर्ता गराउन सिंहदरबारमा सुनमती

कैलालीकी ८० वर्षीया सुनमतीका ९३ वर्षे श्रीमान् कृष्णदत्त दमका रोगी छन्, गत वर्ष श्रीमान्को दुवै मिर्गौलाको उपचार गर्दा ऋण लागेको छ, यही ऋणको भार घटाउन सकिन्छ कि भनेर सिंहदरबारका ढोका चहार्दैछिन् 
मुटु, मिर्गौला, क्यान्सरलगायत ८ प्रकारका कडा रोग लागेका विपन्न नागरिकलाई तोकिएका अस्पतालबाट १ लाख रुपैयाँसम्मको उपचार हुने व्यवस्था छ, तर वास्तविक पीडितसम्म यी कार्यक्रम नपुग्दा ‘सुनमतीहरू’ दुःख दर्ता गराउन प्रधानमन्त्री कार्यालयसम्म धाउन बाध्य छन्
सजना बराल

काठमाडौँ — सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा एक वृद्धा ‘प्रकाश’ खोज्दै भौंतारिरहेकी थिइन् । पोहोर साउनमा दर्ता गराएका ३९८ र ४९५ नम्बरका निवेदनको स्थिति बुझ्न र प्रधानमन्त्रीलाई आफ्नो ‘कहानी’ सुनाउन उनी प्रकाश नाम गरेका व्यक्तिको खोजीमा थिइन् ।

दुःख दर्ता गराउन सिंहदरबारमा सुनमती

कैलालीको गोदावरी नगरपालिका, धनचौरीकी ८० वर्षीया सुनमतीदेवी जोशी यस पटक फेरि संघीय सरकारसँग सहायता माग्न काठमाडौं आएकी हुन् । बुढेसकालमा आइपरेका अनेक समस्याका पोका बोकेर उनले यसअघि पनि पटक–पटक सिंहदरबार र बालुवाटारको दैलो ढकढक्याएकी थिइन् । नयाँ–नयाँ समस्याका नयाँ–नयाँ निवेदन तथा स्थानीय तहले लेखिदिएका सिफारिसपत्र बोकेर उनले काठमाडौंको यात्रा गर्न थालेको दशक नाघिसकेको छ । कहिलेकाहीँ उनले सान्त्वना पाउँछिन्, धेरैजसो समय भने निराशाबाहेक हात पर्दैन ।

यस पटक उनले आफ्ना व्यक्तिगत दुःख समेटिएको ११ पानाको निवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय, सामाजिक कल्याण परिषद् र प्रधानमन्त्री कार्यालयको सचिवालयमा दर्ता गराएकी छन् । उनी आफूसँग कुराकानी गर्ने जोकोहीसँग पनि दर्ता गरेको निवेदनको दर्ता नम्बर दोहोर्‍याइ–तेहर्‍याइ सुनाउन बिर्सिन्नन् । सुनमतीका ९३ वर्षीय श्रीमान् कृष्णदत्त जोशी दमका रोगी छन् । गएको वर्ष श्रीमान्को दुवै मिर्गौलामा पनि समस्या देखिएर उपचारका क्रममा ऋण लागेको छ ।

यस पटक उनी काठमाडौं आउनुको प्रमुख कारण बुढेसकालमा ऋण कम गर्न सक्छु कि भन्ने हो । कुनै सरकारी निकायबाट सहयोग प्राप्त गर्न सकियो भने ऋण तिर्न सकिन्छ भन्ने आशा उनले पालेर बसेकी छन् ।

‘पोहोर जेठमा एक्कासि पिसाबबाट रगत बगेपछि मैले धनगढीकै नोभा अस्पताल पुर्‍याएँ । उनको अवस्था देखेर चिकित्सक नै तर्सिए । धेरै गाह्रो छ भनेर डाक्टरले नै भने,’ सुनमतीले भनिन्, ‘बिहान लगेको बेलुका ८ बजे मात्रै होस आयो, आठ दिनसम्म त्यहीँ भर्ना भए । त्यत्रो दिन प्राइभेट हस्पिटलमा बसेको भएर साउनदेखि यता साढे तीन लाख ऋण लागेको छ ।’ कञ्चनपुरको दुई कट्ठा जग्गा धितो राखेर कृषि विकास बैंकबाट तीन लाख रुपैयाँ कर्जा निकालेको उनले बताइन् । ‘त्यत्रो पैसाको ब्याज वर्षमा लाख नाघिसक्यो होला,’ उनले भनिन् । त्यसै कारण विपन्न वर्गले स्वास्थ्य उपचारबापत पाउने आर्थिक सुविधाका लागि स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न निकायमा निवेदन दर्ता गराउँदै हिँडेको उनले बताइन् । ‘मिर्गौलाको फ्रिमा उपचार हुन्छ भन्छन् तर औषधि जति सबै अस्पताल बाहिर किन्नुपर्छ । सरकारीमा राम्रो उपचार हुँदैन भन्छन् । त्यसैले प्राइभेटमा ‘इलाज’ गराएँ,’ उनले भनिन्, ‘सरकारका तर्फबाट सुविधा दिइएको छ तर सुविधा सेठका हातमा पुग्छन् । अपांग, ज्येष्ठ नागरिक, विपन्न, एकल महिला, बिरामीका लागि सरकारले अलग–अलग राहत छुट्याएर पठाएको हुन्छ । तर जसको हात पर्‍यो उसैले खाइदिन्छ ।’

मासिक ४ हजारका दरले तीन–तीन महिनामा निकाल्ने गरेको दुई जनाको २४ हजार रुपैयाँ वृद्धभत्ताले दुई बुढाबुढीलाई खाना खर्च पुगे पनि उपचार खर्च नपुग्ने सुनमतीको गुनासो छ । पाको उमेरका कारण कृष्णदत्तको मिर्गौला प्रत्यारोपण सम्भव छैन । चिकित्सकले रोकथामका लागि दबाई खाइराख्न भनेका रहेछन् । तर औषधोपचार महँगो भएकाले उनलाई समस्या परेको छ । आफैं ज्येष्ठ नागरिक सुनमती आफ्नो श्रीमान्को उपचारमा लागेको ऋणबाट मुक्ति पाउन प्रधानमन्त्री कार्यालय परिसरमा भेटिएकी एक पात्र हुन् । नेपालको संविधानले नै आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । ज्येष्ठ नागरिक, विपन्न तथा असहाय र दीर्घरोगीलाई उपचारमा सहयोग गर्न सरकारले स्थानीय, प्रदेश र संघीय अस्पतालहरूमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ । सरकारले सर्वसाधारण तथा लक्षित वर्गलाई आधारभूत स्वास्थ्य सेवा, आमा सुरक्षा, महिलाको आङ खसेको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीलाई सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आयुर्वेदिक औषधालयबाट ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने दाबी सरकारले गर्छ । मुटु, मिर्गौला, क्यान्सरलगायत ८ प्रकारका कडा रोग लागेका विपन्न नागरिकलाई तोकिएका अस्पतालबाट १ लाख रुपैयाँसम्मको उपचार हुने व्यवस्था पनि छ । सरकारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध परिवारलाई १ लाख रुपैयाँसम्म उपचार सेवा पनि उपलब्ध गराउँछ । सँगै बिमाको रकम तिर्न नसक्ने विपन्नको रकम पनि सरकारले नै तिरिदिन्छ । तैपनि सुनमती आफ्नो वेदना सुनाउन प्रधानमन्त्री कार्यालय आइपुगेकी हुन् ।

गाउँघरको समस्या सम्बोधनका लागि निवेदन बोकेर काठमाडौंका मन्त्रालय र सरकारी कार्यालयहरू चहार्ने सुनमतीजस्ता पात्र स्वास्थ्य बिमा र आधारभूत उपचारबाट किन बाहिर रहन्छन् भन्ने प्रश्नको जवाफ सरकारी संयन्त्रसँग छैन । जबकि महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले औंल्याएअनुसार सरकारले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०६८ लाई लत्याएर करिब २ करोड ५३ लाख ५० हजार रुपैयाँ १ सय ३ जनालाई औषधि उपचारका लागि भनेर खर्च गरेको छ ।

सुनमती जस्तालाई आफ्नो र श्रीमान्को मात्रै पिरलो छैन । उनका छोरा र बुहारीलाई पनि मानसिक स्वास्थ्य समस्या छ । २०७९ चैतमा पाटन मानसिक अस्पतालमा जँचाउँदा छोरालाई कडा खालको सिजोफ्रेनिया भएको रिपोर्ट पनि उनले सँगै बोकेर हिँडेकी छन् । ‘अहिले छोरा–बुहारीलाई ठीक छ तर जहाँको त्यहीँ हराउँछन्,’ सुनमतीले भनिन्, ‘त्यही भएर जता पनि म आफैं कुद्छु ।’ छोरा–बुहारीसँगै अहिले उनकै साथमा पछि लागेर हिँडिरहेका नातिलाई पनि मानसिक समस्या देखिएको छ । दौरा–सुरुवाल, ढाका टोपी र ढाकाको खादालाई गलबन्दी बनाएर घाँटीमा बेरेका सानो नाति हजुरआमा नदेख्दा आत्तिएर भुइँमा लडीबुडी खेल्न थालिहाल्छन् । त्यसैले बज्यै जता गयो, नाति उतै र नाति जता गयो, बज्यै उतै जानुपर्ने बाध्यता छ ।

‘काठमाडौंको एक संस्थामा बस्थ्यो नाति, स्कुलमा मास्टरले पिटेछन्, घर आएपछि ममीले पनि पिटिछ, त्यसपछि यसलाई पनि दिमागी समस्या देखियो । उपचार गराइरहेकी छु,’ सुनमतीले भनिन्, ‘पूर्व–पश्चिम केही बाँकी नराखी उपचार गराएँ । हेलो सरकारमा निवेदन दर्ता गरेपछि पाटन अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । तीन–तीन महिनामा देखाइरहनुपर्छ ।’ यही चक्करमा पोहोर वैशाखदेखि सुनमतीदेवी कञ्चनपुरको महेन्द्र माध्यमिक विद्यालय धाइरहेकी छन् । ठ्याक्कै अन्तिम जाँच दिने बेला काठमाडौं आउनुपरेकाले अब पुनः पहिलो कक्षा (नर्सरी) नै दोहोर्‍याउनुपर्ने भएको उनले बताइन् । ‘स्कुलमा लाइन लाग्दा म पनि नातिसँगै लाइन लागिदिन्छु, क्लास जाँदा म पनि क्लासमा कुनातिर बस्छु,’ सुनमतीले भनिन्, ‘ठूल्ठूला स्कुले विद्यार्थी र सर–मेडमहरू सबैले मेरो मुख हेर्छन्, बुढी मान्छे लाइनमा उभिनुपर्दा सरम लाग्छ ।’ केही वर्ष नातिको साथ नछोड्न चिकित्सकले सल्लाह दिएकाले नाति–बज्यै हरबखत सँगै हुनुपरेको उनले बताइन् । अब रोपाइँ सुरु हुने बेला आफू धनचौरीमै बस्नुपर्ने हुँदा नातिको स्कुल छुट्नेमा उनलाई पीर पनि लागेको छ ।

नातिलाई तीन–तीन महिनामा पाटन अस्पताल ल्याउनुपर्ने, थलिएका श्रीमान्, बिरामी छोरा–बुहारी, बैंक धितोमा जग्गा, सर्वोच्च अदालतमा विचाराधीन अंशबन्डा मुद्दा । ग्यासट्राइटिस र उच्च रक्तचापको चक्की खाँदै सुनमती तमाम समस्या सल्टाउन धौडधुप गरिरहेकी छन् । ‘केही उमेरले, केही पीरले गलेकी छु अहिले,’ उनले नातितर्फ हेर्दै भनिन्, ‘तर आफ्नो दुःख हेर्ने कि यिनको ? यिनकै त होला ?’ सुनमतीको भनाइमा केही सरकारी कर्मचारीले उनलाई सहयोग गरेका छन् भने केहीले दुःखमा सान्त्वना र मल्हम लगाउनुको साटो अपमानको भारी बोकाइदिएका छन् । उनका अनुसार हालैका दिनमा महिला मन्त्रालयका कुनै एक अधिकारीले उनलाई सामाजिक कल्याण परिषद्बाट २५ हजार रुपैयाँ सहायता पाइन्छ भनेर हरिहर भवनतिर पठाइदिएका थिए । त्यहाँ भने उनलाई एक अधिकारीले ‘सधैं आउँछौ, सधैं माग्छौ,’ भनेर अपमानित गरे । उनलाई त्यो बचनले निकै बिझाएको छ । उनले सुनाइन्, ‘सरकारी रकम दिन बसेको कर्मचारीले सेखी लाएको निको लागेन ।’ आफूले भिख होइन, अधिकार मागेको सुनमती बताउँछिन् ।

वृद्धा अवस्थामा पुगेकी सुनमतीलाई आफ्नो दुःखले थिचे पनि उनी काठमाडौं आउँदा गाउँघरका छरछिमेकका दुःख पनि काठमाडौंका सरकारी कार्यालयमा दर्ता गराउँछिन् । हुरीबतासले धान बाली सोत्तर भएर ढलेपछि मर्कामा परेका गाउँलेका नामावली भएको लामो सूची उनले आफ्नो कागजपत्रको ठेलीबाट निकालेर देखाइन् । साथमा नष्ट भएर ढलेको धानबारीका फोटाहरू पनि थिए । सुनमतीले यसपालि धनचौरीकै अति विपन्न अर्का वृद्धा प्रेमराज मिश्रको निवेदन दर्ता गराएको बताइन् । ‘नाजुक विपन्न हो, त्यसकी बुढी मरिगई, बालखा छोरा छ, छाप्रोमा बस्छन्, मागेर खान्छन्,’ उनले भनिन्, ‘प्रधानमन्त्री सचिवालयमा त्यसको निवेदनको दर्ता नम्बर ३११ हो ।’

यिनै विविध विषयमा हेरविचार गरिदिन आग्रहसहित आफ्ना सबै कहानी सुनाउने गरी उनी प्रधानमन्त्री कार्यालय आएकी थिइन् । सुनमतीलाई सिंहदरबार छिर्न पनि सकसै छ । उनले एउटा सहारा भने बनाएकी छन् । रातो सुतीको साडी, रातै मखमली चोलो, टाउकामा ऊनीको टोपी लगाई पिठ्युँमा कालो झोला अनि मोबाइल राख्न कम्मरमा सुर्के थैली भिरेकी उनी प्रधानमन्त्री कार्यालयको भुइँतलामा कोठा–कोठा चियाउँदै थिइन् । वृद्धा महिला सरकारी कार्यालयमा भौंतारिएको देख्दा जो कसैको मनमा कौतुहल जागिहाल्ने । ‘कसलाई खोज्नुभएको ? के कामले यहाँ आइपुग्नुभयो ?’ उनले उत्तरमा भनिन्, ‘म प्रकाशलाई खोज्न आएकी, उसले अध्यक्षलाई भेटाइदिन्छु भनेको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई निरन्तर ‘अध्यक्ष’ सम्बोधन गरिरहेकाले उनी माओवादी केन्द्रकी कार्यकर्ता हुन् भन्ने अड्कल काट्न गाह्रो हुन्न । तर, त्यसको उत्तर पनि उनले आफैं दिइन्, ‘मेरा मान्छे छन् पार्टीमा । मचाहिँ मतदाता मात्रै हुँ ।’ उनले प्रधानमन्त्री दाहालका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीलाई खोजेकी थिइन् । प्रकाशकै नाम लिएर सिंहदरबार छिर्न खोज्दा रायमाझीलाई उत्तर गेटका प्रहरीले फोनमा सोधेछन्, ‘यहाँ एक जना आमा आउनुभएको छ, तपाईंले पोहोर मोबाइल किन्दिनुभएको थियो रे, के गर्ने ?’ प्रकाशले भित्र पठाइदिनु भनेपछि उनी नाति डोर्‍याउँदै सिंहदरबार छिरेकी थिइन् ।

‘उहाँ पोहोर श्रीमान्को उपचार गर्न आउँदा मसँग संयोगले भेट भएको थियो, उहाँले आर्थिक सहायता माग्नुभएको छ, अब नयाँ आर्थिक वर्ष सुरु भएपछि उहाँलाई नागरिक राहत, क्षतिपूर्ति तथा सहायतासम्बन्धी कार्यविधिअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको छ,’ प्रकाशले भने, ‘सुनमती आमाजस्ता पाका व्यक्तिहरू बेला–बेलामा यहाँ आइरहनुहुन्छ । प्रधानमन्त्रीलाई भेटाइदेऊ भन्नुहुन्छ, मिलेसम्म भेटाइदिने गरेको छु ।’ सुनमती भने प्रकाशसँगको भेटपछि प्रधानमन्त्रीलाई भेटिरहन जरुरी नठानेर यसपालि गाउँ फर्किसकेकी छन् ।

प्रकाशित : असार १, २०८१ ०५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×