२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

एसको अध्यक्षका लागि नेपाल, खनाल र भुसाल प्रतिस्पर्धाको तयारीमा

काठमाडौँ — एकीकृत समाजवादी (एस) को असारमा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले प्रतिस्पर्धाको तयारी थालेका छन् । 

एसको अध्यक्षका लागि नेपाल, खनाल र भुसाल प्रतिस्पर्धाको तयारीमा

असार १६ देखि २० मा हुने महाधिवेशनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधिका लागि योग्य हुन एमाले विभाजन हुनुअघिकै सदस्यलाई एसले मान्यता दिएको छ । २०७८ भदौमा एमालेबाट विभाजन भई एस गठन भएको हो । महाधिवेशनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिक पारित गरी केन्द्रीय सचिवालय बैठकले शुक्रबार संख्या र विधि तय गरेको छ । एसका १ लाख ४६ हजार ७ सय संगठित सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

‘भूगोलका सङ्घीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेश अन्तर्गतका जिल्ला कमिटीका कार्यक्षेत्रबाट १ सय २५ सङ्गठित पार्टी सदस्य बराबर १ प्रतिनिधिका दरले प्रतिनिधि छनोट हुनुपर्नेछ’ निर्देशिकामा भनिएको छ ।

‘दसौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको सङ्गठित सदस्यता प्राप्त गरी कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्नेछ’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘सङ्गठित पार्टी सदस्यता प्राप्त मिति पूर्ववत् पार्टीमा सङ्गठित सदस्यता प्राप्त गरेको मितिदेखिकै गणना हुनेछ । योग्यता नपुगेको व्यक्ति प्रतिनिधि छनोट भएमा प्रतिनिधि रद्द हुनेछ ।’

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा ४ सय २५ महिला, १ सय ५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधिको टुंगो लागेको छ । जसअनुसार भूगोलका सङ्घीय निर्वाचन क्षेत्र १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र २२, भारत प्रवास क्षेत्र ८, अन्य प्रवास क्षेत्र १५, केन्द्रीय सल्लाहकार परिषद् ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च ५, विभिन्न महासङ्घहरू ८५, जनसङ्गठनहरू ५६, केन्द्रीय कमिटीबाट ३ सय ४६, केन्द्रीय आयोगहरूबाट १ सय ४, केन्द्रीय विभागबाट ३२, केन्द्रीय कार्यालयबाट १३, मजदुर विशेष र आरक्षणबाट २० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

सचिवालयले पारित गरेको प्रतिनिधि आचारसंहितामा समूह बनाएर (प्यानलमा) उम्मेदवार बन्न नपाइने प्रावधान राखिएको छ ।

‘निर्वाचनका सन्दर्भमा कसैले पनि व्यक्तिगत आरोप प्रत्यारोप गर्न पाइने छैन,’ संहितामा उल्लेख छ, ‘पार्टी विधानबमोजिम अनुशासन उल्लङ्घन गरेको मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन पाइने छैन । महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर निर्वाचन लड्न पाइने छैन ।’

प्रतिनिधि चयन निर्वाचनमा नेताहरूको नाम उल्लेख गरी प्रचार गर्न नपाइने भएको छ । ‘पार्टीका नेताहरू तथा उम्मेदवारको नाम प्रयोग गरेर पक्ष वा विपक्षमा हुने गरी प्रचारप्रसार गर्न वा गराउन वा अन्य कुनै पनि किसिमका गतिविधि गर्न पाइने छैन’ संहितामा भनिएको छ, ‘नेताहरूको नाम, तस्बिर अंकित ज्याकेट, टी–सर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, प्रदर्शन गर्न वा गराउन पाइने छैन ।’

एसले महाधिवेशन प्रतिनिधि चयनका लागि गुटगत भेला/बैठक आयोजना गर्न, समूहमा म्यासेज पठाउन, पर्चा पम्प्लेट उत्पादन तथा वितरण गर्न, सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो वा एफएम रेडियोलगायत अन्य डिजिटल माध्यमबाट प्रचार गर्न वा गराउन नपाइने संहितामा उल्लेख गरेको छ ।

जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र आदिका आधारमा मतदातालाई प्रभावित गर्न नपाइने, महाधिवेशन प्रतिनिधि चयनका लागि पार्टी सदस्यलाई प्रभावमा पार्न नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराए कारबाही हुने भन्दै निर्देशन जारी गरिएको छ । ‘आचारसंहिता उल्लङ्घन प्रमाणित भएमा निर्वाचित प्रतिनिधि खारेज हुनेछ,’ अध्यक्ष नेपालले जारी गरेको निर्देशनमा उल्लेख छ ।

प्रकाशित : असार १, २०८१ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×