कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

जसपा नेपाल महाधिवेशन : मतदान नहुने, सहमतिबाट नेतृत्वको नाम टुंग्याउने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थिगत गरी सहमतिबाट चयन गर्ने निर्णय भएको छ ।

जसपा नेपाल महाधिवेशन : मतदान नहुने, सहमतिबाट नेतृत्वको नाम टुंग्याउने जिम्मा अध्यक्ष यादवलाई

सबै पदमा सहमतिबाट पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अब अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिए । अध्यक्ष यादवको सचिवालयमा समेत रहेका चौरसियाका अनुसार अब अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसालाई अनुमोदन गरिने छ ।

केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने तय गरिएको थियो ।

बुधबार उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चुनिए । तर अध्यक्षबाहेकका पदमा भने नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

एकजना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए। एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।

२ जना महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका थिए । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २०१ पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुनेभएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नेपर्ने घोषणा अध्यक्ष यावदले गरेका थिए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×