कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नर्स बने विद्यार्थीका साथी

सरकारले पाँच वर्षअघि सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले नर्सहरू विद्यार्थीका लागि सबैभन्दा नजिकको अनि विश्वासिलो साथी बनेको सरकारी अध्ययनहरूले देखाएका छन्
विद्या राई

काठमाडौँ — विद्यालय नर्स सुलोचना सुवेदी सदाझैं कार्यकक्षमा बसेर विद्यार्थीको स्वास्थ्य परीक्षण, सरसफाइ तथा पोषण सचेतनाको तालिका बनाउँदै थिइन् । आठ कक्षामा पढ्दै गरेका एक छात्र एक्कासि उनको कार्यकक्षमा छिरेर डाँको छोडेर रुन थाले । नर्सले फकाइफुल्याइ गर्दै उनको समस्या सोधिन् ।

नर्स बने विद्यार्थीका साथी

उनले एक छात्रालाई मन पराउने, कुराकानी हुने गरेको र पछि कुरा नगर्ने भनेर छात्रा टाढिएपछि मानसिक पीडा भएको सुनाए । यसै घटनाले पढाइमा ध्यान दिन नसकेको र पढाइ बिग्रँदै गएको चिन्ता पनि उनले व्यक्त गरे ।

उनी पढाइमा राम्रो विद्यार्थीभित्र गनिन्थे । नियमित विद्यालय आउने उनी तीन–चार महिनायता आक्कल–झुक्कल मात्र देखिन थालेका थिए । उनले आफ्ना सबै समस्या खुलेर बताएपछि नर्सले परामर्श दिन थालिन् । विद्यालयका अतिरिक्त क्रियाकलापमा सहभागी हुन उत्प्रेरित गरिन् । उनी बिस्तारै पढाइको पुरानै लयमा फर्कन थालेका छन् । दुई महिनाअघि यो सफलताको कथा सुनाउँदै काभ्रेको पाँचखाल नगरपालिकास्थित महाँकाल माविमा सेवारत विद्यालय नर्स सुवेदीले भनिन्, ‘सात/आठ कक्षामाथिका विद्यार्थी किशोरावस्थामा प्रवेश गरेका हुन्छन्, समस्या आइपरे कसरी ह्यान्डल गर्ने द्विविधामा परेका हुन्छन्, यसरी नै लिएर आउँछन्, परामर्श गरेर समाधान भएका छन् ।’

सुवेदीका अनुसार किशोरावस्थामा शारीरिक, मानसिक र संवेगात्मक वृत्ति विकास भइरहेको हुन्छ, विपरीतलिंगीप्रतिको आकर्षण, भावनात्मक सामीप्य आउने गर्छन् । उनीहरू यस्ता परिवर्तन बेलैमा पहिल्याउने सार्मथ्य राख्दैनन् । साथीसंगी वा अग्रजसँग सल्लाह र समाधान माग्न अप्ठेरो मान्छन् वा डराउँछन् । मानसिक तनावमा गुज्रिन पुग्छन् । विद्यार्थीको प्रगतिलाई अवरोध पुर्‍याइरहेको हुन्छ । उनले भनिन्, ‘अरुलाई सुनाउँदा, सहयोग माग्दा नराम्रो ठान्लान् भन्ने हुँदो रहेछ, जुन कुरा विद्यार्थीले हामी (स्कुल नर्स) सँग निर्धक्क सुनाउँछन् ।’

सरकारले पाँच वर्षअघि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेको थियो । यस कार्यक्रमले नर्सहरू विद्यार्थीका लागि सबैभन्दा नजिकको अनि विश्वासिलो साथी बनेको सरकारी अध्ययनहरूले देखाएका छन् । ‘महिनावारी हुँदाखेरी कसरी सरसफाइ गर्ने, प्याड कसरी लगाउनेदेखि सबै खालका स्वास्थ्य समस्याबारे ढुक्कले सोध्न, जान्न र बिरामी हुँदा जँचाउन पाइन्छ,’ भोजपुरको सगरमाथा माविकी सुम्निमा राईले भनिन् । ‘विद्यालय नर्स कार्यक्रम र विद्यार्थीको ज्ञान तथा अभ्यासबीचको सम्बन्ध’ शीर्षकमा गत वर्ष प्रकाशित जर्नलले पनि विद्यार्थीमा विद्यालय नर्स कार्यक्रमको सकारात्मक प्रभाव देखाएको र यो कार्यक्रम लागू नभएका विद्यार्थीको तुलनामा लागू भएका विद्यालयका विद्यार्थीमा स्वास्थ्यबारेको ज्ञान उच्च पाइएको उल्लेख गरेको छ । शारीरिक, मानसिक र संवेगात्मक तवरले स्वस्थ हुने वातावरण पाउँदा विद्यार्थीको पढाइको स्तर पनि राम्रो हुने गरेको छ ।

सरकारले ‘विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका, २०७६’ बमोजिम हरेक विद्यालय तहबाटै बालबालिकालाई समग्र स्वास्थ्य, पोषण, सरसफाइ, छात्रालाई महिनावारी व्यवस्थापन, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा प्रवर्द्धन गर्नेबारे जानकारी गराएर स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयमा एक नर्सको कार्यक्रम लागू गरेको थियो । ०७६ पुस २१ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि पारित गरेपछि कार्यक्रम सुरुवात भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तहहरूको समन्वयमा लागू भैरहेको छ ।

स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १३ स्थानीय तहका १ सय २० विद्यालयमा कार्यक्रम लागू गरेर आव ०७६/०७७ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु भएको थियो । गत वर्षसम्म देशभरका १ हजार ११ विद्यालयमा यो कार्यक्रम विस्तार भएको छ, जसमध्ये २ सय ३२ विद्यालयको कार्यक्रम स्वास्थ्य विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र ७ सय ७९ विद्यालयको नर्स कार्यक्रम प्रदेश सरकारको मातहतमा सञ्चालनमा छन् ।

छात्राहरूको अनुपस्थिति रोक्न सरकारले सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण थालेको थियो । विद्यालय नर्सहरू नियुक्त हुनुअघि छात्राहरू सहज रूपले प्रयोग गर्न पाउँदैन थिए । महिला शिक्षक नभएका विद्यालयमा छात्राहरू पुरुष शिक्षकसँग महिनावारी भएको र प्याड चाहिएको भन्न सक्दैनथे । शिक्षकहरू पनि यस्ता कुरा गर्न हिचकिचाउँथे । विद्यालय नर्स कार्यक्रमले प्याड वितरणमा मात्रै सहज भएन, विद्यार्थीका लागि आधारभूत स्वास्थ्य सेवाका साथै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना र जानकारी पाउने माध्यम पनि भएको छ ।

खासगरी यौन तथा प्रजनन स्वास्थ्यको विषयमा खुला रूपमा छलफल, बहस गर्नुलाई अझै पनि सामाजिक कलंक, लाजको विषय ठानिन्छ । यस विपरीत किशोरावस्थाका विद्यार्थीमा जान्ने उत्सुकता हुन्छ । पाठ्यपुस्तकमा यस्ता विषय समेटिए पनि शिक्षकले प्राथमिकता दिएर नपढाउने प्रवृत्ति व्यापक छ । यसकारण पनि विद्यार्थीलाई बुझाइदिने र परामर्श गरिदिने मान्छे चाहिएको हुन्छ । उनीहरूलाई आवश्यक परेको परामर्श वा स्वास्थ्य सहयोग दिने वातावरण विद्यालय नर्स कार्यक्रमले प्रदान गरेको छ ।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि अनुसार विद्यालय नर्सहरूले आफ्नो कार्यविवरण सम्बन्धित स्थानीय तहमा बुझाउने गर्छन् । तर, विद्यालय नर्सहरूको कार्यसम्पादन अनुगमन तथा मूल्यांकन, आवश्यक तालिमको अभाव छ । ‘म स्कुल नर्स भएको तीन वर्ष भयो, आफूले गरिरहेको काम ठिक कि बेठिक हो, सुधार गर्नुपर्ने के हो भनेर फिडब्याक नै आउँदैन,’ काभ्रेको पाँचखाल नगरपालिकाकै श्रीराम माविकी विद्यालय नर्स प्रकृति दुलालले भनिन्, ‘हामीलाई विद्यार्थीले विश्वास गर्छन्, राम्रो वातावरण महसुस गर्छन्, खुलेर कुरा राख्छन् तर हाम्रो सुपरभिजन नहुँदा फ्रस्टेटिङजस्तो भएको छ ।’

पाठ्यक्रम र संघसंस्थाहरूले दिएका तालिममा मात्रै भर परेर विद्यालय नर्सको भूमिकामा रहँदा समयसापेक्ष सेवा प्रवाह गर्न नसकिने चुनौती रहेको महाकाल माविकी सुवेदीले बताइन् । ‘विद्यार्थीहरू हामीलाई विश्वास गरेर आफ्ना कुरा राख्छन्, जुन अवसर मैले विद्यालय पढ्दा थिएन,’ उनले भनिन् ।

स्वास्थ्य सेवा विभागले पनि आफ्नै वार्षिक प्रतिवेदन ०७९/०८० मा कार्यक्रमको नियमित मूल्यांकन र अनुगमनको अभाव रहेको, नर्सहरूलाई काम गर्ने उत्साह प्रदान गर्न नसक्दा जागिर छोड्ने गरेको, कार्यक्रम दीर्घकालीन सञ्चालनका लागि मानवीय तथा आथिक स्रोतसाधनको सीमितता भएको कमजोरी र चुनौती पहिचान गरेको छ ।

स्वास्थ्य विभागमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी नर्सिङ प्रशासकीय प्रमुख बाला राईले अनुगमन तथा मूल्यांकन तीनै तहका सरकारको जिम्मेवारीभित्र पर्ने बताउँछिन् । ‘हामीले सेवा प्रवेश तालिम दिएर काममा खटाएका हुन्छौं, बेठिक भयो कि भनेर नर्सहरूले डराउनु पर्दैन,’ उनले भनिन्, ‘अनुगमन गर्ने, पृष्ठपोषण गर्ने नि गर्छौं, एकै वर्षमा हजारभन्दा बढी विद्यालयमा पुग्न नसकिरहेको साँचो हो, हामीले स्थानीय तहका जनप्रतिनिधिसँग टेलिफोन संवाद गरेर पनि रिपोर्टिङ लिइरहेका छौं ।’

प्रकाशित : जेष्ठ ३१, २०८१ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×