कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

सरकारले तत्काल 'नेपाल अस्पताल सञ्चालन ऐन' ल्याउनुपर्छ : डा. कार्की

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी रहेको बताएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कार्कीले स्वास्थ्य संस्था तथा अस्पताल सम्बन्धि मापदण्ड कार्यान्वयन नभएकाले पनि सो ऐन ल्याउन सरकारले ढिलाई गर्न नहुने बताइन् । 

सरकारले तत्काल 'नेपाल अस्पताल सञ्चालन ऐन' ल्याउनुपर्छ : डा. कार्की

सांसद कार्कीले विपन्न नागरिकका लागि १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउने मापदण्ड समेत अस्पतालहरूले पालना नगरेको उल्लेख गर्दै त्यस्ता अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारले ऐनमा नै स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।

सरकारी अस्पताल, निजी अस्पताल, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सञ्चालित अस्पतालहरूलाई विपन्न नागरिकको पक्षका काम गराउन पनि सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

‘स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि मापदण्ड, २०७७ को दफा ७० (घ) मा स्वास्थ्य संस्था तथा अस्पतालहरूले अनिवार्य रुपमा विपन्न नागरिकको लागि १० प्रतिशत शैया छुट्टयाई नागरिकलाई निःशुल्क सेवा दिनुपर्छ भनिएको छ तर यो लागू भएको छैन । यसको नियमन पाटो झन् फितलो छ,' उनले भनिन्, '१० प्रतिशत सेवा नदिँदा कारबाही के हुने भन्ने स्पष्ट व्यवस्था छैन । अनौपचारिक अनुगमनमा जाँदाखेरी मापदण्ड मन्त्रालयको निर्देशनमा मात्र सिमित भएको देखिन्छ । सरकारी अस्पताल, निजी अस्पताल, सामुदायिक अस्पताल कसरी संचालन गर्ने, सेवा सुविधा के हुने, सेवा नदिएमा दण्ड के हुने ? भन्ने स्पष्टताका लागि नेपाल अस्पताल संचालन ऐन ल्याउन जरुरी छ ।’

सांसद कार्कीले निजी अस्पतालहरूले सरकारले तय गरेको मापदण्ड पालना नगरेको पनि गुनासो गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ २९, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x