२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मैले मन्त्री भएपछि यो पितृसत्तात्मक समाज नै हो भनेर महसुस गरेँ : मन्त्री चौधरी

ललितपुर — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट विनियोजन भएको बताएकी छन् ।

मैले मन्त्री भएपछि यो पितृसत्तात्मक समाज नै हो भनेर महसुस गरेँ : मन्त्री चौधरी

‘भर्खरै बजेट आएको छ । तर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्र तथा यौनिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने जिम्मेवारी रहेको महिला मन्त्रालयमा निकै न्यून बजेट दिइएको छ’, मन्त्री चौधरीले भनिन्, ‘विगतभन्दा बजेट बढेको छ । तर समग्रमा हेर्दा बजेट निकै न्यून छ । विकासे मन्त्रालय होइन भनेर महिला मन्त्रालयलाई न्यून बजेट दिने गरिएको छ ।’

बुधबार छैँटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्री चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य राखेर सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' ल्याइएको बताइन् ।

बजेट निर्माण प्रक्रियामा आफू पटक-पटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो छ।

‘मैले आफ्नो जीवनकालमा यस्तो महसुस गरेको थिएन । तर अहिले मन्त्री भएपछि मलाई यो पितृसत्तात्मक समाज नै हो भनेर महसुस भयो । निकै नराम्रो लागेको थियो’, उनले भनिन्, ‘बजेटका विषयमा पटक-पटक प्रधानमन्त्री र अर्थमन्त्रीज्यूसँग छलफल गरेको थिएँ । हुन त लाइन मिनिस्ट्रीसँग छलफल गरेर बजेटको टुंगो लगाउनुपर्ने थियो । तर, त्यसो हुन सकेन । मेरो जीवनकालमा यस्तो कहिल्यै महसुस भएको थिएन, जुन हिजो अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दैगर्दा मलाई अनुभूति भयो । एकखाले ग्लानी भयो, परम्परागत खालको सोंच रहेछ भन्ने मलाई लाग्यो ।’

आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको भन्दै उनले बजेट भने सोंचेअनुसार नआएको बताइन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?