२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४
अन्वेषण

टेस्ला भर्सेज बीवाईडी

चिनियाँ कम्पनी बीवाईडीले सन् २०२२ मा १८ लाख ५० हजार इलेक्ट्रिक कार बिक्री गरेकामा २०२३ मा ३० लाख २४ हजारभन्दा बढी बेचिसकेको छ,  कुनै बेला बीवाईडीलाई प्रतिस्पर्धी नै नठान्ने टेस्लाले २०२२ मा १३ लाख र २०२३ मा १८ लाख कार बेचेको छ
सजना बराल

काठमाडौँ — भारत भ्रमणमा आउने निश्चित गरिसकेका अमेरिकी अर्बपति एवं विद्युतीय सवारी उत्पादक, टेस्लाका मालिक इलन मस्क त्यो भ्रमण रद्द गरेर गत महिना अचानक चीनतिर लागे । चीनका प्रधानमन्त्री ली छ्याङसँगको भेटमा उनले टेस्लाको पूर्ण स्वचालित (फुल सेल्फ–ड्राइभिङ) सुविधा भएका ‘रोबोट्याक्सी’ परीक्षणका लागि अनुमति मागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

टेस्ला भर्सेज बीवाईडी

पछिल्लो समय चीनमा विद्युतीय सवारीको बजार तीव्र रूपमा बढिरहेको छ । त्यसका साथै अमेरिकापछि टेस्लाको ठूलो कारखाना चीनको सांघाईमा सञ्चालनमा छ । जसका कारण इलनले भारत भ्रमणको सट्टा चीनलाई महत्त्व दिई त्यतै दौडिएको विश्लेषण भइरहेका छन् । एक वर्षको अवधिमा उनी दोस्रो पटक चीन पुगेका हुन् ।

यो सन्दर्भपछि चीनको प्रख्यात विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडीबारे इलनले सन् २०११ मा अमेरिकी सञ्चारमाध्यम ब्लुमबर्गलाई दिएको अन्तर्वार्ता पुनः चर्चामा आएको छ । अन्तर्वार्तामा इलनले बीवाईडीको प्रविधि र कार आकर्षक नभएकाले सो कम्पनीसँग टेस्लाको कुनै प्रतिस्पर्धा नहुने अभिव्यक्ति दिएका थिए । कतिसम्म भने अन्तर्वार्ताका क्रममा पत्रकारले बीवाईडीको नाम उच्चारण गर्नासाथ इलन व्यंग्यपूर्वक खित्का छोडेर हााँसेको दृश्य अहिले पुनः सामाजिक सञ्जालमा सेयर भइरहेका छन् । ‘चिनियाँ कम्पनी हुनु नै बीवाईडीका लागि समस्या हो, उनीहरूले गर्नुपर्ने काम भनेको चीनमै आफ्नो अवसान हुन नदिनु हो, जसका लागि प्रयास पनि गर्दै आएका छन्,’ इलनको भनाइ थियो ।

तेह्र वर्षअघिको कुरा अर्कै, यस अविधिमा इलन स्वयंको धारणा र ईभी बजारको आकार उलटफेर भइसकेको छ । गत वर्ष एक्समा राखिएको उही पुरानो भिडियोमा कमेन्ट गर्दै इलन आफैंले बीवाईडी अहिले सर्वाधिक प्रतिस्पर्धी बनिसकेको स्वीकार गरेका थिए । यसपालिको अप्रत्याशित बेइजिङ भ्रमण, चीनका सडक सञ्जालबारे विवरण संकलनका लागि चिनियाँ प्रविधि कम्पनी बाइडुसँगको सम्झौता र फुल सेल्फ–ड्राइभिङ (एफएसडी) कार सञ्चालनमा ल्याउन इलनले चीनसँग अनुमति मागेका प्रसंगले ईभी बजारमा चीन कति अघि बढिसकेको छ भन्ने प्रस्ट पारेको छ । कुनै बेला आफैंले होच्याएको कम्पनीसँग प्रतिस्पर्धा गर्न इलनलाई आज हम्मेहम्मे परेको छ । बीवाईडी मात्र होइन, चीनका नियो, एक्सपेङ र ली अटोजस्ता कम्पनीहरू पनि ईभी उद्योगमा क्रमशः फस्टाइरहेका छन् ।

योबीच टेस्ला आफैं पनि ईभी स्टार्टअपबाट विश्वकै अग्रणी ईभी निर्माता कम्पनीका रूपमा विकसित भइसकेको छ भने बजार पुँजीकरणका हिसाबले यो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । तथापि, बीवाईडीजस्ता चिनियाँ ब्रान्डहरूको प्रभावकारी बजार प्रवेशपश्चात् केही समययता टेस्ला कारहरूको बिक्री घटिरहेको विवरण सार्वजनिक भएका छन् । चालु आर्थिक वर्ष २०२४ को पहिलो त्रैमासमा टेस्लाको सवारी निर्यात ८.५ प्रतिशतले घटेको र यसले गर्दा गत जुलाईपश्चात् कम्पनीको सेयर मूल्यमा ४० प्रतिशतले गिरावट आएको अल जजिराको ८ मेको समाचारमा उल्लेख छ । युरोपेली बजारमा अप्रिल महिनामा टेस्ला खरिद २.३ प्रतिशतले घटेको रोयटर्सले जनाएको छ ।

अरूसँगको प्रतिस्पर्धा र घट्दो बजार आकारको क्षति कम गर्न टेस्लाले युरोपेली बजारमा अघोषित छुटलगायतका रणनीति अघि सारेको पाइएको छ । तर यसरी अनपेक्षित मूल्य कम गर्ने र मर्मतसम्भारमा सहजीकरणजस्ता प्रयास गर्दा पनि टेस्लालाई चिनियाँ उत्पादक बीवाईडीलगायत प्रतिस्पर्धी सामुन्ने टिक्न गाह्रो भइरहेको रोयटर्सको विश्लेषण छ । यी सबै उल्झनमाझ इलनको ध्यान भने अब इलेक्ट्रिक कारहरूलाई सुपथ र सर्वसुलभ बनाउनेभन्दा पनि अटोनोमस ड्राइभिङ सफ्टवेयर, रोबोट्याक्सी र ह्युमनोइड रोबटहरूतर्फ मोडिएको आभास हुन्छ । टेस्ला अटोपाइटल र फुल सेल्फ–ड्राइभिङ सफ्टवेयर निर्माणसँगै यसको परीक्षणका लागि उनी प्रयासरत देखिन्छन् ।

तिनै सफ्टवेयरलाई थप एडभान्स बनाएर इलनले ‘टेस्ला नेटवर्क’ विकास गर्न खोजिरहेको कतिपयको आकलन छ । टेस्ला नेटवर्कमा फुल सेल्फ–ड्राइभिङ सफ्टवेयर, मोबाइल एप, रोबोट्याक्सी र ह्युमनोइड रोबट सबैलाई राइड–हेलिङ सेवामा प्रयोग गर्ने लक्ष्यसहित उनी अघि बढेको अनुमान गरिएको छ । यही क्रममा उनले ईभी चार्जरसम्बन्धी पूर्वाधार विकास र विस्तार गर्ने टेस्ला मातहतको सुपरचार्जर नेटवर्कसमेत खारेज गरिदिएका छन् । करिब ५ सयभन्दा धेरै कर्मचारी हटाएर सुपरचार्जर संस्था बन्द गरिएको यो प्रकरणले ईभीतर्फको लगानी घटाई स्वचालित ड्राइभिङमा अघि बढ्ने इलनको योजना हुन सक्ने अड्कलबाजीलाई थप मलजल गरेको छ ।

यता, सन् २०११ पछी बीवाईडीले पनि आफूलाई खासै उत्साहजनक नमानिने गाडी उत्पादकबाट विश्वमा सर्वाधिक धेरै विद्युतीय गाडी बेच्न सफल चीनको ‘न्यु इनर्जी भेहिकल’ बजारमा अग्रणी कम्पनीका रूपमा स्थापित गरिसकेको छ । सन् २०२२ मा बीवाईडीले करिब १८ लाख ५० हजार युनिट प्लग–इन इलेक्ट्रिक कार बिक्री गरेकामा सन् २०२३ मा ३० लाख २४ हजारभन्दा बढी ईभी बेचेको बीवाईडीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । सन् २०२२ मा टेस्लाले करिब १३ लाख र सन् २०२३ मा करिब १८ लाख युनिट कार बेचेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।

‘सन् २०२३ मा बीवाईडीको अन्तर्राष्ट्रिय बजार ३३४.२ प्रतिशतले वृद्धि भएको थियो,’ कम्पनीको वेबसाइटमा भनिएको छ, ‘एक वर्षमा २ लाख ४२ हजार ७ सय ६५ वटा कार विश्वका ७० देशमा निर्यात भएको थियो ।’ टेस्ला र बीवाईडीजस्ता विद्युतीय सवारी उत्पादन गर्ने कम्पनीसँगै फोर्ड, जेनेरल मोटर्स, हुन्डाई, टोयटा, भोक्सवागनजस्ता लिगेसी अटो निर्माताहरूले पनि ईभीमा उल्लेख्य लगानीसँगै नयाँ मोडलका ईभी सार्वजनिक गरिरहेका छन् । इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए) को तथ्यांकअनुसार सन् २०२३ मा विश्वभर कुल १ करोड ४० लाख युनिट नयाँ इलेक्ट्रिक कार दर्ता भएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा ईभीको बिक्री ३५ लाखले बढेको थियो । हरेक साता २ लाख ५० हजार नयाँ ईभी दर्ता भएका र २०१३ को वर्षभरिमा पनि त्यति संख्यामा बिक्री नभएको आईईएको प्रतिवेदनमा उल्लेख छ ।

‘विश्वभर इलेक्ट्रिक कारको बिक्री बढिरहेजस्तो देखिए पनि पछिल्ला दिनमा केही निश्चित क्षेत्रमा मात्रै यसको बजार प्रभुत्व रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२३ मा ६० प्रतिशतजस्तो नयाँ इलेक्ट्रिक कार चीनमा दर्ता भएका थिए, २५ प्रतिशतजसो युरोप र १० प्रतिशत अमेरिकामा दर्ता भएका थिए । यसको अर्थ इलेक्ट्रिक कारको ९५ प्रतिशत बिक्री यिनै बजारमा सीमित थियो ।’ जापान र भारतजस्ता उन्नत कार बजार भएका देशमा समेत ईभीको बिक्री अपेक्षा गरिएभन्दा कम रहेको प्रतिवेदनले औंल्याएको छ । ईभी मूलधारमा आइसकेको हुँदा यसको बजार अब स्वतः चलायमान अवस्थामा रहने अपेक्षासहित अटोमोबिल निर्माताहरू अब अटोनोमस ड्राइभिङमा प्रतिस्पर्धा गर्न तम्सिएका देखिन्छन् ।

विद्युतीय र नवीकरणीय ऊर्जाको बहस भइरहेको र सवारी बजारमा यस्ता प्रविधिले तहल्का मच्चाउँदै गएको समयमा सवारी निर्माताहरूको ध्यान स्वचालित प्रविधितर्फ आकर्षित भएको हो । अहिले स्वचालित सवारीको प्रविधिमा ६ वटा श्रेणीहरू छन् । कुनै पनि रूपमा स्वचालित नहुने, चालकको सहयोगमा स्वचालित, आंशिक स्वचालित, सर्तसहित स्वचालित, उच्च स्वचालित र पूर्ण स्वचालित गरी अटोनोमसका श्रेणी छुट्याइएका छन् । अहिलेसम्म संसारका कुनै पनि देशले पूर्ण रूपमा स्वचालित प्रविधिका सवारीसाधनलाई मान्यता दिइसकेका छैनन् । त्यसमा सुरक्षा, जनस्तरको स्वीकार्यता, नियमनका समस्यालगायतका कारणहरूलाई अवरोध मानिएको छ । अहिलेसम्म चौथो तह अर्थात उच्च रूपमा स्वचालित सवारीलाई कानुनी मान्यता दिने जर्मनी एक मात्र देश रहेको छ ।

यस्तै, जापान र अमेरिकाका कैयौं राज्यमा सर्तसहितको स्वचालित प्रविधिलाई मान्यता दिन सुरु भएको छ । हाल प्रायः देशमा उपलब्ध रहेको प्रविधि भनेको चालकहरूलाई सघाउने वा उपलब्ध हुने किसिमको स्वचालित प्रविधि हो । पूर्ण रूपमा स्वचालित प्रविधि अहिले सम्भव भइनसकेको भए पनि भविष्यमा त्यसतर्फ लगानी, प्रतिस्पर्धा र बजार बढ्दै जाने टेस्ला मालिक मस्कको चीन दौडधुपले पनि देखाइसकेको छ ।

स्वचालित सवारी प्रविधिको अहिलेको कूल बजार आकार झन्डै १० खर्ब आसपासको रहेको फर्च्युन बिजनेस इन्साइटको प्रक्षेपण छ । फर्च्युनले सन् २०३० सम्ममा पूर्ण रूपमा स्वचालित प्रविधिको प्रयोग हुनसक्ने विश्लेषणसहित बजारको आकार १३० खर्ब अमेरिकी डलर आसपास पुग्ने पनि आँकलन सार्वजनिक गरेको छ । निकट भविष्यमै स्वचालित सवारीमा थपिन सक्ने प्रविधि भनेर प्रकाशको पहिचान एवं दूरी निर्धारण गर्ने उच्च क्षमताको लिडार प्रविधि र सेन्सर प्रविधिहरूमा सुधार हुने प्रक्षेपण गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगबाट तत्काल निर्णय लिन सक्ने प्रविधिसमेत विकसित हुने र सवारी साधनहरूले एकआपसमा कुराकानी गर्ने अर्थात भीटुएक्स क्षमता पनि विकास हुनेजस्ता पूर्वानुमानहरू सार्वजनिक भइसकेका छन् ।

स्वचालित प्रविधि सहितका सवारीको दौडमा टेस्ला र बीवाइडीसँगै परम्परागत सवारी निर्माता टोयोटा, जेनेरल मोटर्स, मर्सिडिज बेन्ज, ठूला सिलिकन भ्याली कम्पनीहरू बाइडु, गुगल, एप्पलसँगै अरोरा र जुक्सजस्ता कम्पनीहरू समेत रहेका छन् । विद्युतीय होस् वा पूर्ण स्वचालित सवारी साधान, अबका केही दशक कसरी सुरक्षित, भरपर्दो र प्रभावकारी यातायात बनाउने र विकसित हुँदै गएका प्रविधिमा कसरी सवारी साधनलाई आकर्षक बनाउने भन्नेमा दुविधा नरहेको बजार विश्लेषकहरूको राय छ । प्रविधि क्षेत्रका ठूला कम्पनी, सवारी साधन निर्माता र नयाँ तथा उन्नत स्टार्टअपहरूबीचको समन्वय र प्रतिस्पर्धाले आगामी दिनमा अझै नवीनतम प्रविधि भित्रनेमा सन्देह छैन ।

– एजेन्सीको सहयोगमा

प्रकाशित : जेष्ठ ११, २०८१ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?