कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

इतिहासको ज्ञान उजागर गरेर गए ज्ञानमणि

इतिहासलाई प्रामाणिक रूपले लेख्ने पहिलो पुस्ताका औंलामा गन्न सकिने विद्वान्मध्येका एक

काठमाडौँ — मध्याह्न हुनै लाग्दा ८० वर्षका महेशराज पन्त मंगलबार चौथो प्रहरमा इतिहासका पुराना दस्ताबेजहरूबाट आँखा हटाएर इन्टरनेटमा खबरहरू पढ्दै थिए । झट्ट एउटा खबरले उनको मन ढक्क फुल्यो, ज्ञानमणि नेपाल रहेनन् । 

इतिहासको ज्ञान उजागर गरेर गए ज्ञानमणि

‘अहो !’ उनले आफैंसँग अफसोस व्यक्त गरे । अनि भाइ दिनेशराज पन्तसँगै आर्यघाट हान्निए । ‘खासमा हामी उहाँलाई भेट्न अस्पताल जाने योजनामा थियौं,’ महेशराज भन्छन्, ‘तर, कालको बात कसलाई के थाहा र ? उहाँले त्यसै बेला शरीर छाडिसक्नुभएको रहेछ ।’ आफूभन्दा १२ वर्षले जेठा ‘ज्ञानमणि दाइ’ को सद्गतमा जान लाग्दा बाटाभरि महेशराजको मनमा उनीसँग बिताएका अनेकन सम्झनाहरू सजीव भएर आए ।

‘एक दिन सबै जानै पर्छ, उहाँ पनि जानुभयो,’ भारी मन लिएर साँझ घर फिरेका महेशराजले श्रद्धाका दुई शब्द चढाए, ‘तर उहाँले बिर्सन नसक्ने गुन लगाएर, ज्ञान दिएर जानुभएको छ, यही पुण्यले उहाँको सद्गती होला भन्ने विश्वास गर्छु ।’

महेशराजका पिता नयराज पन्तका शिष्य ज्ञानमणि इतिहासलाई प्रामाणिक रूपले लेख्ने पहिलो पुस्ताका औंलामा गन्न सकिने विद्वान्मध्ये एक मान्छन् अध्येताहरू । नयराजले सुरु गरेको ‘संशोधन मण्डल’ का आजीवन स्वयंसेवी सदस्य ज्ञानमणिको संस्कृत वाङ्मय र शिलालेख तथा ऐतिहासिक दस्ताबेजका भाषामा गहिरो पकड थियो । त्यही ज्ञानको मणिले ज्ञानमणिलाई देशकै उम्दा इतिहासकारका रूपमा उभ्याएको मान्छन्, इतिहास अध्येता सुजित मैनाली ।

‘अनुमानका आधारमा नभई तथ्य र प्रमाणका आधारमा इतिहास लेखनमा जीवन अर्पण गर्नुभयो,’ मैनाली भन्छन्, ‘ज्ञानका यस्ता साधक विरलै भेटिने गर्छन् ।’ उनका अनुसार एक पटक योगी नरहरि नाथले नयराज लाई ‘तिम्रो एउटा भरपर्दो चेलो पठाऊ’ भनी कुनै प्रयोजनका लागि मद्दत मागेछन् । नयराजले ज्ञानमणिलाई पठाइदिए । पहिलो भेटमै ज्ञानमणिले नरहरि नाथलाई संस्कृतको एउटा श्लोक गाएर सुनाएछन् ।

‘ज्ञानमणिको संस्कृतमा गहिरो पकड देखेर खुसी भई नरहरि नाथले केही सिक्का दाम उपहार दिएछन् तर योगीहरूबाट दान लिन हुन्न भनेर उनले मानेनन् रे,’ ज्ञानमणिबारे पढेको कुरो मैनालीले कान्तिपुरलाई सुनाए, ‘नरहरिले तिम्रो ज्ञानको कदर गरेर दिएको हो, लिन हुन्छ, लिऊ भनेपछि ज्ञानमणिले त्यो सिक्का स्वीकार गरेका रहेछन् ।’

भोजपुरमा जन्मिएका ज्ञानमणिका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका पुस्तक चर्चित छन् । ‘तर, उहाँ नेपालको राजनीतिक इतिहासको अन्वेषणमा मात्रै सीमित हुनुभएन,’ महेशराज भन्छन्, ‘नेपाली साहित्यमा पनि उहाँको महत्त्वपूर्ण योगदान रहेको छ ।’ नेपाली साहित्यको इतिहास खोजी गर्ने क्रममा ज्ञानमणिले पण्डित उदयानन्द अर्जेलको महाकाव्य ‘पृथ्वीन्द्रोदय’ १५ वर्ष लगाएर सम्पादन गरेको उनी बताउँछन् । त्यस्तै उनले ‘भैरवानन्द’ नाटकको सम्पादन र राजगुरु हेमराज शर्माको जीवनी पनि लेखेका थिए ।

अन्तिम अवस्थासम्म पनि इतिहास र साहित्यको अन्वेषण र खोजमा तल्लीन ज्ञानमणि नयराजले १९९७ सालमा स्थापना गरेको संशोधन मण्डल पाठशालाबाट दीक्षित थिए । त्यसपछि उनी आजीवन नेपाली इतिहासको शुद्धता कायम गर्न अटुट रूपमा लागिरहे । संशोधन मण्डलले अलग्गै पाठशाला खोलेको थियो । त्यसको काम थियो, नेपालको इतिहास खोजी गर्नु । त्यहाँ संस्कृत भाषाको पढाइ हुन्थ्यो । माथिल्लो कक्षाकाले तल्लो कक्षाका विद्यार्थीलाई पढाउनुपर्थ्यो । धनवज्र बज्राचार्य र ज्ञानमणिसहित कक्षामा ४० जना विद्यार्थी थिए । महेशराज २००७ सालमा त्यहाँ पढ्न जाँदा ज्ञानमणि इतिहासको सोधकर्ता भइसकेका थिए ।

२००९ मा इतिहास संशोधन सुरु भयो र यो एक सिर्जनशील आन्दोलनकै रूपमा अघि बढ्यो । त्यसै वर्ष ज्ञानमणिले धनवज्र बज्राचार्य र भोलानाथ पौडेलसँग संयुक्त रूपले अनुसन्धान गरेर एक पुस्तिका प्रकाशन गरे, ‘कौटिल्लीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या’ ।

‘२५ सय वर्षअघि जन्मेका कौटिल्यको दर्शनका आधारमा हेर्दा राणा शासन कहाँ असफल भयो र किन भयो भन्नेबारे खोजबिन गर्ने त्यो काम आफैंमा मौलिक र विस्मयकारी थियो,’ महेशराज भन्छन्, ‘युगयुगको ज्ञानलाई वर्तमान पलसँग दाँज्ने क्षमता र दृष्टिकोण उहाँहरूमा नभएको भए यस्तो विश्लेषण नै गर्न सकिन्नथ्यो ।’

ज्ञानमणिको चर्चितमध्येको ‘नेपाल निरुक्त’ भन्ने पुस्तकमा ‘नीप’ भन्ने जाति बसोबास गर्ने हुनाले यस क्षेत्रको नाम नेपाल रहन गयो भन्ने दाबी छ र त्यसलाई पुष्टि गर्न संस्कृत साहित्यका अनेकन श्लोकहरूको उद्धृत पनि गरेका छन् । सिनासमा उपप्राध्यापक भएर इतिहासको अध्ययन अनुसन्धानमा जुटेका उनी केही समय राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पनि भए । महेशराजका अनुसार त्रिभुवन विश्वविद्यालयको ‘नेपाल तथा एसियाली अध्ययन केन्द्र’ (सिनास) मा काम गर्दा १३ वटा पाण्डुलिपि तयार पारेका थिए उनले । त्यसमध्ये दुई वटा छापिए, अरू हराए ।

महेशराजका अनुसार ज्ञानमणिले २०१२ पढाइ सिध्याएर जन्मथलो भोजपुर गई संशोधन मण्डलकै ढाँचाको अर्को पाठशाला खोले । ‘वर्तमान कालमा चलेको शिक्षा पद्धतिमा सय नम्बरको प्रश्नपत्र हुन्छ र ३३ प्रतिशत अंक ल्याउने उत्तीर्ण हुन्छ,’ महेशराज भन्छन्, ‘यो भनेको त्रिखण्डी ज्ञान हो, हामीचाहिँ ज्ञान ३३ प्रतिशत भएर पुग्दैन, शतप्रतिशतै हुनुपर्छ भनेर सबै विषय पूराका पूरा जान्नुपर्छ भन्ने मान्यता राख्थ्यौं ।’ त्यही मान्यताका साथ नेपाल आफैंले खोलेको पाठशालामा २०३१ सालसम्म पढाएर भोजपुरमै बसेका थिए ज्ञानमणि । त्यसपछि काठमाडौं आएका उनी हातले लेखेको किताबको माइक्रो फिल्म उतार्ने एक जर्मन परियोजनामा काम गर्दै गरेका महेशराजका साथ संलग्न भए ।

‘नेपालको राजनीतिक इतिहासको नयाँ अध्यायको अनुसन्धान गर्नुभएको ज्ञानमणिले अथाह ज्ञान छाडेर जानुभएको छ, उहाँलाई यही ज्ञानको कसीमा सम्झिनुपर्छ,’ महेशराज भन्छन्, ‘नेपालको इतिहासमा जति सत्य उद्घाटित भएको छ, त्यो ८० प्रतिशतजति संशोधन मण्डलको कामबाट भएको छ, यसमा ज्ञानमणि दाइको पनि ठूलो मिहिनेत र अध्ययन परेको छ ।’

प्रकाशित : जेष्ठ २, २०८१ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x