कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

सनराइज सहकारीका कर्मचारीद्वारा ‘आत्महत्या’

२०७८ मा उत्कृष्ट कर्मचारी बनेका निर्मल २०७९ भदौपछि उक्त सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि तनावमा थिए

चितवन — भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय निर्मलकुमार महतोले बिहीबार आत्महत्या गरेका छन् । महतोको शव उनकै कोठामा फेला परेको चितवन प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले बताए ।

सनराइज सहकारीका कर्मचारीद्वारा ‘आत्महत्या’

‘सुसाइट नोट त छैन तर उनले प्रयोग गर्ने दुईवटा मोबाइलको प्राविधिक अनुसन्धान गर्नेछौं । सबै खाले अनुसन्धान अगाडि बढ्दै जाँदा तथ्य कुरा खुल्ला,’ रिजालले भने ।

मृतक महतो स्थानीय सनराइज सहकारीका कर्मचारी थिए । बरौजीका गौरीराम महतोका दुईमध्ये कान्छो छोरा थिए, निर्मल । बाबु पटिहानी क्षेत्रमा नाम चलेका क्याटरिङ व्यवसायी भए पनि निर्मल भने सहकारीका जागिरे थिए । गौरीरामले दुखेसो पोखे, ‘बाहिर जागिर खानुपर्ने थिएन । तर चिनजानका मान्छेले सहकारीमा राम्रो कमाइ हुन्छ भनेपछि उता लाग्यो ।’

२०७८ मा उत्कृष्ट कर्मचारी भएका निर्मल २०७९ भदौपछि सहकारीले बचतकर्तालाई बचत फिर्ता दिन नसक्ने भएपछि समस्यामा पर्न थालेका थिए । सहकारी समस्यामा परेसँगै बचतकर्ताहरू आन्दोलित हुन थालेपछि उनी चिन्तामा थिए । किनकि उनले बुबाको चिनजान भजाएर धेरैलाई सहकारीको बचतकर्ता बनाएका थिए । सहकारी डुबेपछि निर्मलले क्याटरिङको काममा बुबालाई सघाउँदै आएका थिए । तर सहकारीको बचत रकमबारे सोधखोज गर्दै पटकपटक विभिन्न व्यक्तिहरू घरमै आउन थालेपछि निर्मल थप तनावमा परे । गौरीरामले भने, ‘मैले ऊ सामान्य कर्मचारी मात्र हो, तपाईंहरूको बचत जम्मा नगरेर हिनामिना गरेको छ भने भन्नुस्, नत्र संस्थाको कुरा उसलाई भनेर के हुन्छ र ? मुख्य मान्छेलाई नै दबाब दिनुहोस् भनेर कति जनालाई सम्झाएर पनि पठाएको थिएँ ।’

उनी सहकारीकै तनावले छोराको मृत्यु भएकामा आशंका गर्छन् । भन्छन्, ‘मान्छेहरू आउँथे, फोन पनि गर्दथे । त्यसैले यो घटनाको राम्रोसँग छानबिन गरेर सत्य कुरा खुलाउनुपर्‍यो ।’ मृतक निर्मलकी दिदी विदेशमा रहेकाले परिवारका सदस्यले दिदी नआउन्जेलसम्मका लागि भरतपुर सरकारी अस्पतालको शव गृहमा शव राखेका छन् ।

तत्कालीन भरतपुर नगरपालिका–१२ मा कार्यालय रहने गरेर ०६६ भदौ ११ मा दर्ता भएको सनराइज बचत तथा ऋण सहकारी संस्था बर्दिया गुलरिया–५ का नगेन्द्रबहादुर रिमाल अध्यक्ष रहने गरी भरतपुर महानगरपालिका–३ लायन्स चोकमा कार्यालय राखेर ०७४ देखि सञ्चालन हुँदै आएको थियो । संस्थाले अन्य दुई ठाउँ चनौली र विकास चोकमा पनि सेवा केन्द्र खोलेको थियो । सहकारीका एक बचतकर्ता भरतपुर–३ का तुलसी सापकोटाले सुनाए, ‘०७९ भदौदेखि संस्थाले बचत फिर्ता गर्न आनाकानी गर्न थाल्यो । समस्या बढ्दै गएपछि सोही वर्षको कात्तिक ७ देखि सहकारीको सबै कार्यालय बन्द भए ।’ उनले बचतकर्ताले सोही बेलादेखि छानबिनका लागि विभिन्न निकायमा धाएको तर कारबाही अगाडि नबढेको गुनासो सुनाए ।


सनराइज त्यही समूहले खोलेको सहकारी हो, जुन समूहले नवलपुरको कावासोतीमा छिपछिपे सहकारी र बर्दियामा नमस्ते बचत तथा ऋण सहकारी संस्था खोलेको थियो । तीनै जिल्लामा खोलिएका सहकारीमा योगेन्द्र पाण्डे, नरेन्द्र रिजाल र सञ्जीव महतो लगायतको समूह छन् । यो समूहले बर्दियामा सञ्चालन गरेको नमस्ते बचत तथा ऋण सहकारी संस्थामा एक समय राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिकतर्फकी संघीय सांसद गीता बस्नेत सञ्चालक समिति सदस्य थिइन् । तीन जिल्लाका तीन सहकारीबाट बस्नेत सञ्चालक रहेको बर्दियाको गुलरियास्थित कृष्णसार रिसोर्टमा बिनाधितो झन्डै १५ करोड पेस्की तथा फर्जी कागज बनाई लगानी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । सहकारी ठगीको यही मुद्दामा सांसद बस्नेतविरुद्ध जिल्ला अदालत नवलपुरले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर उनी फरार छिन् ।

सहकारीका १ सय २५ जना बचतकर्ताले आफूले फिर्ता नपाएको रकम उल्लेख गरेर चितवन जिल्ला प्रहरीमा उजुरी दर्ता गराएपछि सहकारीका अध्यक्ष रिमालसहित चार जनाविरुद्ध गत माघ ५ मा जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो । बर्दिया गुलरिया–२ घर भएका संस्थाका उपाध्यक्ष सन्तोषी केसी, सोही ठाउँका सचिव योगेन्द्र पाण्डे र बर्दिया राजापुर घर भएका संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि लामो समयदेखि उनीहरू फरार रहँदै आएका थिए । चितवन प्रहरीले समाउन नसकेका अध्यक्ष रिमाल र सचिव पाण्डेलाई छिपछिपे सहकारी प्रकरणमा नवलपरासी प्रहरीले क्रमशः चैत २५ र चैत २२ गते पक्राउ गरेको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले आफूहरूले पक्राउ पुर्जी जारी गरेका मुख्य आरोपीहरू नवलपरासी कावासोतीमा समातिएको र उताको अनुसन्धान सकिएपछि बयानका लागि चितवन ल्याइने बताए । भने, ‘बयान नभएको र अनुसन्धान नसकिएको हुँदा कति रकम हिनामिना भएका हो अझै प्रस्ट हुन सकेको छैन ।’ चितवन प्रहरीले गत वैशाख ४ मा सहकारीको हिसाब विवरण खुल्ने कागजपत्र र कम्प्युटर सफ्टवेयर नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : वैशाख २९, २०८१ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x