३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कानुन निर्माणको रफ्तार बढाउनु पर्ने आवश्यकता छ : अध्यक्ष दाहाल

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले कानुन निर्माणको काम जुन गतिमा हुनुपर्ने हो त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

कानुन निर्माणको रफ्तार बढाउनु पर्ने आवश्यकता छ : अध्यक्ष दाहाल

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले संघीय संसद्बाट कानुन निर्माणमा ढिलाइ भएको बताएका हुन् ।

संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको सुरुवात भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहनु ठिक नभएको बताएका हुन् । 'अहिले कानुन निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,' अध्यक्ष दाहालले भने, 'नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन । यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद् गम्भीर हुनु जरुरी छ।'

समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिए ।

सांसदहरूका लागि गरिएको अभिमुखीकरणमा विधेयक निर्माण प्रकृया, विधेयकको संसदीय चरण, संशोधन प्रकृया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरूको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए । राष्ट्रिय सभाका समितिहरु र निगरानी सम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, संघीयता, संघ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय संघीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले प्रस्तुति प्रस्तुत गरेका थिए ।

संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लैंगिक तथा समावेशी मुद्दामा संसद् र संसदीय समितिहरूले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले धारणा राखेकी थिइन् ।

त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याल र संघीय संसद् सचिवालय, सांगठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिएका छन् ।

प्रकाशित : वैशाख ३, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?