निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छन्, क्रसपार्टी छलफल गरौँ : महामन्त्री थापा

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकको डिजाइन नै गलत भएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विधेयकलाई सबै दलहरुले मिलेर राम्रो बनाउन पहल लिनुपर्नेमा जोड दिए ।

निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छन्, क्रसपार्टी छलफल गरौँ : महामन्त्री थापा

'यो पक्ष वा त्यो पक्ष नभनी विधेयकलाई समितिमा लगेर छलफल गर्न सबै राजनीतिक दलहरु अघि बढनुपर्छ,' उनले भने, 'सरकारले प्रस्ताव गरेको विधेयक समस्याग्रस्त छ । विधेयकको उद्देश्यहरु ठिकै भएपनि त्यसलाई बोक्ने गरी विधेयकका अन्य व्यवस्थाहरु भने छैनन् ।'

उनले सार्वजनिक प्रशासनलाई सुधार गर्न र विधेयकलाई अन्तिम रुप दिन थुप्रै संशोधनहरु आवश्यक रहेको भन्दै त्यसका लागि क्रसपार्टी छलफलको बातावरण बनाएर अघि बढ्नुपर्नेब ताए । ‘कर्मचारी सेवा सम्बन्धी कानूनलाई संघीयता अनुरुप संचालन गर्नका लागि संघीय निजामती ऐन ल्याइएको छ । म यसको स्वागत गर्छु । हाम्रो प्रशासन प्रणालीलाई सुव्यवस्थित र नतिजामुखी बनाउनका लागि, पेशागत रुपमा सक्षम उच्च मनोबल र नैतिक रुपले उत्तरदायी बनाउने यसको उद्देश्य रहेको छ । उद्देश्य ठिक छ,' उनले भने, 'तर हामीलाई मध्यम आय भएको समुन्नत देश बनाउनु पर्नेछ । हाम्रो यो आकांक्षा पूरा गर्नका लागि हाम्रो निजामती सेवालाई त्यसअनुरुप आधुनिक बनाउन अति आवश्यक छ ।'

महामन्त्री थापाले निजामती सेवामा कस्ता व्यक्तिहरुलाई प्रवेश गराउने भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताए । 'प्राज्ञिक हिसावले काबिल, नैतिक हिसावले प्रतिवद्ध, सिक्ने चाहने नागरिकहरुलाई हामीले कसरी ल्याउने ? अहिले भएको सेवा सुविधा, मौद्रिक सेवा सुविधा मात्रै होइन, गैर मौद्रिक सेवा सुविधा यो सबै कुराहरुबाट कसरी यो सबैभन्दा आकर्षित क्षेत्र बनाउन सकिन्छ ? भित्र्याई सकेपछि टिकाउने कसरी ? यहाँ भित्र न्यायको व्यवस्था, सरुवाबढुवा सबैलाई अनुमानयोग्य बनाउने कुरा । स्थानीय तहमा आएका कर्मचारीहरुलाई प्रदेश, संघका जानका निम्ति ढोका खोलिएको जस्तो गरीकन करियरलाई सुनिश्चित गर्ने कुरा, दण्ड र पुरस्कारको व्यवस्था, र केवल उमेरको कुरा मात्र होइन, कामको आधारमा पुरस्कार प्राप्त गर्न सक्ने व्यवस्था छ,' उनले भने ।

उनले कर्मचारीहरुको क्षमता नहुँदै गर्दाखेरि ७० अर्बको नेपालको सूचना प्रविधिको उद्योग धरासायी हुने अवस्थामा पुगेको बताए । महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्नेमा समेत जोड दिए ।

प्रकाशित : चैत्र २१, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?