१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधिसभाबाट पनि पारित

काठमाडौँ — प्रतिनिधिसभाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित गरेको छ । राष्ट्रिय सभामा २०७७ असार २८ मा दर्ता भएको विधेयकलाई प्रतिनिधिसभाको बुधबारको बैठकले पारित गरेको हो । यो विधेयकलाई राष्ट्रिय सभाले यसअघि नै पारित गरिसकेको थियो । 

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधिसभाबाट पनि पारित

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला साहले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा राखेकी थिइन् । विधेयक प्रतिनिधिसभाको बहुमतले पारित भएको हो ।

विधेयकले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य पदार्थको स्वच्छता गुणस्तर निर्धारण गर्ने कानुनी व्यवस्था गरेको छ । मन्त्री साहले नेपाली युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने नीति अगाडि सारेको, आयात प्रतिस्थापन र निर्यात प्रबर्धन गर्ने नीति लिएकाले यो विधेयक कार्यान्वयनमा आएपछि नेपालको कृषि क्षेत्रमा राम्रो प्रभाव पर्ने बताइन् ।

विधेयकमा खाद्यवस्तुको अनुगमनको कमी आएको कुरालाई सम्बोधन गर्ने मन्त्री साहको भनाइ थियो । विधेयकले खाद्यवस्तुको अनुगमनमा कानुनी कडाइको व्यवस्था गरेको बताउँदै मन्त्री साहले विधेयकमा राखिएका कानुनी प्रावधान कार्यान्वयनमा लैजान सबैले सहयोग गर्नुपर्ने बताइन् । पारित भएको विधेयकमा खाद्यान्नमा हुने कालोबजारी रोक्नका लागि पनि कानुनी व्यवस्था गरिएको एवं नेपालका रैथाने उत्पादनलाई बजार व्यवस्थापन गर्ने प्रावधान राखिएको उनले जानकारी दिइन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको ९१ औँ दिनदेखि प्रारम्भ हुने जानकारी दिँदै विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

प्रकाशित : चैत्र २१, २०८० २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?