सांसदले पनि आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिनुपर्ने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सांसदले पनि आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिने सर्वदलीय सहमति गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएकोतर्फ लक्षित गर्दै त्यही मागबमोजिम सांसदहरुलाई पनि आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिने व्यवस्था गर्न प्रस्ताव गरे ।

सांसदले पनि आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिनुपर्ने सर्वदलीय सहमति गरौँ : सांसद वाग्ले

'आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन, सांसदबाट पनि राजीनामा गर्ने गरी सर्वदलीय सहमति गरौँ,' सांसद वाग्लेले भने, 'नभए प्रतिपक्षमा हुँदा हामीले पनि प्रश्न गरेका हौँ । शालिन प्रतिरोध, शालिन प्रतिवाद, संसदीय व्यवस्थामा प्रतिपक्षीको धर्म नै हो । त्यसलाई हामीले उन्नत किसिमले प्रयोग गरेकै हौँ । सम्पूर्ण प्रतिपक्षीहरुले अर्थमन्त्रीको राजीनामा माग्दाखेरि हामी संयमित भएका थियौँ । हामी रोकिएका थियौँ । हामीले भन्यौँ अर्थमन्त्रीको पहिला कुरा सुन्नुपर्छ । उहाँलाई स्पष्टिकरणको मौका दिनुपर्छ । अनाधिकृत व्यक्तिको प्रवेशद्वारा बजेट निर्माण गरियो भन्दाखेरि अर्थमन्त्रीको राजीनामा हामीले मागेका थिएनौँ ।'

उनले गृहमन्त्रीको राजीनामा मागिएको विषयमा उनको बचाउ गर्नका लागि सांसदहरुलाई पनि आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गर्न प्रस्ताव गरेका थिए । सांसद वाग्लेले अघि भने, 'आज गृहमन्त्रीले तपाईहरुले यति धेरै आक्षेप लगाउनुभएको छ यही हलभित्र । म रोष्टममा उभिएर जवाफ दिन चाहान्छु भन्दाखेरि उहाँलाई निषेध गरिएको छ, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? यो कस्तो संस्कृति हामी बसाउन खोज्दैछौँ यो असाध्यै चिन्ताजनक छ ।'

उनले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपका विषयमा संसदीय छानविन समिति बनाएर छानविन गर्नका लागि समेत आफूहरुको कुनै आपत्ति नभएको बताए । तर त्यसबारे गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिएर उनका कुरा सुन्नु आवश्यक रहेको बताए ।

प्रकाशित : चैत्र २१, २०८० १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?