निजामती सेवा विधेयकलाई जनताको पक्षमा बनाउने गरी छलफल गरौँ : प्रमुख सचेतक परियार

काठमाडौँ — सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संघीय निजामती सेवा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो विधेयकलाई जनताको पक्षमा ल्याउन व्यापक छलफलको आवश्यकता रहेको बताए । 

निजामती सेवा विधेयकलाई जनताको पक्षमा बनाउने गरी छलफल गरौँ : प्रमुख सचेतक परियार

विधेयकले लामो संघर्षबाट स्थापित गरेको राजनीतिक व्यवस्था, संघीयता र समावेशितालाई साँच्चै नै आत्मासात गर्नुपर्ने उनको भनाइ छ । प्रमुख सचेतक परियारले देशको तमाम विविधता सांस्कृतिक, धार्मिक, जातीय सबै विविधतालाई सम्बोधन हुने गरी सो विधेयक बनाउनुपर्ने बताए ।

उनले निजामती सेवा विधेयकलाई थप समावेशी र समानताको पक्षमा ल्याउनुपर्ने बताए । ‘क्षमता इतिहासको हुन्छ । क्षमता समुदायको हुन्छ । क्षमता विभिन्न संरचनाबाट पाएको लाभांशको आधारमा हुन्छ । तसर्थ, क्षमताको मात्रै कुरा गरेर स्थायी सरकार भन्ने निजामती सेवामा एकल जात, एकल भाषी, एकल लिंगको वर्चस्व कायम राख्न सकिदैन,' प्रमुख सचेतक परियारले भने, 'त्यहाँ महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्दै जानुपर्छ । १४ प्रतिशतको पनि समुचित प्रतिनिधित्व हुनुपर्छ ।'

प्रमुख सचेतक परियारले संविधान र कानूनले व्यवस्था गरेपनि त्यसलाई व्यवहारमा उतार्न नसके समस्या कहिल्यै पनि समाधान नहुने बताए । 'निजामती सेवा ऐेन एउटा पार्टीको मात्रै सवाल होइन, यो सबै पार्टीको साझा सरोकारको विषय नै हो । यहाँ माननीयज्यूहरुबाट क्रसपार्टी छलफलको कुरा आयो । हामीले त्यो पनि गर्न सक्छौँ,' उनले भने ।

उनले सबै पार्टीहरुले मिलेर सो विधेयकको सैद्धान्तिक पक्षमा काम गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र २१, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?