कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध गर्नुपर्छ : एमाले सचिव भट्टराई

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछि विदेशी कम्पनीमा काम गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् । 

कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध गर्नुपर्छ : एमाले सचिव भट्टराई

देशको गोपनियता बाहिर जाने भएकाले पनि माथिल्लो तहमा पुगेका कर्मचारीहरुलाई विदेशी कम्पनीमा काम गर्न निषेध हुने कानूनी व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सचिव भट्टराईले दलीय आग्रह भन्दा माथि उठेर सो विधेयकको धेरै विषयमा छलफल गरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए । उनले विधेयकमा माथिल्लो तहका कर्मचारीहरुले तत्काल संवैधानिक अंगमा काम गर्न पाउने व्यवस्था गरिएकोमा आपत्ति जनाए ।

‘यो विधेयकमा धेरै विषयमा छलफल गर्नुपर्ने आवश्यकता छ । यसमा सिंगो व्यवस्थापिका संसद्ले कुनै राजनीतिक दलको आग्रह भन्दा माथि उठेर नेपालको स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनलाई कसरी व्यवस्थित बनाउने, कसरी यसलाई पारदर्शी बनाउने, कसरी यसलाई जवाफदेही बनाउने र गुणात्मक क्षमतायोग्य बनाउने ? यी विषयमा केन्द्रित भएर यो विधेयकमाथि छलफल होस भन्ने म सभामुख महोदयमार्फत अनुरोध गर्न चाहन्छु । माथिल्लो तहको कुनै पनि कर्मचारीलाई अवकाश पछि विदेशी कम्पनीमा काम गर्न निषेध गर्नुपर्छ । त्यसले गोपनियता भंग गर्ने डर हुन्छ,' उनले भने ।

सचिव भट्टराईले निजामती कर्मचारीमा प्रतिष्पर्धी क्षमताको विकास हुने खालको कानूनी व्यवस्था पनि गर्नुपर्ने बताए ।

प्रकाशित : चैत्र २१, २०८० १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?