१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

रामहरि श्रेष्ठ हत्या प्रकरणमा कालीबहादुर खामको के थियो भूमिका ?

चितवन — शान्ति सम्झौतापछि अस्थायी शिविरमा बसेका माओवादी लडाकुहरुको चितवन शक्तिखोरमा रहेको तेस्रो डिभिजन शिविरका तत्कालीन कमाण्डर हुन्- कालीबहादुर खाम 'विविध' ।

रामहरि श्रेष्ठ हत्या प्रकरणमा कालीबहादुर खामको के थियो भूमिका ?

सो शिविरमा कोटेश्वरबाट ल्याएका एकजना व्यपारी रामहरि श्रेष्ठको हत्या भएपछि ०६५ सालको जेठमा शिविरका तत्कालीन ब्रिगेड कमाण्डर 'जिवित' भनिने गोविन्दबहादुर बटला आफैँ चितवन प्रहरीमा हाजिर भए । उनीविरुद्ध मुद्दा चल्यो र पाएको सजाय पुरा गरेर जेलबाट उहिल्यै रिहा पनि भए । तर मुद्दा चले पनि खाम भने घटना भएदेखि नै फरार थिए ।

रामहरि श्रेष्ठलाई २०६५ साल वैशाख १५ गते राती काटेश्वरबाट शक्तिखोर ल्याइएको थियो । श्रेष्ठको घरमा माओवादी सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । सो घरबाट १५ लाख रुपैयाँभन्दा बढी नगद र हतियार हराएको विषयमा छानबिन गर्नका लागि रामहरि श्रेष्ठलाई शक्तिखोर ल्याएको बटलाले बताउँथे ।

शिविरभित्रै वैशाखको २७ गते श्रेष्ठको मृत्यु भएको थियो । पोष्टमार्टम रिपोर्टकाअनुसार उनको मृत्यु कुटपिटका कारण भएको थियो । लडाकु शिविरभित्रै कुटपिटका कारण मृत्यु भएपछि श्रेष्ठकी श्रीमती रमिलाले बटलासहित तेस्रो डिभिजनका तत्कालीन कमाण्डर विविध भनिने कालीबहादुर खाम र लडाकुहरु केशव अधिकारी रघु तथा गंगाबहादुर थापा एटमविरुद्ध मुद्दा दिएकी थिइन् ।

बटला, अधिकारी र थापालाई सर्वस्वसहित जन्म कैदको सजाय माग गरिएको थियो । त्यस्तै तेस्रो डिभिजनका तत्कालीन कमाण्डर खामको आदेशमा सो घटना भएको हुँदा उनलाई १० देखि १५ वर्षसम्मको कैद सजाय माग गरेर मुद्दा दायर भएको थियो । अधिकतम सजाय माग गरेपनि प्रमाण नपुग्ने देखिएको भन्दै चितवन जिल्ला अदालतले ६८ सालको जेठ १७ मा बटलालाई तीन वर्ष मात्रै कैद हुने फैसला गरेको थियो ।

सो मुद्दाका अन्य अभियुक्तहरु कालीबहादुर खाम, केशव अधिकारी र गंगबहादुर थापा हालसम्म फरार रहेका छन् । फरार अभियुक्तको हकमा प्रकृया पुर्‍याएर पछि फैसला हुने गरी मुद्दा मुल्तबीमा राखिएको थियो । त्यो बेला जिल्ला न्यायाधीस भोजराज अधिकारीले फैसला सुनाएका थिए । श्रेष्ठसहित केशव र गंगामाथि चोरीको अभियोग लागेको र छानबिनको लागि एउटै कोठामा राखेका बेलामा श्रेष्ठमाथि केशव र गंगाले कुटपिट गरेको बटलाको बयान थियो ।

कुटपिटबाट घाइते भएका श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएपछि गंगा र केशवको करले श्रेष्ठको लास त्रिशुलीमा फालेको बटलाले बताएका थिए । बटलाको बयानभन्दा विपरित श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको तथ्य सार्वजनिक भएको थियो । वैशाख २७ गते मरेर त्रिशुलीमा फालेको भनिएको श्रेष्ठको लाश जेठ १२ गते फालिएको भनिएको ठाउँभन्दा केही तल जुगेडी त्रिशुलीमै फेला परेको थियो ।

बटला ६५ सालको जेठ ३ गते आफैं प्रहरीमा उपस्थित भएका थिए । केशव र गंगा लास फ्याँके लगत्तै फरार भएको बटलाको बयान थियो । आरोपित डिभिजन कमाण्डर खाम माओवादी केन्द्रीय सदस्य समेत थिए । घटनापछि खामलाई पार्टीले निलम्बन गरेको थियो । तर हेटौंडामा भएको माओवादी पार्टीको महाधिवेशनले उनलाई फेरि केन्द्रीय सदस्य चयन गरेको थियो । खाम पक्राउ परेको सूचना प्राप्त भएको र उनकाविरुद्ध मुल्तबीमा रहेको एउटा ज्यान मुद्दा चितवनमा पनि रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भावेश रिमालले बताए ।

प्रकाशित : चैत्र २०, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?