सर्वोच्चबाट प्राज्ञिक कलमको बिदाइ

वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा चार दशक लामो न्यायिक सेवालाई विश्राम दिँदै बिहीबारदेखि अवकाशमा

फाल्गुन २५, २०८०

घनश्याम खड्का

Farewell to the academic pen from the Supreme

काठमाडौँ — जागिरे जीवनको एउटा अनिवार्य नियति हो, अवकाश । ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने न्यायाधीशलाई कर्मचारी र सहकर्मी न्यायाधीशले माला र खादा लगाएर  घर पठाउने सर्वोच्चको रीत छ ।  यही चलन बिहीबार भने फरक भावमा देखा पर्‍यो । चार दशक लामो न्यायिक सेवालाई विश्राम दिएर अवकाश लिँदै गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई बिदाइ गर्दा प्रधानन्यायाधीश र उपस्थित सबका आँखा रसाए । 

खतिवडाले फाँटफाँटमा पुगेर कर्मचारीलाई ‘ल है’ भन्दा दिनभरिजसो नै सर्वोच्च परिसरमा निराशा छाएको थियो । साँझ ४ बजे उनको बिदाइमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बोल्दै गर्दा उनको गला अवरुद्ध भयो र आँसु खस्यो । भित्तातिर फर्केर कर्मचारीहरूले आँसु लुकाए । बृहत् पूर्ण इजलास बसेजस्तो प्रधानन्यायाधीशसहित ६ जना न्यायाधीशले खतिवडालाई बिदाइ गर्न पर्दाको दुःखमनाउ गर्दै गह्रौं भाव बिसाए । ‘यति धेरै श्रीमान्हरूले यति लामो समय लिएर कसैको बिदाइ कहिल्यै गरेका थिएनन्,’ सर्वोच्चका एक अधिकारीले भने, ‘ईश्वर श्रीमान्को सम्मानमा आज सर्वोच्च नै भावुक भयो ।’

यो यही सर्वोच्च अदालत थियो जहाँ पूर्वप्रधानन्यायाधीशहरू चोलेन्द्रशमशेर जबरा र गोपाल पराजुलीको बिदाइमा औपचारिक  कार्यक्रमसमेत हुन सकेन । तर, निर्भीक र प्राज्ञिक न्यायाधीश खतिवडालाई भने बहालवाला र पूर्व सबै सहकर्मीले सम्मान गर्छन् । 

‘पद ठूलो होइन, आचरण ठूलो हो,’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, ‘निष्ठामा, आचरणमा र दक्षतामा उहाँलाई जित्ने मानिस सायद हाम्रो न्यायालयमा छैन, कम्तीमा मैले त देखेकी छैन ।’ 

आफू प्रधानन्यायाधीश हुँदा कतिपय अलमलमा परेको विषयमा खतिवडासँग परामर्श गर्ने गरेको र सकस परेका अप्ठ्यारा मुद्दाहरूमा अरूको भर नभएपछि उनैलाई बेन्चमा राख्ने गरेको सम्झँदै कार्की थप्छिन्, ‘न्यायमा उहाँबाट तलमाथि होला भन्ने कहिल्यै सोच्न परेन, उहाँ न्यायालयको एक साँचो रत्न हो ।’ 

पूर्वप्रधानन्यायाधीश कार्कीको भनाइसँग अहिलेका प्रधानन्यायाधीश श्रेष्ठ पनि सहमत छन् । ‘हो, म भावुक भएँ आज,’ ४० वर्षदेखिका दौंतरीसमेत रहेका खतिवडालाई बिदाइ गर्दा शब्दहरू हराएको स्विकार्दै उनले भने, ‘किनभने, मैले एउटा भरपर्दो सहकर्मीलाई इजलासमा देख्न पाउने छैन अब, यसले पीडा त दिन्छ नै ।’ 

उदयपुरबाट बसाइँ सरेर आएका बाबुबाजेले सुनसरीको बलाहमा बनाएको घरमा जन्मे हुर्केका खतिवडा अब इजलासमा हुने छैनन् भन्ने भएपछि मन गह्रौं भएको प्रधानन्यायाधीश श्रेष्ठ बताउँछन् । ‘निष्ठाको त पुञ्ज नै हुन् उनी,’ उनी भन्छन्, ‘यस्तो साथी बिदा भएर घर जाँदा कस्तो–कस्तो हुनेरहेछ ।’

सबसँग बिदा भइसकेपछि खतिवडा न्यायाधीश आनन्दमोहन भट्टराईको च्याम्बरमा पसे । अनि ठट्टाको भावमा भने, ‘यो डाक्टरलाई अब कसले गाली गर्ला, लौ ?’ भट्टराई र खतिवडा कानुनको स्नातक पढ्दाका सहपाठी हुन् भने प्रधानन्यायाधीश श्रेष्ठ उनीहरूभन्दा एक वर्षले सिनियर साथी । विद्यार्थी कालदेखिकै उनीहरूको मित्रता सर्वोच्चसम्म आइपुग्दा पनि उत्तिकै हुनाले न्यायिक वृत्तमा उनीहरूलाई ‘त्रिलाल’ भन्नेहरू धेरै छन् । त्यसमा पनि, खतिवडा र आनन्दमोहनको जागिरे जीवनमा महत्त्वपूर्ण दिनहरू सधैं एउटै भए । उनीहरू दुवैले २०३८ सालमा कानुनमा स्नातक गरे, २०३९ चैतमा न्याय सेवाको अधिकृत भए । 

‘फरक के भने, ऊ सरकारी वकिल भयो, म इजलास अधिकृत भएँ,’ खतिवडालाई बिदाइ गरेर भारी मनले घर फिरेका भट्टराईले सुनाए, ‘हामी सहायक सचिव र उपसचिव सँगै भयौं, जिल्ला न्यायाधीशमा आठ महिनाले ऊ अघि नियुक्त भए पनि पुनरावेदन र सर्वोच्चमा एकै पटक पदभार सम्हाल्यौं, यत्ति हो, हाम्रो बिदाइ सँगै हुन सकेन ।’ 

जन्म मिति फरक भएकाले खतिवडाले बिहीबार अवकाश पाए, जेठको मसान्तमा भट्टराईले अवकाश पाउनेछन् । ‘न्यायाधीश भन्दैमा हुँदैन, कोही न्यायालयका भार हुन्छन् र कोहीचाहिँ सम्पत्ति,’ आनन्दमोहन भन्छन्, ‘ईश्वरचाहिँ शतप्रतिशत सम्पत्ति हो जो जानुको पूर्ति फेरि होला, नहोला, भन्न सक्दिनँ ।’

पाँच महिनामा दोस्रो पटक विघटन भएको संसद्मा फैसला लेख्दा होस् कि रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको मुद्दा फैसला गर्दा होस्, ईश्वर खतिवडाको कलम सधैं नै निर्भीक रूपले संविधानको रक्षार्थ उभिएको देख्दा एक साथीका रूपमा गर्व लाग्ने गरेको भट्टराई बताउँछन् । सिद्धान्तमा स्पष्टता, त्यसलाई भाषा मिलाएर लेख्न सक्ने सिद्धहस्त कला र निर्भीक रूपले सधैं देखिने निष्पक्षताले खतिवडालाई एक असाधारण न्यायाधीशका रूपमा समकालीन न्यायिक वृत्तमा उभ्याएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । 

सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने हुनाले कर्मचारीहरूमा उनको छवि एक खरो न्यायाधीशका रूपमा थियो । ‘उहाँ जति खरो स्वभावको हुनुहुन्थ्यो, त्यति नै चखिलो उहाँको कलम पनि थियो,’ सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरे भन्छन्, ‘अवकाशसँगै फैसला लेख्ने त्यो निर्भीक कलम बन्द भएको छ जसको अभाव न्यायालयमा कसले, कहिले पूर्ति गर्छ, भन्न सकिन्न ।’ 

खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा बिथोलिएको न्यायालयको लय पराजुली र चोलेन्द्रका पालामा आइपुग्दा सम्हाल्न नसक्ने अवस्थामा पुगेको थियो । त्यसलाई ट्र्याकमा ल्याउन ‘त्रिलाल’ हरूको भूमिकाले ठूलो काम गरेको थियो । ‘चोलेन्द्रले बेन्च छानीछानी मुद्दा पारेर नानाभाँती फैसला गरेपछि हामीहरूबीच उनको बेन्च बहिष्कार गर्ने छलफल चल्यो,’ एक न्यायाधीशले भने, ‘त्यतिबेला ईश्वर श्रीमान् अमेरिकामा हुनुहुन्थ्यो तर उहाँले बारम्बार फोन गरेर यस निर्णयमा आफ्नो पनि एक्येबद्धता भएको भन्दै अब इजलास तोक्दा गोलाप्रथा लागू गर्नुपर्ने धारणामा बल दिनुभयो ।’ परिणामतः सर्वोच्चमा गोलाप्रथा सुरु भएको दुई वर्ष बितेको छ । यी दुई वर्षमा अदालतलाई ‘बाउन्स ब्याक’ गराउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका एक थिए– उनै खतिवडा । जसले संसद् भंग सदर गराउने तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रको दाउपेचलाई सदर हुन दिएनन् । 

संसद्को पुनःस्थापना गराउन सकेकामा र चोलेन्द्रको मनोमानी पन्छाउन सफल भएका ‘त्रिलाल’ हरूको सक्रियतामा सुरु भएको गोलाप्रथाका कारण अचेल ‘बेन्च सपिङ’ हुन छाडेको छ र न्यायालय पुरानै लयमा फर्किने क्रममा छ । ‘सबभन्दा ठूलो कुरा त हामी न्यायाधीशहरूबीच कुनै फाटो छैन,’ एक न्यायाधीशले भने, ‘किनभने, प्रधानन्यायाधीशलाई हात लिएर न्यायालयमा आफ्नो हिसाबले काम गराउने राजनीतिज्ञहरूको खेल अहिले बन्द भएको छ, यसमा खतिवडा श्रीमान्को ठूलो हात छ ।’

 यसरी लयमा फर्किन लागेको न्यायालयबाट बिदाइ हुँदै गर्दा खतिवडा स्वयंले भने सन्तुष्टिको एक लामो सास फेरेका छन् । ‘म शकुन लिएर जाँदै छु,’ कान्तिपुरसँग उनले भने, ‘जे जति गरें र गर्न सकें, ती सबप्रति म खुसी छु ।’ 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully