१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भीमकुमारीको पर्खाइ

भीमकुमारीलाई श्रीमान्को मात्रै चिन्ता थिएन । सँगै रहेका कान्छा भाइ नेत्रकुमार घर्तीको पनि चिन्ता थियो । किनकि उनी पनि सम्पर्कमा थिएनन् । चार वर्षदेखि टापु देश सेसेल्समा काम गर्दै आएका लालबहादुर गत भदौमा तीनमहिने बिदामा नेपाल आएका थिए । त्यही बेला उनी दलालले देखाएको धेरै कमाउने प्रलोभनमा फसे । लाल र नेत्रले सामूहिक रूपमा एजेन्टलाई २१ लाख बुझाएर कात्तिक ३ मा उडे । मासिक तीन लाख कमाइ हुने आशा बोकेर रुस पुगेका लालबहादुरको त्यसपछि दुःखको यात्रा सुरु भयो ।

काठमाडौँ — पाँच महिनाअघि रुसी सेनामा भर्ती भएदेखि श्रीमान् लालबहादुर बुढासँग भीमकुमारीको नियमित सम्पर्क थिएन । आक्कलझुक्कल दोहोरो संवाद हुन्थ्यो । तर यस्तो संवादमा पनि नेटवर्कको कमजोरीले प्रस्ट कुरा हुन पाउँदैनथ्यो । कुनै महत्त्वपूर्ण सन्देश दिन परे लालबहादुर भ्वाइस म्यासेज छोड्थे । तिलोत्तम नगरपालिका–९, रूपन्देहीका भीमकुमारी यसैमा चित्त बुझाउँथिन् । 

भीमकुमारीको पर्खाइ

गत पुस २८ गते भीमकुमारीको मोबाइलमा २० सेकेन्डको एउटा भ्वाइस म्यासेज आयो, नचिनेको नम्बरबाट । त्यो म्यासेज पनि लालबहादुरले नै पठाएका रहेछन् । ‘हामी साला–भेना एकै ठाउँमा छौं । तालिमका लागि एक–दुई महिना युक्रेन जाँदै छौं । सबै नआत्तिकन बस्नु,’ म्यासेजमा थप भनिएको थियो, ‘यो कमान्डरको मोबाइल हो । यसमा कल नगर्नु । कमान्डरले आफ्नो मोबाइलबाट परिवारलाई म्यासेज गर्न लगाएको हो ।’ यो सन्देशपछि भीमकुमारीको श्रीमान्सँगको सम्पर्क पूरै टुट्यो ।

भीमकुमारीलाई श्रीमान्को मात्रै चिन्ता थिएन । सँगै रहेका कान्छा भाइ नेत्रकुमार घर्तीको पनि चिन्ता थियो । किनकि उनी पनि सम्पर्कमा थिएनन् । चार वर्षदेखि टापु देश सेसेल्समा काम गर्दै आएका लालबहादुर गत भदौमा तीनमहिने बिदामा नेपाल आएका थिए । त्यही बेला उनी दलालले देखाएको धेरै कमाउने प्रलोभनमा फसे । लाल र नेत्रले सामूहिक रूपमा एजेन्टलाई २१ लाख बुझाएर कात्तिक ३ मा उडे । मासिक तीन लाख कमाइ हुने आशा बोकेर रुस पुगेका लालबहादुरको त्यसपछि दुःखको यात्रा सुरु भयो । उनको दुःखसँगै चार छोराछोरी र भीमकुमारीको छटपटी पनि सुरु भयो । भीमकुमारीले सुनाइन्, ‘मलाई त रुसबारे केही थाहा थिएन । पछि छोरीले भनेपछि पो त्यहाँ निकै खतरा रहेछ भन्ने थाहा पाएँ ।’

मंसिर दोस्रो सातादेखि रुसी सेनामा भर्ती भएका नेपालीको मृत्युका समाचारहरू आउन थालेपछि भने भीमकुमारीको मनमा चिसो पस्यो । ‘त्यसपछि छोरी रातभरि नसुती युक्रेनमा भइरहेको युद्धको भिडियोहरू हेर्न थालिछ । डरले रुँदिरहिछ । बिहान छोरीका आँखा हेर्दा त सधैं सुन्निएको हुन्थ्यो,’ उनले भनिन्, ‘यस्तो होला भनेर थाहा भएको भए किन पठाउँथ्यौं र ? हामी बरु भोकै बस्थ्यौं ।’

माघको पहिलो सातातिर भीमकुमारीले लालबहादुरसँगै रहेका एक नेपाली कमान्डरले दिएको खबरबाट श्रीमान् युद्धमा खटिएको थाहा पाइन् । ती कमान्डरले लालबहादुर र नेत्रबहादुरसहित ४८ जनाको टोली माघ ४ गते युक्रेनको युद्धग्रस्त डनवास क्षेत्रमा गएका थिए । भीमकुमारीले पाएको खबर यति मात्रै थिएन । ‘हामीलाई लडाइँ लड्न डिसेम्बर १४ मा नै युक्रेनको दोनेत्स्क सहरमा ल्याएर राखिएको थियो । यो ठाउँबाट चार किलोमिटरको दूरीमा युक्रेनी सेनाको ब्यारेक थियो । लङ रेन्जको फायर यहीँबाट हुन्थ्यो,’ उनले भीमकुमारी र आफन्तलाई भने, ‘नजिकबाट लड्न हामीलाई जनवरीको १७ मा मुभ गराएको थियो । ६ किलोमिटरको पानीको पाइपबाट युक्रेनी सेनाको ब्यारेक आक्रमण गर्न गयौं । वार एरियामा सिधै जान सक्ने अवस्था थिएन । उनीहरू (युक्रेनी) डिफेन्समा थिए । जमिनमुनि पाइप बिछ्याइएको थियो । यो बेलारुसबाट ल्याइएको थियो । हामी त्यही पाइपभित्र छिरेर गयौं । पानी छातीसम्म आउँथ्यो । रातभर पाइपभित्र नै बस्यौं । ब्यारेकको मुखमा पुगेपछि बिहान ६ बजे पाइप फुटाएर रुसी सेना एकपछि अर्को निस्कन थाल्यौं । बाहिर निस्केर फाइरिङ सुरु भयो । लगत्तै लालबहादुरको मृत्यु भयो ।’

कमान्डरले लालबहादुरसहित ५ जना मारिएको र चार जना बेपत्ता भएको खबर भीमकुमारीका आफन्तलाई सुनाए । कान्तिपुरको सम्पर्कमा आएका ती नेपाली कमान्डरले युद्ध क्षेत्रको कुनै पनि घटनाको जानकारी रुसी सरकारले नदिने भएकाले साथीभाइको कुरालाई नै पत्याउनुपर्ने बाध्यता रहेको बताए । ‘आधिकारिक सूचना रुसी सरकारबाट तुरुन्तै आउँदैन । रुसी सरकारले मृत्यु प्रमाणपत्र जारी नगरेसम्म नेपाल सरकारले बोल्दैन,’ उनले भने, ‘भोलि मेरो मृत्यु भयो भने पनि साथीहरूले नै बताउने हो ।’

ती नेपाली कमान्डरका अनुसार लालबहादुरसहित पाँच जनाको मृतकका परिवारलाई नै सम्पर्क गरी दाहसंस्कार गर्न जानकारी दिइसकिएको छ । नेत्रबहादुर, काठमाडौंका शुक्रबहादुर तामाङ, जाजरकोटका नवीन शाही, दैलखका प्रेमबहादुर थापा, बैतडीका मनोजसिंह भाट, सिन्धुलीका कमल थापा, खोटाङका विनोद राई र प्रकाश गुरुङ सम्पर्कमा छैनन् । ती कमान्डरका अनुसार नेपाली टोलीमा रहेका ४८ जनामध्ये १४ जना विभिन्न अस्पतालमा उपचाररत छन् । घाइते हुनेमा नरबहादुर पुन, धुव्र घर्तीमगर, दिनेश घले, शेषआङ लावती लिम्बू, कुलबहादुर कुँवर, उपेन्द्र्र खड्का, नानीराम सुनुवार, मीनध्वज शेर्पा, सुरेश विष्ट, सानु सुनुवार, भूपेन्द्र लामा, हेमन्त गुरुङ, राजु घर्ती र दिनेश राई छन् ।

भीमकुमारीले भने आफन्तले सुनाएको युद्ध क्षेत्रको खबर पत्याउन सकिनन् । त्यसपछि आफैंले कमान्डरसँग कुरा गरिन् । कमान्डरले युद्ध क्षेत्र र लालबहादुरको पछिल्लो अवस्थाबारे बताए । कमान्डरले उही कुरा दोहोर्‍याए, ‘लालबहादुरसहित ५ जनाको मृत्यु भयो र ९ जना सम्पर्कमा छैनन् । जे पनि भएको हुन सक्छ ।’ सुरुमा त भीमकुमारीले कमान्डरको कुरा पत्याइनन् । तर, त्यो खबर सही हो होइन भनेर बताइदिने कोही थिएनन् ।

उनी ज्वाइँ गम्भीरसिंह लामालाई लिएर थप खबर बुझ्न काठमाडौं आइन् । गत मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा भेटिएकी उनले कान्तिपुरसँग भनिन्, ‘पत्याउने आधार केही छैन । खालि साथीले दिएको खबर मात्रै छ ।’

लालबहादुरबारे कन्सुलर विभागसँग पनि कुनै सूचना छैन । ‘जबसम्म नेपाली दूतावास र रुसी सरकारबाट आधिकारिक जवाफ आउँदैन, हामीले पनि आधिकारिक जवाफ दिन सक्ने अवस्था हुँदैन,’ कन्सुलर विभागका कर्मचारीले जवाफ दिए । भीमकुमारी प्रतिक्रियाविहीन बनिन् । विभागमा बेपत्तासम्बन्धी पहिला नै निवेदन दिइसकेकाले अर्को निवेदन नदिई उनीहरू फर्के ।

प्रकाशित : फाल्गुन १९, २०८० ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?