काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचारविरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् ।
राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा रहेको भन्दै उनले व्यवस्थाविरुद्ध उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए । 'व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठूलो भिन्नता आउन सकेको छैन । विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले जनतामा निराशा छाएको छ,' उनले भने । सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नैपर्ने बताउँदै उनले युवाहरू विदेशिने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताए । उनले रेमिट्यान्स आयो भनेर खुसी हुने अवस्था नरहेको समेत बताए ।
युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकोले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको उनले बताए । शान्ति प्रक्रियालाई निष्कर्ष पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टीआरसी विधेयक पास गरिने बताए ।
प्रकाशित : फाल्गुन १९, २०८० ११:००