१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

गणतन्त्र आएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको छ : उपमहासचिव पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन् ।

गणतन्त्र आएपछि पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको छ : उपमहासचिव पुन

प्रथम सहिद स्मृति वाग्मती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा सहिद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रताका साथ विकास भएको दाबी गरे । उपमहासचिव पुनले पञ्चायतकालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी गरे । गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको उनको भनाइ थियो ।

‘३० वर्षको पञ्चायत र १५ वर्षको राजतन्त्रात्मक संसदीय व्यवस्था हेर्‍यौं । त्यस यताको १५ देखि १६ वर्ष हेर्ने हो भने तुलनात्मक रुपमा आँकडामा हेर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तीव्र विकास भएको छ । गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तीव्रतामा विकास भएको छ,' उनले भने,'पञ्चायतकालमा साढे ७ हजार बाटो बनेको थियो, पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुग्यो । अहिले १ लाख किलोमिटर बाटो पुगेको छ । अरु पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तीव्र विकास भएको छ । तर नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास भएको छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रुपले देशको विकास गर्ने संकल्प गरेको भन्दै युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको उनले बताए । उनले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग आहृवानसमेत गरे ।

'आज प्रधानमन्त्रीज्यूले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ । काम गर्ने कोसिस गर्नुभएको छ । तपाईं युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई, काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ । सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेछ,’ उनको आह्वान थियो ।

उपमहासचिव पुनले युवाहरुले देशको भविष्य, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए ।

प्रकाशित : फाल्गुन १९, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?