कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्‍मा कांग्रेस सांसद बडूको प्रश्न : कृषिमन्त्री कहाँ हुनुहुन्छ ?

काठमाडौँ — संसद्‍मा सत्तारुढ दल कांग्रेसकै सांसदले मन्त्रीको खोजी गरेका छन् । शुक्रबार कांग्रेस सांसद एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले कृषिमन्त्री वेदुराम भुसालको खोजी गरेका हुन् ।

संसद्‍मा कांग्रेस सांसद बडूको प्रश्न : कृषिमन्त्री कहाँ हुनुहुन्छ ?

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले किसानले मूल्य नपाएर दूध सडकमा फालिरहँदा पनि केही गर्न नसकेको भन्दै त्यसबारे संसद्‍मा तत्काल जवाफ दिन कृषिमन्त्री भुसालसँग माग गरे । उनले मिटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए ।

कानुन निर्माण गरिसक्दा पनि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न नसकेकोमा सांसद बडूको आपत्ति थियो । उनले दुध किसान र मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि भरहेको कार्यबारे तत्काल संसद्लाई जानकारी गराउन पनि सरकारलाई सचेत गराए ।

‘केही दिनयता छापाहरूमा निरन्तर रूपमा दुग्ध किसानहरुले आफ्नो दुध सडकमा फालिरहेका छन् । यस्तो हृदयविदारक देखेर यो सरकारको मन किन छुँदैन ? सरकारको कृषिमन्त्री कहाँ हुनुहुन्छ ? के गर्दैछ सरकार, यस समस्याको निराकरणको निमित्त ? सदनलाई जानकारी हुनुपर्‍यो,’ उनले भने ।

सांसद बडूले मिटरब्याजसम्बन्धी कानुनमा कुनै त्रुटि भए तत्काल सच्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित : फाल्गुन १८, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?