कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेटको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : एमाले

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा नयाँ केही पनि नआएको दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको २०८१/०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरु नभएको आरोप लगाए । 

बजेटको सिद्धान्त र प्राथमिकतामा नयाँ केही आएन : एमाले

उनले सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता गत वर्षको 'कपी पेस्ट' जस्तो मात्र रहेको बताए । बजेटको सिद्धान्त र प्राथमिकतामा नयाँ भिजनका केही पनि कार्यक्रम नभएको उनको आरोप छ । 'देशको समृद्धिसँग सम्बन्धित व्यवस्थित योजना छैनन्, अर्थतन्त्रका आजका समस्या र समग्र देशका समस्या समाधान गर्ने ल्याकत बजेटको सिद्धान्त र प्राथमिकतामा समेटिएको अवस्था छैन,' उनले भने ।

सांसद दाहालले अहिले प्रस्तुत भएको सिद्धान्तका आधारमा बजेट बन्छ कि बन्दैन भनेर समेत आशंका गरे । ‘के सरकारले प्रस्तुत गरेका सिद्धान्त र प्राथमिकताको बारेमा सांसदहरुले सघन छलफल गर्न पाउने हो कि होइन ? यो प्रश्न कायम नै छ,' उनले भने, 'त्यसमाथि अब सांसदहरुले राखेका विषयले स्थान पाउने हो कि होइन ? ती प्रश्न झन् जटिल छन् । सरकारले गठबन्धनका मन्त्री, पहुँचवाला सांसद भन्दा माथि उठेर प्राथमिकता र सिद्धान्तअनुसार बजेट ल्याउनुपर्छ ।'

उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्नसक्ने बजेट ल्याउनुपर्ने बताए । 'बजेटले लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधान गर्न सक्नुपर्छ । अहिले सरकारको सिद्धान्त र प्राथिमिकतामा यी विषयहरु छुटेका छन्,' उनले भने । उनले सरकारले लघुवित्त र सहकारी पीडितहरुको समस्या तथा मिटरब्याजी पीडितका समस्याहरु समाधानका लागि कुनै पहल नगरेको आरोप लगाए ।

प्रकाशित : फाल्गुन १७, २०८० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?