कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोट भूकम्पको चार महिनापछि प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

गंगा बीसी

काठमाडौँ — सरकारले जाजरकोट भूकम्पबाट बढी प्रभावित पालिकालाई विपद् संकटग्रस्त घोषणा गरी पुनर्निर्माण अघि बढाउने निर्णय गरेको छ । भूकम्प गएको चार महिनापछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

जाजरकोट भूकम्पको चार महिनापछि प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

बैठकले भूकम्प प्रभावित ती पालिकामा पुननिर्माणका लागि कार्यविधि पारित गरेको छ भने तत्कालै पुनिर्माणको काम अघि बढाउने निर्णय निर्णय समेत गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले भूकम्पले बढी प्रभावित जाजरकोट, रुकुमपश्चिम र सल्यानका पालिकालाई विपद् संकटग्रस्त घोषणा गरी पुनर्निर्माण थाल्ने निर्णय गरको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘पुनर्निर्माणका लागि कार्यविधि पारित भएको छ । अब कार्यविधिबमोजिम पुनर्निर्माणको काम अघि बढ्छ,' उनले भनिन् ।

सरकारले पुनर्निर्माणका लागि आन्तरिक स्रोत, बाहृय सहयोग, अनुदान र ऋण प्रयोग गर्ने भएको छ । कार्यवधि अनुसार भूकम्प प्रतिरोधी घरको ढाँचा तयार गरी पुनर्निर्माणको काम अघि बढाइनेछ । भूकम्प गएको चार महिना बितिसक्दा पनि पुनर्निर्माणको काम अघि नबढेको भन्दै संसदमा सरकारको आलोचना भएको थियो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउने निर्णय गरेको बताए । ‘कार्यविधि स्वीकृत भइसकेको छ । अब आन्तरिक र बाहृय स्रोत परिचालन गरी पुनर्निर्माण अघि बढ्छ,' उनले भने ।

जाजरकोटका भेरी, नलगाड, बारेकोट नगरपालिका र छेडागाडमा भूकम्पबाट बढी मानवीय र भौतिक संरचनामा क्षति पुगेको थियो । भूकम्पबाट रुकुम पश्चिममा आठबीसकोट, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिकामा बढी मानवीय र भौतिक क्षति भएको थियो ।

सरकारले कार्यविधि नबनाउँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन । कात्तिक १७ राति गएको भूकम्पले जाजरकोठमा पूर्ण र आंशिक गरी ३४ हजार ५ सय एक, रुकुम पश्चिममा पूर्ण र आंशिक गरी १६ हजार ९ सय ९ र सल्यानमा पूर्ण र आंशिक गरी ६ हजार ५ सय ७४ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसका साथै दैलेख, कालीकोट र जुम्लासहित जम्मा ६१ हजार ७ सय ८९ घरमा क्षति पुगेको थियो ।

उक्त भूकम्पमा परी १५४ को मृत्य भएको थियो भने त्यसपछि चिसोका कारण मृत्यु हुनेको हालसम्म संख्या ३८ पुगेको छ । अधिकांशले ज्वरो, निमोनिया, दम, क्षयरोग, रक्तचापका कारण ज्यान गुमाएका छन्  । कात्तिक १७ को भूकम्पपछि त्रिपाल र टहरामा ओत लागेर बसिरहेका पीडितले गतिलो बास, उचित खानपिन तथा स्याहार पाउन सकेका छैनन् । चिसाकै कारण त्रिपालमा बस्दै आएका बिरामी छन् ।

मृत्यु हुनेमा जाजरकोटका ३२ र रुकुम पश्चिमका ६ जना छन् । सबैभन्दा धेरै जाजरकोटको कुशे गाउँपालिकामा ९ जनाको ज्यान गएको छ । त्यस्तै जुनेचाादेमा ५, नलगाडमा ४, भेरीमा ३, बारेकोटमा ४ र छेडागाडमा ७ जनाको मृत्यु भएको हो । रुकुम पश्चिमको आठबिसकोटमा ३, बााफिकोटमा १ र सानीभेरीमा २ जनाको त्रिपालमा बसिरहेकै अवस्थामा ज्यान गएको छ ।

जाजरकोटमा ४२ हजार ५ सय २४ जना लाभग्राही कायम भएका छन् । त्यसमध्ये २० हजार अस्थायी आवास मात्र निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ३२ हजार ९ सय ८ लाभग्राहीले सम्झौता गरेकामा ३१ हजार ९ सय ६१ परिवारले मात्र २५ हजार रकम पाएका छन् । १ अर्ब ३ करोड रुपैयाा आएकामा पालिकाहरूले ७९ करोड ९० लाख रुपैयाँ मात्र पीडितलाई भुक्तानी दिएका छन् ।

जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ परिवार छन् । स्थानीय विपद् कोषबाट भने ३० हजार दुई सय ३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । अव जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्याङ्क छ ।

प्रकाशित : फाल्गुन १४, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?