१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

एमालेद्वारा संसद्का महासचिवको दोहोरो नागरिकता र राहदानीको प्रतिरक्षा

अदालतबाट 'सबै राफसाफ' भएको एमाले सचेतक बर्तौलाले सदनमै गरे दाबी

काठमाडौँ — संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकताका आधारमा राहदानीसमेत लिएको प्रकरणको प्रमुख प्रतिपक्ष एमाले प्रतिरक्षामा उभिएको छ ।

एमालेद्वारा संसद्का महासचिवको दोहोरो नागरिकता र राहदानीको प्रतिरक्षा

सत्तापक्षका सांसदहरूले महासचिव पाण्डेयले दोहोरो नागरिकता लिएको र उमेर घटाएको नागरिकताका साथै अर्को नागरिकताका आधारमा पनि दोहोरै राहदानी लिएको विषयमा प्रश्न उठाएको प्रसंगको एमाले सचेतक महेश बर्तौलाले आलोचना गरेका हुन् ।

शुक्रबार एमाले र राप्रपाको अवरोधले स्थगित भएपछि बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचेतक बर्तौलाले महासचिव पाण्डेयको 'चरित्रहत्या गर्ने विषयवस्तु' सत्तापक्षका सांसदले राखेको भन्दै आपत्तिसमेत जनाए । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासचिवमा पाण्डेयलाई नियुक्त गरेको र कार्यसम्पादन भइरहेको अवस्थामा प्रश्न उठाउन नहुने उनको भनाइ थियो ।

'महासचिवको विषयमा प्रश्नहरू उठे । सम्मानित राष्ट्रपतिज्यूले नियुक्ति गर्नुभयो । नेपालको संविधान र प्रचलित कानुन बमोजिमका विषयहरूका आधारबाट सिफारिस हुनुपर्ने ठाउँबाट सिफारिस भयो, नियुक्ति हुने ठाउँबाट नियुक्ति भयो, शपथ भयो, कार्यसम्पादन भइरहेको छ,' महासचिव पाण्डेयको बचाउ गर्दै सचेतक बर्तौलाले भने, 'एउटा व्यक्तिप्रति लक्षित भएर, सभाको महासचिवमाथि लक्षित भएर, व्यक्तिगत लाञ्छना त्यसप्रकारले लगाउने गरी विषयवस्तु आउने, चरित्र हत्या गर्ने विषयवस्तु आउने, सांसदको तहबाट त्यो मिल्यो कि मिलेन ?'

महासचिव पाण्डेयको नागरिकता र राहदानीबारे संसद्मा प्रश्न उठाउनुभन्दा प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेर छनबिन तथा कारबाही गर्न पनि बर्तौलाले चुनौती दिए ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले उठान गरेको उक्त विषयको जवाफ दिँदै बर्तौलाले भने, 'सरकारका प्रधानमन्त्री त यहाँकै दलको हुनुहुन्छ, गृहमन्त्री त यहाँकै दलको हुनुहुन्छ, किन यति धेरै कष्ट गरिरहनुपर्छ यहाँ आएर ? कारबाहीको प्रक्रिया, छानबिनको प्रक्रिया, अनुसन्धानको प्रक्रिया त सरकारले गर्ने होला ?'

बर्तौलाले महासचिवको नागरिकता र राहदानीको विषय अदालतबाट 'राफसाफ भएको' पनि तर्क गरेका छन् । उनले सांसदहरूलाई अदालतबाट टुंगिइसकेको विषय उठाउँदा ख्याल गर्न पनि भनेका छन् । 'अदालती प्रक्रियाबाट समेत सबै राफसाफ भएको विषय हो, माननीय सदस्यहरूले ख्याल गर्नुस् । विषय उठाउँदाखेरि सम्बन्धित विषयसँग जोडिएका कानुनी प्रश्नहरू, अदालती विषय के हुन् ? भन्ने कुरा थाहा पाएर उठाउनुभयो भने कम्तीमा पनि त्यसले शोभा दिन्छ,' बर्तौलाले पाण्डेयको दोहोरो नागरिकता र राहदानीको बचाउमा तर्क गरे ।

के हो महासचिव पाण्डेयको नागरिकता र राहदानी प्रकरण :

पाण्डेयले २०६६ सालमा आफ्नो उमेर ६ वर्ष घटाएर नागरिकता लिएको सार्वजनिक भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विषयमा छानबिन गरिरहेको छ । पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएका थिए भने सोही नागरिकता दुरुपयोग गरेर दुईथरी राहदानी बनाएका थिए ।

पाल्पा जिल्ला प्रशासन कार्यालयका अनुसार पाण्डेयले २०४६ असार २८ मा पहिलो पटक नागरिकता (नम्बर ३५) लिएका थिए र त्यसमा उनको जन्ममिति २०२६ असोज १५ कायम छ ।

नागरिकता हराएको भन्दै पाण्डेयले २०६६ भदौ ८ मा दोस्रो नागरिकता लिएका थिए, यसपटक भने उमेर ६ वर्ष घटाएर २०३२ पुस २६ कायम गरेका थिए । २०६७ मा महान्यायाधिवक्ता कार्यालयमा सहन्यायाधिवक्तामा सेवा प्रवेश गर्दा पहिलो नागरिकता देखाएका उनले त्यसको एक वर्षअघि लिएको दोस्रो नागरिकता भने १० वर्षसम्म आफूसँगै राखेका थिए ।

उनले २०७६ भदौ २३ मा भने भूलवश विवरण फरक परेको भन्दै दोस्रो नागरिकता रद्द गराएका थिए । सुरुमा लिएको नागरिकताको प्रतिलिपिका रूपमा उनले ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता पाएका थिए । त्यसबीचको १० वर्ष उनले दुवै नागरिकता प्रयोग गरेर भिन्नाभिन्नै राहदानी लिएका थिए ।

२०६६ मा उमेर घटाएर नागरिकता लिएको तीन वर्षपछि उनले सोही नागरिकताका आधारमा राहदानी बनाएका थिए । २०६९ साउन २ (१७ जुलाई २०१२) मा उनले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ०६०१८३७० नम्बरको ‘साधारण राहदानी’ लिएको अभिलेख परराष्ट्र मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिलाई दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट ‘साधारण’ राहदानी लिएको पाँच महिना पूरा नहुँदै उनले २०६९ मंसिर २० (५ डिसेम्बर २०१२) मा राहदानी विभाग काठमाडौंबाट ००५९४४९ नम्बरको ‘विशेष’ राहदानी लिएको पनि भेटिएको छ । तर, यो राहदानीमा भने उनले पुरानै नागरिकताको विवरण बुझाएका छन् । यसरी उनको साधारण राहदानीमा जन्ममिति २०३२ पुस २६ र विशेष राहदानीमा जन्ममिति २०२६ असोज १५ छ ।

६ वर्ष उमेर घटाएको, पुरानो नागरिकता भेटिएपछि पनि दोस्रो नागरिकता १० वर्षसम्म आफूसँग राखेको मात्र होइन, दुवै नागरिकताबाट दुईथरी राहदानी बनाएको विषयमा संसद्को राज्य व्यवस्था समितिले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट कागजात झिकाएको छ । समितिले छानबिनका लागि कागजात झिकाइरहँदा पाण्डेय सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को महासचिव नियुक्त भएका थिए ।

पाण्डेयलाई महासचिव बनाउन तत्कालीन महासचिव भरतराज गौतमलाई कार्यकाल बाँकी छँदै राजीनामा गर्न लगाइएको थियो । सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त सिफारिसमा संसद्को महासचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिँदैछ । त्यसैले गौतमलाई राजीनामा गराएर आफू निकटका पाण्डेयलाई घिमिरे र तिमिल्सिनाले महासचिवमा सिफारिस गरेका थिए । उक्त सिफारिस कानुनी रित नपुगी भएको भन्दै राष्ट्रपतिले २ महिना रोकेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?