१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

टिआरसी विधेयक सदनमा पेश हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेकाे बताए । 

टिआरसी विधेयक सदनमा पेश हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री दाहाल

उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने दाबी गरे । उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यकोतर्फबाट पाउन नसकेको बताए ।

‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ती महान् शहीद र बेपत्ता योद्धाहरुलाई राज्यकोतर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ । तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी नै छन् । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै शहीद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट पाउन सकिरहेका छैनन्,' उनले भने ।

प्रधानमन्त्री दाहालले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए ।

‘अहिले राज्यले राष्ट्रिय शहीदको सम्मान दिइसकेपछि र अब जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा राज्यकोतर्फबाट घोषणा मैले गरेको थिएँ,' उनले भने, 'सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस र बिदा भनेर लेखिएको छ । तर अदालतले शान्ति प्रक्रिया पूरै नटुंगिएको भएर यो दिवसमा विदा नगर्न भनेको छ ।'

प्रकाशित : फाल्गुन ११, २०८० १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?